२०८१ चैत २ गते
झापा — विश्वभरका नेपाली प्रतिभाहरु प्रतिस्पर्धा हुने दुई रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को पूर्व क्षेत्रमा शनिबारदेखि अडिसन सुरु भएको छ ।
पूर्वका दुई स्रष्टा वरिष्ठ गीतकार शिवशंकर थापा र वरिष्ठ गायक कुवेर राईसहित आयोजक संस्था इन्ट्रा नेसनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाका अध्यक्ष डिल्ली अधिकारीले पानसमा बत्ती बालेर अडिसन सुरु गरे । उक्त अवसरमा अध्यक्ष अधिकारीले नेपाली संगीत क्षेत्रमा स्थापित स्रष्टाद्वयलाई पुष्पगुच्छा एवं नगदसहित सम्मान गरेका थिए ।
अध्यक्ष अधिकारीले कलाकार समाजका अगुवा हुने हुनाले समाजलाई उदाहरण बनेर डोहोर्याउन आग्रह गरे । उनले नेपालीपन र नेपाली पहिचानलाई विश्वभर रहेका नेपालीजनमा जीवन्त राख्न, अर्को पुस्तामा पनि नेपाली संस्कृतिलाई पुस्तान्तरण गर्न र विश्वभरका नेपालीलाई नेपाली कला संस्कृतिका माध्यमबाट नेपालसँग जोड्नका लागि यी दुई रियालिटी शो आयोजना गरिएको बताए ।
मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स पूर्वी क्षेत्र अडिसनका संयोजक रुपक ओडारीका अनुसार, सो क्षेत्रमा दुवै शोका लागि ११ सय ४३ प्रतिभाहरुले प्रतिस्पर्धाका लागि नाम दर्ता गराएका छन् । पहिलो दिन शनिबार विर्तामोडको ग्रीन फिल्ड स्कुलमा बिहान ११ बजेदेखि सुरु भएको अडिसनमा ६ सयको हाराहारीमा प्रतिभाहरुले प्रतिस्पर्धा गरेका छन् । बाँकी प्रतिस्पर्धी आइतबार सहभागी हुनेछन् ।
आयोजक संस्थाका राजेश घतानीका अनुसार, इच्छुक प्रतिभाहरुले सिधै अडिसनस्थलमा गएर पनि नाम दर्ता गराउन सक्ने व्यवस्था भएकाले सहभागीहरुको संख्या बढेको हो । गायनमा प्रतिस्पर्धीहरुको संख्या धेरै भएकाले प्रिअडिसनमा छनौट भइसकेपछि अडिसनमा सहभागी गराइएको र त्यसबाट पनि छनौट भएकाहरुलाई फाइनल अडिसनमा लगी अन्तिम छनौट गरिएको छ । नृत्यका लागि भने प्रि अडिसन र फाइनल अडिसन गरी दुई चरणमा प्रतिस्पर्धीहरुको छनौट प्रक्रिया निर्धारण गरिएको उनले बताए ।
यी दुई रियालिटी शोको लन्डन, पोर्चुगल,अस्ट्रिलिया, जापान, थाइल्याण्ड, हङकङ, दुवई, कतार, मुम्बई र सिलिगुडीका अडिसनहरु सम्पन्न भइसकेका छन् । नेपालमा पनि पोखरा र नेपालगन्जका अडिसन समापन भएका छन् भने विर्तामोडपछि चैत्र १६ र १७ गते काठमाडौंमा अडिसन हुने आयोजकले जनाएको छ ।
प्रथम हुनेले सर्वाधिक पुरस्कार राशि एक करोड, उपविजेताले २५ लाख र तेस्रो हुनेले १० लाख रकम पाउने यी दुवै शोहरुमा संसारभरबाट एक सय २० जना गायनमा र त्यत्ति नै संख्यामा नृत्यमा प्रतिभाहरु छनौट गरेर काठमाडौं लगिने आयोजकले जनाएको छ ।