२०८१ फागुन २० गते
काठमाडौं । ‘द भ्वाइस अफ नेपाल’ सिजन ६ मा ब्याटल राउण्ड रोचक बनिरहेको छ । अहिलेसम्म यस राउण्डका ४ एपिसोड प्रसारण भए । पछिल्लो सप्ताहान्त कूल १६ जनाले प्रतिस्पर्धा गरे ।
जसमध्ये स्टिलसहित ९ जना नकआउट राउण्डका लागि छनोट भए । ब्याटल राउण्डमा कोचलाई प्रतिस्पर्धी छनोट गर्न मुस्किल परेको देखिन्छ । कडा प्रतिस्पर्धाबाट बाहिरिएकालाई केही कोचले गीत निकाल्न सघाउने वचन दिएका छन् ।
एपिसोड १३ को सुरुवात कोच उदय सोताङको टिमबाट भयो जहाँ उनले मिन्सो केरुङ लिम्बु र प्रभा राईलाई ब्याटलमा ल्याए । दुवैजनाले रामकृष्ण ढकालको ‘छिट्को गुन्युँ तिमीले लगाउँदा’ बोलको गीतमा प्रस्तुति दिए । उदयले मिन्शोलाई छनोट गरे ।
कोच राजु लामाको टिमबाट कमलजित सिंह र योजना राईबीच प्रतिस्पर्धा भयो । नारायणगोपाल र आशा भोसलेको गीत ‘माया त माया हो’ गाएर उनले सबैको मन जिते । कमल नकआउटको लागि छनोट भए । बाहिरिएकी योजनाको लागि कोच राजुले गीत बनाउने र सँगै गाउने वचन दिएका छन् ।
कोच खेम सेन्चुरीको टिमबाट प्रोसेस पाण्डे र प्राची बिडारीले खेम कै गीत ‘मन परेको मान्छेले’ गाएर रमाइलो प्रस्तुति दिए । प्रोसेस छनोट भए भने प्राची बाहिरिन । कोच खेमले प्राचीको लागि एक गीत तयार पारिदिने भएका छन् ।
कोच मेलिना राईको टिममा पनि ब्याटल राउण्डको रोमाञ्चक भीडन्त देखियो । मिलन बुढामगर र सुनिल आरडी विश्वकर्माले रामकृष्ण ढकालको ‘तिम्रो आगमन’मा प्रस्तुति दिए । मेलिनाले सुनिललाई छनोट गरिन ।
१४औँ एपिसोडमा पनि प्रतिस्पर्धा रोमाञ्चक देखियो । कोच राजुको टिमबाट प्रमेश राई र सम्झना लिम्बुको दमदार प्रस्तुतिबाट एपिसोडको सुरुवात भयो । अनमोल गुरुङ र अस्मिता अधिकारीले गाएको गीत ‘बाबरी रंगमा’मा उत्कृष्ट प्रस्तुति दिए । यसमा प्रमेश छनोट भए, सम्झना बाहिरिइन् ।
कोच खेमको टिमको ब्याटल प्रतिस्पर्धात्मक रह्यो । मन नेपाली र प्रजोल कार्कीले नरेन्द्र प्यासीको ‘तिमीले दिने माया’ गीत गाए । प्रजोल छनोट भए भने मन बाहिरिए ।
कोच मेलिनाको टिमबाट गगन आले र सन्चिता नेपालीले प्रकाश दूतराज र मेलिना राईको ‘रेशम’ गीतमा प्रस्तुति दिए । मेलिनाले संचितालाई छनोट गरिन । गगन दृष्टिविहिन भएपनि गीत रचना गर्छन् । ‘भ्वाइस’बाट बाहिरिएका गगनलाई कोच राजुले आफ्नो लागि एउटा गीत तयार गरिदिन आग्रह गरे ।
कोच उदयको टिमबाट अर्पणा आचार्य र सिद्धान्त सहनीले उदितनारायण झा र दीपा झाको ‘उकालीमा पछि पछि…’ गीतमा उत्कृष्ट प्रस्तुति दिए । उदयले अर्पणालाई छनोट गरेपछि सिद्धान्तलाई कोच राजुले स्टिल गरे ।
‘द भ्वाइस अफ नेपाल’ हिमालय टिभीमा प्रत्येक शुक्रवार र शनिवार राती ८ बजे प्रसारण हुँदै आएको छ । यससँगै भ्वाइस अफ नेपालको युट्युब च्यानलमा पनि हेर्न सकिन्छ ।