नेपाल विश्वविद्यालयको कुलपतिमा लोहनी

Dipa Bhatt

२०८१ पुष ६ गते

काठमाडौँ — विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति र शिक्षामन्त्री सहकुलपति हुने अभ्यास रहँदै आएकामा नेपाल विश्वविद्यालयमा भने प्राज्ञिक क्षेत्रबाटै कुलपति चयन गरिएको छ । संरक्षण परिषद्को काठमाडौंमा सम्पन्न पहिलो बैठकले विन्दुनाथ लोहनीलाई कुलपति चयन गरेको हो । 

नेपाल विश्वविद्यालय ऐन २०८१ मा सर्वोच्च शासकीय निकायका रूपमा संरक्षण परिषद् (बोर्ड अफ ट्रस्टी) रहने व्यवस्था छ ।

प्रधानमन्त्री र शिक्षामन्त्रीबाहेकबाट कुलपति हुने व्यवस्थासहित गत असोजमा ऐन बनेको थियो, जसमा संरक्षण परिषद्का मनोनीत सदस्यमध्येबाट कुलपति चयन हुने व्यवस्था छ । त्यही व्यवस्थाअनुसार लोहनीलाई चार वर्षका लागि कुलपति चयन गरिएको विश्वविद्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

ऐनमा प्राज्ञिक व्यक्तिकै नेतृत्वमा संरक्षक परिषद् रहने व्यवस्था छ । अहिले सञ्चालनमा रहेका त्रिभुवनसहितका विश्वविद्यालयमा सर्वोच्च निकायका रूपमा सभा रहने र त्यसको अध्यक्षता कुलपतिका रूपमा प्रधानमन्त्रीले गर्ने प्रावधान छ ।

नेपाल विश्वविद्यालयको कुनै पनि निकायमा प्रधानमन्त्री र मन्त्री रहँदैनन् । अन्य विश्वविद्यालयलाई पनि यही मोडलमा सञ्चालन गर्नुपर्ने शिक्षाविद्ले बताउँदै आएका छन् । उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन २०७५ ले पनि सरकारलाई सोही सुझाव दिएको थियो ।

शैक्षिक विकास तथा उन्नयनको क्षेत्रमा उत्कृष्ट योगदान गरेका शिक्षाविद्, नेपाल विश्वविद्यालय स्थापना वा सञ्चालनमा योगदान गरेका प्राज्ञिक व्यक्ति, उद्योगपति, रोजगारदाता र किसान एक/एक जना, दाता र सार्वजनिक प्रशासन, व्यवस्थापन, प्राज्ञिक अनुसन्धानको क्षेत्रमा योगदान गरेका व्यक्ति नेपाल विश्वविद्यालयको परिषद् सदस्य मनोनीत हुने व्यवस्था छ ।

उपकुलपति, शिक्षा मन्त्रालयका सचिव, विश्वविद्यालय अनुदान आयोगका सचिव, प्रदेशस्थित शिक्षा हेर्ने मन्त्रालयका सचिव, विश्वविद्यालय रहेका स्थानीय तहको प्रमुख र रजिस्ट्रार संरक्षक परिषद्को सदस्य रहनेछन् ।

नवनियुक्त कुलपति लोहनी एसियाली विकास बैंक (एडीबी) का पूर्वउपाध्यक्ष हुन् । उनले सन् १९७० मा भारतको बिरला इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इन्जिनियरिङमा स्नातक अध्ययन पूरा गरेका थिए ।

उनले सन् १९७४ मा अमेरिकाको नर्थ क्यारोलिना विश्वविद्यालयबाट सिभिल इन्जिनियरिङमा स्नातकोत्तर र सन् १९७७ मा एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी), बैंककबाट वातावरणीय प्रविधि र व्यवस्थापन विषयमा विद्यावारिधि गरेका छन् ।

नेपाल सरकारको निजामती सेवाबाट पेसागत जीवन सुरु गरेका लोहनी एआईटीमा प्राध्यापकसमेत भए भने एसियाली विकास बैंकमा विभिन्न महत्त्वपूर्ण पदमा ३० वर्ष काम गरे ।

नेपाल विश्वविद्यालय स्थापना र सञ्चालनको तयारीमा छ । यो विश्वविद्यालय नवलपरासी क्षेत्रमा सञ्चालन गर्ने तयारी छ ।

Sharing Is Caring:

Leave a Comment