२०८१ फागुन २७ गते
काठमाडौं । कर्णालीमा फिल्म विकासका लागि चलचित्र विकास बोर्डले विशेष योजना बनाउने भएको छ । दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवअन्तर्गत दोस्रो दिनको सत्रमा बोर्ड अध्यक्ष दिनेश डीसीले गुराँस क्षेत्र चलचित्र पर्यटनको लागि विशेष गन्तव्य बन्न सक्ने बताए ।
अभिनेता प्रदीप खड्काले फिल्म पर्यटनमा चलचित्र बलियो आधार बन्न सक्ने बताए । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले प्रदेश सरकारले कृषि तथा पर्यटन क्षेत्रलाई प्राथमिकतामा राख्दै विशेष नीति निर्माणको तयारी गरिरहेको जानकारी गराए ।
महोत्सव निर्देशक चक्रबहादुर चन्दले गुराँसलाई चलचित्र पर्यटन गन्तव्यको रूपमा प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए ।
दोस्रो दिनको कार्यक्रम गुराँस चलचित्र पर्यटन महोत्सव र कृषिमा लगानीको सम्भावनाको चर्चा गर्दै स्थानीय गुराँस गाउँपालिकामा आयोजना गरिएको थियो । चलचित्र विकास बोर्ड, गुराँस गाउँपालिका र रेड चेरीको संयुक्त आयोजनामा महोत्सवको पहिलो दिनको कार्यक्रम वीरेन्द्रनगरमा भएको थियो ।
गुराँसमा आयोजित विशेष छलफल कार्यक्रममा बोर्ड अध्यक्ष डीसी, अभिनेता खड्का, पटकथाकार विकास सुवेदीले फिल्म पर्यटनबारे छलफल गरे । सो अवसरमा गुराँस गाउँपालिकाका अध्यक्ष टोप बहादुर बिसी, उपाध्यक्ष शिवा खड्का, विभिन्न वडाका अध्यक्ष लगायत स्थानीय पदाधिकारीको उपस्थिति थियो ।