२०८१ फागुन २७ गते
काठमाडौं । महिला फुटबल खेलाडी एन्जिला तुम्बापो सुब्बाबारेको कथानक फिल्म ‘अञ्जिला’लाई काठमाडौंमा प्रिमियर गरिएको छ । सोमबार बेलुका क्यूएफएक्सको लबिम हलमा आयोजित समारोहमा फिल्म र खेल क्षेत्रका व्यक्तिहरू सहभागि रहे ।
भव्य सजावट र रेडकार्पेटले सजिएको समारोहमा फिल्म निर्देशक मिलन चाम्स, कलाकार दयाहाङ राई, निर्माता प्रेमकुमार श्रेष्ठ लगायत सहभागि रहे । कलाकार समेत रहेकी एन्जिला भने युरोपेली क्लबमा ब्यस्त भएकाले उपस्थित हुन सकिनन् ।
प्रिमियरमा प्रशंसा प्राप्त गरेको फिल्मले दुर्गम जन्मथलोबाट काठमाडौंसम्म महिला फुटबलमा सफल खेलाडी बन्ने लक्ष्यमा सुब्बाले गरेको संघर्षको कथा पेश गर्छ । ‘ब्लाइन्ड रक्स’ र ‘बबी’पछि निर्देशक चाम्सले निर्देशन गरेको यो तेस्रो बायोपिक फिल्म हो ।
प्रिमियर समारोहमा सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, एन्फाका पूर्वअध्यक्ष गणेश थापा, कलाकार केकी अधिकार, अलिशा राई लगायत फिल्म, सशष्त्र प्रहरी र खेल क्षेत्रका व्यक्ति उपस्थित थिए ।
फिल्म हेरेपछि आइजीपी अर्यालले आफूले एन्जिला र उनको क्याप्टेनसिप मात्र देखिरहेको तर यो फिल्मले एन्जिला हुनुको वास्तविकता देखाएको बताए । उनले भने, ‘एन्जिला हुनुमा उनले कति संघर्ष गरेकी रहेछिन्, कति पसिना र आँसु बगेको रहेछ भन्ने यो फिल्मले देखायो । यो फिल्म नयाँ पिँढीको लागि प्रेरणा हुन्छ ।’
एन्फाका पूर्वअध्यक्ष थापाले फिल्म हेर्दा आफू रोएको बताए । ‘हाम्रो पालामा नै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनामा खेल्ने खेलाडीलाई रोजगारीको ग्यारेन्टीको सुरुवात भएको हो । त्यसैको प्रतिफल आज महिला फुटबल खेलाडीको प्रगति भइरहेको छ’ उनले भने ।
निर्देशक चाम्सले प्रिमियरबाट प्राप्त प्रतिक्रियाले आफू अवाक् भएको प्रतिक्रिया दिँदै अब दर्शकको पालो रहेको बताए । यसअघि नेपालको धरानसहित हङकङ, दक्षिण कोरिया र बेलायतमा प्रिमियर गरिएको छ । छायांकन सुदीप बरालले गरेका हुन् । यसैबीच, विहिबारदेखि प्रदर्शन हुन लागेको यो फिल्मको एड्भान्स टिकट बिक्री सुरु भएको छ ।