स्थानीय पाठ्यक्रमको अवधारणा

Swastika Bhandari

कश्यपप्रसाद पौडेल
१५ कार्तिक २०८१, बिहीबार

नेपाल सरकारले तोकेको पाठ्यक्रम अहिले स्कुलमा पढाइ भइरहेको छ। यो पाठ्यक्रमले युवाहरुलाई रोजगारीमा जोडेन। अधिकार सिकायो तर कर्तव्य सिकाएन। कुरा गर्न सिकायो, काम गर्न सिकाएन। खर्च गर्न सिकायो, श्रम गर्न सिकाएन। त्यसैले यहाँ स्थानीय पाठ्यक्रमको नयाँ अवधारणा प्रस्तुत गरेको छु।

स्थानीय पाठ्यक्रम र त्यसमा समावेश हुने पाठ्यवस्तुका बारेमा मैले यो धारणा बनाएको छु । यसले हाम्रो नयाँ पुस्ता सीपयुक्त भई सजिलै रोजगार र स्वरोजगार हुन सक्छ । साथै शिक्षामा लगानी गर्दा समाज रुपान्तरित हुनुपर्छ । त्यसैले स्थानीय पाठ्यक्रम विद्यार्थीको भविष्य बनाउने हुनुपर्दछ । प्राइमरीका विद्यार्थीलाई जबरजस्ती थप पुस्तक पढाएर कलिलो दिमागलाई अनावश्यक बोझ दिनु पाप हो। त्यसमाथि स्थानीय पाठ्क्रम थप्नु सजाय दिनुजस्तै हो।

त्यसैले यो कक्षा ९, १०, ११ र १२ का लागि स्थानीय पाठ्यक्रमको अवधारणा पत्र प्रस्तुत गरेको छु। यो अवधारणाबमोजिमको पाठ्यक्रम, पाठ्यवस्तु र माइक्रो सिलेबस भने विषय विज्ञहरुले तयार गर्नेछन् अनि यो जिवनोपयोगी शिक्षा हुनेछ।


स्थानीय पाठ्यक्रमको प्रस्तावित ढाँचा :
(१) कक्षा ९ देखि १२ सम्म कृषि, पशुपालन, होटल व्यवस्थापन, स्वास्थ्य र इन्जिनियरिङ विषय राख्नु उपयुक्त हुन्छ।
(२) कक्षा ९ र १० को पाठ्यक्रममा ५०/५० पूर्णांकको सैद्धान्तिक र यस.ई.ई.पछि २५ पूर्णांकको प्रयोगात्मक विषय राख्नु उचित हुन्छ ।
(३) कक्षा ११ र १२ मा १००/१०० पूर्णांकको सैद्धान्तिक र १२ पछि ५० पूर्णांकको प्रयोगात्मक विषय राख्नु उपयुक्त हुन्छ।
(४) यस. ई.ई.को परीक्षा सकेपछि एक महिना र एस.एल.सी.को परीक्षा सकेपछि ३ महिना प्रयोगात्मक अभ्यास (ओ.जे.टी. अन् द जब ट्रेनिङ) गराउने । यसपछि विद्यार्थी काम गर्न सक्ने हुनेछ। विद्यार्थीले विषय रोज्न पाउने गरी प्रत्येक स्कुलले प्रस्तावित विषयमध्ये २ वटाको पठनपाठन गराउनुपर्दछ।
कक्षा ९ र १० को पाठ्यक्रम :
(क) कृषि विषय : यस विषयमा विद्यार्थीलाई अन्न बाली भनेको के हो ? तेलहन बाली भनेको के हो ? तरकारी बाली भनेको के हो? कोसे बाली भनेको के हो ? नगदे बाली भनेको के हो ? फलपूmल बाली के हो ? दलहन बाली के हो ? परिचय गराउने । समुद्री सतहदेखि कति मिटर उचाइमा के–के यस्ता बाली लगाउन सकिन्छ ? ती बालीको उत्पादन कस्तो हुन्छ ? लाग्न सक्ने रोगहरु के–के हुन् ? त्यसको उपचार कसरी गर्ने ? उत्पादनको बिक्री बजार कहाँ–कहाँ छ ? छोटो जानकारी दिने ।

(ख) पशुपालन विषय : यस विषयमा पशु, पक्षी र माछामा भिन्नता के छ ? मासुजन्य पशु, पक्षी कुन हो ? अण्डाजन्य पक्षी कुन हो ? दूधजन्य पशु कुन हो ? समुद्री सतहबाट कति मिटरको उचाइमा कुन–कुन पशु–पक्षी पाल्न सकिन्छ ? तिनीहरुका दाना के–के हुन् ? खाना कसरी र कुन–कुन समयमा खुवाउने ? पशुपक्षीको आवासका लागि गोठ कस्तो हुनुपर्छ ? पशुपक्षीलाई लाग्न सक्ने रोगहरु के–के हुन् ? रोगको रोकथाम र उपचार कसरी गरिन्छ ? उत्पादनको बिक्री गर्ने बजार कहाँ–कहाँ छ ? यसको छोटो जानकारी गराउने ।

(ग) इन्जिनियरिङ विषय : यस विषयमा विद्यार्थीलाई कम्प्युटर र सिभिल विषयको परिचय दिनुपर्दछ । तब कम्प्युटर भनेको के हो ? यसको प्रयोग कसरी गर्ने ? यसको फाइदा के हो ? यो कसरी चलाइन्छ ? कम्प्युटर भनेको के हो ? कम्प्युटरको आवश्यकता किन छ ? यसलाई कसरी चलाइन्छ ? भन्ने कुराहरु सिकाउने । सिभिलतर्फका विद्यार्थीलाई ढुंगा र माटोको घनमिटर भनेको के हो ? यो कसरी निकालिन्छ ? ई–स्क्वायर फिट भनेको के हो ? यो कसरी निकालिन्छ ? क्युबिक फिट भनेको के हो ? काठको क्युबिक फिट कसरी निकालिन्छ ? क्षेत्रफल भनेको के हो ? जग्गाको क्षेत्रफल कसरी निकालिन्छ ? वर्गफिट वा वर्गमिटर भनेको के हो ? वस्तुको वर्गफिट वा वर्गमिटर कसरी निकालिन्छ ? यो निकाल्ने सामग्री के–के हुन् ? भन्ने जानकारी दिने। त्यस्तै विद्युत्को थ्रिफेज, टुफेज, सिंगल फेज र अर्थिङ भनेको के हो ? यसको प्रयोग कस्तो स्थानमा गरिन्छ ? विद्युतीय दुर्घटनाबाट बच्ने उपाय के हो ? घरमा प्रयोग हुने चिम, पावर सकेट, थ्रिपिन, टुपिन, स्वीच आदिको बारेमा जानकारी गराउने ।

(घ) होटल व्यवस्थापन विषय : यस विषयमा विद्यार्थीलाई होटल व्यवस्थापन भनेको के हो ? होटलमा कुन–कुन विभाग हुन्छन् ? डाइनिङ हल, हाउसकिपिङ, किचन, रिसेप्सन, बार र कफीसप भनेको के हो ? यस्ता विभागहरुमा काम गर्ने मान्छेको पद के–के हुन्छ ? के–के काम गर्नुपर्छ ? होटलले प्रदान गर्ने ब्रेकफास्ट, लन्च र डिनर भनेको के हो ? यी खानामा के–कस्ता खानेकुरा राखिन्छ ? होटल कर्मचारीको ड्रेस कस्तो हुन्छ ? कर्मचारीले ग्राहकसँग कस्तो व्यवहार गर्नुपर्छ ? यसको बारेमा छोटो जानकारी गराउने ।

(ङ) स्वास्थ्य विषय : यो विषयका विद्यार्थीलाई प्राइमरी स्वास्थ्य उपचार भनेको के हो ? यो उपचार गर्दा के–के गरिन्छ ? सरुवा रोग, झाडापखाला, नसर्ने दीर्घरोग र सरकारले उपचार खर्च दिने रोगहरुको बारेमा जानकारी गराउने । साथै भवितव्यले हुने दुर्घटना, भुइँचालो, चट्याङ, बाढीपहिरो, आगलागी र महामारीमा अपनाउनुपर्ने होसियारी के हो ? सामान्य चोटपटक लाग्दा, ज्वरो आउँदा, रुघाखोकी लाग्दा, पखाला लाग्दा, बान्ता हुँदा प्रारम्भिक उपचारका लागि फस्ट एड बक्स कसरी बनाउने ? मानिसमा लाग्ने सामान्य रोगका लक्षण के–के हुन् ? त्यसको साधारण उपचारपछि चिकित्सककहाँ कसरी पठाउने ? अस्पतालको फोन नं. लिन १९७ मा फोन गर्ने, प्रहरी सहायताका लागी १०० मा फोन गर्ने र बिरामीको उपचार अस्पतालमा गराउनुपर्छ भन्ने कुराको जानकारी गराउने । महामारीबाट आफू कसरी बच्ने र अरुलाई कसरी बचाउने ? एम्बुलेन्स, नजिकको स्वास्थ्य चौकी, अस्पताल र चिकित्सकको फोन नं. घरमा कसरी राख्ने ? भन्ने कुरासमेत जानकारी गराउने ।

(च) ओ.जे.टी. (अन् द जब ट्रेनिङ) : कक्षामा दिइएको ज्ञानले हातमा सीप दिँदैन । त्यसैले यस.ई.ई. परीक्षा पछि एक महिना अन् द जब ट्रेनिङ गराउनुपर्छ । तब उसले दिमागको ज्ञानलाई हातको सीपमा परिणत गराउँछ । त्यसैले पालिकाको विषयगत शिक्षकको मातहतमा रहेर काम गर्ने गरी सबै विद्यार्थीलाई प्रयोगात्मक अभ्यास गराउनुपर्दछ ।

स्थानीय पाठ्यक्रम विद्यार्थीको भविष्य बनाउने हुनुपर्दछ। प्राइमरीका विद्यार्थीलाई जबरजस्ती थप पुस्तक पढाएर कलिलो दिमागलाई अनावश्यक बोझ दिनु पाप हो। त्यसमाथि स्थानीय पाठ्क्रम थप्नु सजाय दिनुजस्तै हो। त्यसैले यो कक्षा ९, १०, ११ र १२ का लागि स्थानीय पाठ्यक्रमको अवधारणा पत्र प्रस्तुत गरेको छु। यो अवधारणाबमोजिमको पाठ्यक्रम, पाठ्यवस्तु र माइक्रो सिलेबस भने विषय विज्ञहरुले तयार गर्नेछन् अनि यो जिवनोपयोगी शिक्षा हुनेछ।


कक्षा ११ र १२ को पाठ्यक्रम :
यो पाठ्यक्रमले १२ कक्षा पास भएका विद्यार्थीलाई सिकेको सीप र पढेको ज्ञानका आधारमा गरिखान सक्ने बनाउनुपर्छ । त्यसैले कक्षा ११ र १२ को सैद्धान्तिक पाठ्यक्रम १००/१०० पूर्णांकको र १२ पछि ५० पूर्णांकको प्रयोगात्मक अभ्यास गराउने हुँदा सबै विद्यार्थी र विषयमा अनिवार्य गर्नुपर्छ ।

(क) कृषि र पशुपालन समूह : कक्षा ११ र १२ मा कृषिको एक र पशुपालनको एक गरी दुई समूह हुनेछन् । दुवै समूहका विद्यार्थीको छनोट कक्षा ९ र १० मा पढेको विषयका आधारमा हुनेछ । ९ र १० को पाठ्यक्रममा पाठ्यवस्तु थप गरी कक्षा ११ र १२ मा पठनपाठन गराउनुपर्छ । यो तहका कृषि विषयका विद्यार्थीलाई देशको कृषि प्रणाली कस्तो छ ? कृषि उत्पादनको सही भण्डारण विधि के हो ? फलफूल खेती कसरी र कुन ठाउँमा गर्ने ? फसलको ग्रेडिङ र प्याकेजिङ कसरी गर्ने ? उत्पादनको लागत मूल्य कसरी निकाल्ने ? उत्पादित फसल बिक्रीका लागि स्थानीय तहमै हाटबजार सञ्चालन कसरी गर्ने ? भन्ने जानकारी गराउनुपर्दछ । कृषिमा बढी उत्पादन दिने बीउ के–के हुन् ? त्यसमा लाग्न सक्ने रोगहरु के–के हुन्छन् ? त्यो रोगको उपचार के हो ? प्राङ्गारिक मल र प्राङ्गारिक उत्पादन भनेको के हो ? रासायनिक मल भनेको के हो ? बालीमा रोग लाग्दा प्रयोग हुने कीटनाशक औषधि र घरेलु उपचार के–के हुन् ? सोको जानकारी गराउने ।

त्यसै गरी पशुपालन पढ्ने विद्यार्थीलाई पशुको उन्नत जात के हो ? दूध र मासु धेरै उत्पादन दिने पशुका जात के–के हुन् ? यी जातका पशु कहाँ पाइन्छन् ? धेरै अण्डा र मासु दिने पक्षीको जात के–के हो ? यो कहाँ पाइन्छ ? यस्ता पशु र पक्षी पाल्दा लाग्न सक्ने रोगहरु के–के हुन् ? ती रोगको उपचार कसरी हुन्छ ? पशुपक्षीजन्य उत्पादनको भण्डारण कसरी गर्ने ? बजारसम्म कसरी पु¥याउने ? आदि विषयको जानकारी गराउनुपर्दछ । स्थानीय तहमा दुग्धजन्य उद्योग र मासुजन्य उद्योग के–के स्थापना हुन सक्छन् ? आफ्नो उत्पादन बिक्रीका लागि स्थानीय तहमा हाटबजारको स्थापना गर्ने तरिका के हो ? चाडपर्व र मेलाहरुमा आफ्नो उत्पादन बिक्री कसरी गर्न सकिन्छ ? स्थानीय बजारमा दैनिक सामान खपत गराउन प्रचारप्रसार कसरी गर्ने ? आदि विषयको जानकारी गराउने ।

(ख) इन्जिनियरिङ समूह : यो समूहमा सिभिल र कम्प्युटर गरी दुई विषय हुनेछ । दुवै विषयमा कक्षा ९ र १० मा पढाइ गरिएकै विषयमा पाठ्यवस्तु थप गरी अध्यापन गराउनुपर्दछ । जसले गर्दा विद्यार्थीलाई उच्च शिक्षा अध्ययन गर्न तथा रोजगार हुन सजिलो हुनेछ । सिभिल विषयका विद्यार्थीलाई विकासे योजनाको स्टिमेट कसरी गरिन्छ ? निर्माण व्यवसाय दर्ता कहाँ र कसरी हुन्छ ? सामान्यरुपमा सडक, खानेपानी, सिंचाइका संरचना कसरी निर्माण हुन्छन् । बत्तीको वाइरिङ, फर्निचर निर्माण, फलाम जोड्ने वाइरिङ, इन्ची टेप, क्याल्कुलेटर, जेसिबी, लोडर, रोलर के हो ? इन्जिनियरले गर्नुपर्ने काम के हो ? इलेक्ट्रोनिक्स डिभाइसको सही प्रयोग कसरी गर्ने भन्ने बारेमा जानकारी गराउनुपर्दछ । त्यस्तै कम्प्युटर विषयका विद्यार्थीलाई कम्प्युटरको बेसिक कोर्स पढाउनुपर्छ । हार्डवयर र सफ्टवयर भनेको के हो ? टाइप कसरी गर्ने, सफ्टवयर कसरी चलाउने, ट्याली कसरी चलाउने, नेटको सही प्रयोग कसरी गर्ने र इन्टरनेट के हो ? यसको प्रयोग कसरी गर्ने भन्नेबारे छोटकरीमा सिकाउने ।

(ग) स्वास्थ्य समूह : यस समूहमा पढ्ने विद्यार्थीलाई कक्षा ९ र १० मा पढाएको पाठ्यक्रममै पाठ्यवस्तु थपेर पठनपाठन गराउनुपर्दछ । थपिएको पाठ्यवस्तुमा सरुवा रोग के हो ? दीर्घरोग के हो ? नसर्ने रोग के–के हुन् ? प्राणघातक रोग के–के हुन् ? प्रकोप के हो ? यसबाट कसरी जोगिने ? आदि सिकाउनुपर्छ । साथै डाक्टरको परामर्श लिएर मात्र औषधि सेवन गर्ने, दुर्घटना भएको ठाउँमा तत्काल उद्धारमा लाग्ने भन्ने जानकारी पनि गराउने । सुगर, प्रेसर, ज्वरो र रक्तचाप नाप्ने एवं गज, टेप, ब्यान्डेज र कम्तीमा १० प्रकारका औषधिका बारेमा जानकारी दिने ।

(घ) पर्यटन समूह : यो समूहका विद्यार्थीलाई कक्षा ९ र १० मा पढाएको विषयमा पाठ्यवस्तु थपेर पढाउनुपर्दछ । थपिएका विषयमा पर्यटन क्षेत्र भनेको के हो ? नेपालमा यसको भविष्य के छ ? पर्यटन विश्वबजार कस्तो छ ? होटल, लज र होमस्टे भनेको के हो ? ट्रेकिङ, हाइकिङ, साइक्लिङ, साहसिक खेल र कस्टमर सर्भिस भनेको के हो ? कुकिङ, हाउसकिपिङ, बार, डाइनिङ, कफीसप र लबी भनेको के हो ? परिचय दिने । किचन पोटर, वेटर, किचन हेल्पर, हाउसकिपर, रिसेप्सनिस्ट, गार्ड, कुक र मेनेजरले होटलमा के–के काम गर्नुपर्छ ? सोको जानकारी दिने ।

(ङ) ओ.जे.टी. (अन् द जब ट्रेनिङ) : कक्षा १२ को यस.एल.सी. परीक्षा दिएपछि सबै विद्यार्थीलाई आफ्नै पालिकामा ३ महिनाको ओ.जे.टी. गराउनुपर्दछ । पालिकाको विषयगत शिक्षकको मातहतमा राखेर काम सिकाउने गरी विषयगत प्राविधिकलाई जिम्मा दिनुपर्दछ । सम्बन्धित शिक्षक मातहत कृषि, पशुपालन, स्वास्थ्य र इन्जिनियरिङका विद्यार्थीलाई बसेर काम सिक्ने व्यवस्था मिलाउनुपर्छ । तर होटल व्यवस्थापनका विद्यार्थीलाई भने होटल व्यवसायीको मातहत बसी काम गर्न होटलहरुमा नै पठाउनुपर्दछ । यसरी तीन महिनाको ओ.जे.टी. सकेपछि पालिकाले परीक्षा लिई विद्यार्थीलाई प्रमाणपत्र प्रदान गर्नुपर्दछ।
यो कार्यक्रम सफल बनाउन पालिकामा काम गर्ने प्राविधिक कर्मचारीलाई कक्षाकोठाको सैद्धान्तिक ज्ञान र फिल्डमा हुने प्रयोगात्मक अभ्यास गराउने जिम्मा दिनुपर्दछ। यो काम गरेबापत उनीहरुलाई प्रोत्साहन भत्ताको व्यवस्था पालिकाले गर्नुपर्दछ।

साथै पालिकाले यो पाठ्यक्रम लागू गर्नुभन्दा पहिला सम्बन्धित स्कुलका प्र.अ.हरुलाई पाठ्यक्रमका बारेमा एक हप्ताको अभिमुखीकरण तालिम गराउनुपर्दछ । स्तरीय पठनपाठन गराउन पालिकाको शिक्षा शाखाले कक्षाको अनुगमन र मूल्यांकन गर्नुपर्छ । तीनै तहको सरकार, विधायकहरुले यो अवधारणा पत्र हेरेर सबै स्कुलमा लागू गर्न अनुरोध छ ।

Sharing Is Caring:

Leave a Comment