फाल्गुन १४, २०८१

विष्णु पौडेल
पोखरा महानगरपालिकाले गत फागुन ३ गते ‘पोखरा भ्रमण वर्ष २०२५’ को घोषणासभामा आमन्त्रण गरेपछि म त्यहाँ निर्धारित समयमा पुगेको थिएँ । आयोजकहरूले कार्यक्रमलाई नवीन तरिकाले उद्घाटन गर्न भन्दै ‘स्विच अन’ गरेपछि पानसमा दीप प्रज्वलन हुने प्रबन्ध गर्नुभएको रहेछ ।‘स्विच अन’ सँगै बत्ती बल्यो । ‘फायर क्यान्डल’ हरूबाट झिरझिरे निस्किन थाले । अनि मचाहिँ उद्घाटनको काम सकियो भनेर मञ्चतिरै फर्कंदै थिएँ । तर, त्यहाँ एक झुप्पा बेलुन मैले र अर्को झुप्पा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उडाउने प्रबन्ध पनि रहेछ ।त्यसैले मञ्चबाट फेरि तल झरेर हामीले बेलुनको डोरी समात्यौं । उडाउन खोज्दा एउटा झुप्पा नजिकै ‘स्पार्क’ गरिरहेको झिरझिरेमा ठोक्कियो । एकसाथ बेलुनका दुइटै झुप्पाहरू
पड्किए । ठूलो आवाज, त्यसबाट निस्केको धूवाँ र ज्वाला कुनै बम पड्केको भन्दा कम थिएन । आगोको लप्कामा परेपछि मेयरसाब मञ्चबाट तल झर्नुभएछ । मचाहिँ मञ्चतिर दौडिएँ । मेरो टोपी, कोट, अनुहार, टाउकोका अनुहारका रौहरू जल्दै थिए । पीएसओले टोपी खोल्दिनुभो । आगो निभाउनुभयो । अब हस्पिटल जाने कि, कार्यक्रमलाई निरन्तरता दिने भन्ने द्विविधा भयो । तर हस्पिटल गइहाल्नुपर्छ भन्ने लाग्यो र मलाई साथीहरूले गण्डकी मेडिकल कलेजमा पुर्याउनुभयो ।डाक्टरहरूले घटनाको जानकारी लिएर प्राथमिक उपचार गर्नुभयो । आगो निभाउन खोज्दा मेरा हात जलेछन् । त्यसैले क्रमशः पोल्दै गइरहेको थियो । जलनको घटनामा सुरुमा भन्दा पछि क्रमशः दुःखाइ र पीडा बढ्ने रहेछ । डाक्टरहरूले जाँच्ने क्रममा जब मेरो नाक र त्यहाँका रौं पनि डढेको देख्नुभयो । उहाँहरूलाई शंका लागेछ– ‘हाइड्रोजन ग्यास पड्केर निस्केको ज्वाला कतै नाकबाट भित्र पसेर फोक्सोमा त गएन ?’‘फोक्सोमा गएको छ भने त जटिल हुन्छ’ भन्दै उहाँहरूले नै तुरुन्त काठमाडौं जाने सुझाव दिनुभयो । काठमाडौंमा कुन अस्पतालमा जाने भन्नेमा साथीहरू सल्लाहमै हुनुहुन्थ्यो तर मैलेचाहिँ कीर्तिपुरस्थित ‘बर्न हस्पिटल’ नै जाने निधो गरें । किनकि, मलाई त्यो अस्पतालले सीमित स्रोतसाधनका बीच उत्कृष्ट उपचार गरिरहेको छ भन्ने थाहा थियो ।
संयोगले त्यो बेलामा सिम्रिक एअरको एउटा हेलिकप्टर पोखरा विमानस्थलमा रहेछ । त्यही हेलिकप्टर चढेर हामी काठमाडौंको कीर्तिपुरस्थित अस्पतालमा आयौं ।काठमाडौंमा पनि डाक्टरहरूले हेरेपछि फोक्सोमा असर छ कि भन्ने विश्लेषण गर्नु भयो । र कम्तीमा ७२ घण्टे निगरानीमा राख्नुभयो । धन्न कुनै असर रहेनछ, अनि म अस्पतालबाट डिस्चार्ज भएँ । केही दिनको आरामपछि अहिले मन्त्रालयको दैनिक काममा फर्केको छु । तर अझै जलनको पीडा छ । घाउहरू निको भइसकेका छैनन् । चिकित्सकहरूको निगरानी र सुझावअनुसार चलिरहेको छु ।
सौभाग्यवश, यदि दुई/तीनवटा परिस्थितिले साथ नदिएको भए के हुन्थ्यो होला ? अहिले म अनुमान गर्दै छु । हाइट्रोजन अत्यन्त प्रज्वलनशील ग्यास हुँदो रहेछ । त्यस्तो ग्यास बमजसरी पड्केको थियो, ग्याससहितको ज्वाला श्वास फेर्ने बेलामा भित्र पसेको भए के हुन्थ्यो होला ? केही सेकेन्डमै म मञ्चतिर दौडिएकाले मेरो अनुहार र हात जल्यो, संयोगले फोक्सो जोगियो ।
दोस्रो, डाक्टरहरूका अनुसार यदि म चस्मा लगाउँदैन थिएँ भने आँखा बिग्रिन सक्थ्यो । चस्माले मेरो आँखा जोगाइदियो । तेस्रो, यदि म टोपी नलगाउने व्यक्ति थिएँ भने मेरो टाउकोचाहिँ अनुहारभन्दा बढ्ता जल्थ्यो होला । यी तीनवटा संयोगका कारण म भित्री असरहरूबाट जोगिएँजस्तो लाग्छ ।
त्यो घटनापछि आजको दिनसम्म जो जसले सहयोग र आ–आफ्नो भूमिकाअनुसार रेखदेख गर्नुभयो, राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत मलाई अस्पतालमै पुगेर सहानुभूति दिनुभयो र विशेषगरी डाक्टर शंकर राईलगायतको त्यहाँको हस्पिटलको सिंगो टिमले जसरी उपचार गर्यो, उहाँहरूप्रति म आभारी छु । मलाई यो साथसहयोगबाट ठूलो मनोवैज्ञानिक तागत मिलेको छ । भौतिक शरीर जलनको घाउमा मलाई सहानुभूति र शुभेच्छाको अचुक मलम प्राप्त भएको छ ।
…..
वास्तवमा, अहिले मलाई अनुभूति भइरहेको छ, हाम्रो सुरक्षा ‘प्रोटोकल’ मा के–कस्ता समस्या रहेछन् । कुनै कार्यक्रममा जाँदा सुरक्षा ‘प्रोटोकल’ मा हाम्रो जिज्ञासा कम जान्छ । तर सुरक्षाका बारे त नियमित ध्यान दिनुपर्ने रहेछ । कसैले नयाँ ‘इनोभेसन’ गरिरहेको छ भने त्यसलाई सुरक्षाको दृष्टिबाट पनि हेर्नुपर्ने रहेछ । जस्तो, सार्वजनिक कार्यक्रमहरूमा बेलुनमा हाइड्रोजन ग्यास भर्ने भनेको धेरै नै जोखिमपूर्ण कुरा रहेछ । त्यसकारण बेलुनमा हाइड्रोजन ग्यास भर्नेजस्तो अभ्यासलाई अब रोक्नैपर्छ ।
दोस्रो, उद्घाटनलगायत कार्यक्रमहरू आकर्षक बनाउन कृत्रिम होइन, मौलिक विधि अनपाउनुपर्ने रहेछ । त्यसलाई हरेक कार्यक्रममा उपस्थित हुने नागरिकको सुरक्षासँग जोडेर पनि हेर्नुपर्ने रहेछ ।
कीर्तिपुर अस्पताल आएपछि मैले त्यहाँ दुई/तीनवटा कुरा देखें । वास्तवमा यो अस्पतालले ठूलो सेवा गरेको रहेछ । अग्नि दुर्घटनामा पर्नेहरूका लागि यो अस्पतालले सीमित स्रोत, प्रतिकूल परिस्थिति र अप्ठ्यारोबीच उच्चतम सेवा गरेको रहेछ ।
हामीकहाँ अहिलेसम्म धेरै हस्पिटलहरूमा ‘बर्न युनिट’ पनि छैन । आईसीयू पनि छैन । ‘बर्न केस’ हेर्ने विज्ञ डाक्टरहरूको पनि संख्या कम छ । यस्तो खालको समस्याबाट हामीहरू गुज्रिइरहेका रहेछौं । त्यसकारण हामीलाई कम्तीमा सबै प्रादेशिक अस्पताल, सबै मेडिकल कलेज र ठूला अस्पतालहरूमा कम्तीमा पनि ‘बर्न युनिट’ र केही जलनका बिरामीहरूलाई हेर्नका निमित्त एउटा अलग वार्डको व्यवस्था हुनुपर्ने रहेछ । स्थिति हेरेर विशेषज्ञ डाक्टरहरू र औषधिको व्यवस्था गर्नुपर्ने रहेछ । प्रादेशिक अस्पतालहरूमा राम्रो युनिट राख्ने र अतिरिक्त उपचारको आवश्यकतामा अन्यत्र लैजाने गरी देशमा एउटा विशेषज्ञ सेवासहितको सुविधा सम्पन्न ‘बर्न हस्पिटल’ तत्कालै आवश्यक रहेछ ।
यसबीचमा मैले जलनका कस्ता–कस्ता समस्या र घटनाहरू हुन्छन् भन्नेबारे धेरै साथीहरूका अनुभव पनि सुन्ने मौका पाएँ । तीमध्ये एक सामाजिक अभियन्ता उज्ज्वलविक्रम थापाको योगदान र अभियानलाई नजिकबाट बुझेन र सम्झिएन भने जलनको विषय नै अधुरो/अपुरो हुने रहेछ । जलनपीडितको उपचारका लागि उहाँले आफ्नो जीवनका धेरै ऊर्जाशील समय व्यतीत गर्नुभएको रहेछ । उहाँका समेत अनुभव र सुझावले पनि मलाई यो अभियानमा जोडिन र अघि बढ्न उत्प्रेरणा मिलेको छ । मैले केही चरणका बैठकहरूमा उहाँबाट सुझाव लिएको छु, नीति निर्माण गर्दा ध्यान दिनुपर्ने विषयहरू नोट गरेको छु ।
आफैं, एउटा दुर्घटनाको भुक्तभोगी भएपछि अहिले मलाई गहिरो महसुस भएको छ– असहाय, गरिब, विपन्न, दूरदराजका नागरिकहरूले समयमा गुणस्तरीय उपचार पाउने र उनीहरूको जीवन रक्षा हुने कुराको प्रत्याभूति गर्ने अभिभारा हामीसँगै छ । अब यसलाई कसैगरी पूरा गर्नुपर्छ ।
…..
मलाई आगोको लप्काले भेटेको थियो । हात र अनुहार जलेको थियो । खासमा त्यो पर्याप्त सावधानी नअपनाउँदा भएको दुर्घटनाको परिणाम थियो । पदीय हिसाबले म उपप्रधामन्त्री र धनराज आचार्य महानगर प्रमुख हौंला तर दुर्घटनाका त हामी घाइते थियौं । स्वाभाविक रूपमा घाइतेलाई चिकित्सकको सुझावअनुसार उपचारको प्रबन्ध गरिन्छ । आवश्यकता र उपलब्धताअनुसार सकेसम्म राम्रो अस्पतालमा छिटो पुर्याउने कोसिस गरिन्छ । त्यसैले चिकित्सकहरूले काठमाडौं लैजानुपर्छ भन्नुभएपछि साथीहरूले छिटो पुर्याउने प्रबन्धका लागि हेलिकप्टरको व्यवस्था गर्नुभएको रहेछ । मैले आफैं हेलिकप्टरमा जानुपर्छ भनेको थिइनँ । तर, भइसकेको प्रबन्धलाई मैले नकारिनँ । किनकि घाइते हुँदा पहिले मलमपट्टीको जरुरत हुँदो रहेछ, यो वा त्यो भनेर छनोटमा अल्मलिने समय हुँदो रहेनछ ।
सदन र सामाजिक सञ्जालहरूमा म हेलिकप्टरमा आएको विषयमा छलफल चलेछ । तर जेजसरी छलफल र बहस भयो त्यो अत्यन्त राम्रो छ । किनकि, हेलिकप्टर कसले कस्तो–कस्तो अवस्थामा प्रयोग गर्ने/नगर्ने भन्ने विषय उठान भएको छ । सबै पीडित, घाइते, बिरामीले यस्तो सुविधा प्रयोग गर्न पाउनुपर्छ भन्ने कुरा जायज छ । छलफलमा सहभागी हुनुभएका सबैप्रति मेरो हार्दिक सम्मान छ, आधारभाव छ । वास्तवमा, उपचारको सन्दर्भमा पदीय र दर्जा मर्यादालाई होइन, उसको रोग, घटना, दुर्घटनाको असर के हो भन्ने कुरालाई आधार मानेर निर्धारण हुनुपर्छ । छिटोभन्दा छिटो, कसलाई कहाँ कुन हस्पिटलमा पुर्याउनुपर्ने हो, त्यस खालको प्रबन्ध गरिनुपर्छ भन्ने कोणबाट भइरहेको छलफल अत्यन्त राम्रो छ । सबैलाई उपचारमा छिटो पहुँच पुर्याउने काममा हामी के कारणले चुकेका छौं, यसलाई पनि गहिरो मनन गर्ने अवस्थामा म पुगेको छु ।
…..
कतिपयले दुर्घटनामा परेर घाइते हुँदा तीता प्रतिक्रिया पनि दिनुभयो होला । आफैं परेपछि बल्ल थाहा भयो ? पनि भन्नुभयो होला । यस्ता भनाइ प्रतिक्रियाप्रति पनि मेरो सम्मान नै छ । किनकि, आफैं पर्दा र नपर्दाको व्यक्तिगत अनुभूति त फरक–फरक हुन्छ नै । तर विगतमा पनि यस्ता घटनाहरूमा मैले अग्रसरता लिएको इतिहासचाहिँ छ ।
केही अगाडि प्रतिनिधिसभाका माननीय सदस्य चन्द्र भण्डारी ग्यास विस्फोटको दुर्घटनामा पर्नुभयो । आमासहित उहाँको कीर्तिपुरकै ‘बर्न हस्पिटल’ मा सुरुमा उपचार भयो । आमालाई बचाउने प्रयास सफल भएन । चन्द्रजी र आमा मैले पनि नजिकबाट जानेको परिवारका व्यक्ति हुनुहुन्थ्यो । चन्द्र भण्डारीजीको स्वास्थ्यस्थिति पनि कम्ती जोखिमयुक्त थिएन ।
त्यस्तो बेलामा म संयोगले अर्थ मन्त्रालयको जिम्मेवारीमा थिएँ । मैले उहाँलाई हेर्न गएको बेला उपचारका निम्ति जे–जे गर्नुपर्छ, देशभित्र सम्भव हुँदैन भने बाहिर लगेर पनि तत्काल उपचार गरियोस्, त्यसको दायित्व राज्यले बहन गर्छ भन्ने प्रतिबद्धता जनाएको थिएँ । उहाँलाई एयर एम्बुलेन्सबाट भारत लगियो । त्यसबेला उहाँलाई लैजान नसकिएको भए के परिस्थिति हुन्थ्यो ? कल्पना बाहिरको विषय हो । त्यसकारण देख्ने र भोग्नेको अनुभूति उस्तै नभए पनि निकटबोधचाहिँ हुन्छ ।
म आफैं परेकाले मात्र होइन कि, जोसुकैका लागि पनि यस्ता संवेदनशील उपचारहरूमा सुधार र बलियो संरचना बनाउनु आजका मुख्य कार्यसूची हुन् । अहिले म उपप्रधानमन्त्री छु त्यसैले मैले कतिपय कुरा बोल्ने मात्र होइन गरेर देखाउनुपर्नेछ । काम भएपछि चाहिँ यस्तो गरेँ भन्ने हुनुपर्छ भन्ने मान्यता राख्छु । त्यसैले जलनको उपचारमा के गर्ने भन्ने कुरा आउने दिनमा केही नयाँ गर्नुपर्नेछ ।
बर्सेनि करिब ६५ हजार व्यक्ति कुनै न कुनै प्रकारको जलनमा पर्दा रहेछन् । तीमध्ये करिब १५ प्रतिशतको उपचार हस्पिटल वा सघन उपचार कक्षमा नै गर्नुपर्ने हुँदो रहेछ । त्यसैले यो एउटा ठूलो विषय हो । यसमा यो गर्नुपर्छ, त्यो गर्नुपर्छ भनेर चर्को स्वर मात्र होइन, अब कामै गर्नुपर्नेछ ।
जलन उपचार, स्वास्थ्य पूर्वाधार निर्माणमा मात्र होइन, कार्यक्रमहरू आयोजना गर्दा त्यसका ढाँचाहरू पनि बदल्नुपर्छ भन्ने मलाई नजिकबाट बोध भएको छ । भद्दा कार्यक्रमहरूले एकातिर समय खेर गइरहेको छ, अर्कोतर्फ अनावश्यक फजुल खर्च बढाएको छ । त्यति मात्र होइन सुरक्षा खतरा पनि उत्तिकै हुँदो रहेछ । कतिपय मुलुकहरूमा त एउटा मञ्चमा पोडियम हुन्छ, प्रेसिडेन्ट वा कार्यक्रमका मुख्य अतिथि व्यक्ति ढोकाबाट आउँछ, फटाफट आफ्नो कुरा बोलेर जान्छ ।
उद्घोषकले बोलाएको पनि हुँदैन, अतिथि आसन ग्रहण, स्वागत र धन्यवादका औपचारिकता पनि हुँदैनन् । हामी कहाँ त्योभन्दा पृथक् अभ्यास छ । अब समय व्यवस्थापनलाई समेत ख्याल गरेर आवश्यक र अत्यावश्यक व्यक्तिहरूको उपस्थितिमा मात्रै कार्यक्रम गर्ने कि ? कार्यक्रमहरूमा नेपाली मौलिकता र परम्परामा आधारित हुने र सुरक्षाको प्रबन्ध पनि बलियो बनाउनेमा ध्यान दिने कि ?
मानवीय स्वाभाव हो, कतिपय कुरामा आफैं नपर्दासम्म चेत खुल्दैन । सामाजिक स्वाभाव हो, अरूको नदेख्दासम्म पाठ सिकिन्न । आफ्नै लापरबाही र अरूप्रतिको अतिरिक्त आत्मविश्वासले पनि कहिलेकाहीँ दुर्घटना हुन्छ । तर हरेक घटना/दुर्घटनाले केही न केही पाठ सिकाएकै हुन्छ । ती पाठहरूबाट शिक्षा लिएर सुधारतर्फ लाग्नुपर्छ । मेरो आगामी दिनको बाटो पनि त्यही हो ।