फाल्गुन १४, २०८१

ज्योत्स्ना साउद
संसारभरका करोडौं हिन्दु धर्मावलम्बीको ऐतिहासिक धार्मिक उत्सव हो– महाकुम्भ । जुन ४५ दिने उत्सवका रूपमा मनाएर समापनको सँघारमा छ । भारतको प्रयागराजमा २९ पुसमा विधिवत् उद्घाटन गरेर सुरु भएको महाकुम्भ आज १४ फागुनमा विधिवित् समापन गरिँदै छ । भारतमा प्रत्येक १२ वर्षमा विभिन्न पवित्र नदी किनारमा आयोजना गरिने यो मेला धार्मिक आस्था, सांस्कृतिक भव्यता र आर्थिक गतिविधिको महत्त्वपूर्ण केन्द्र पनि बन्दै आएको छ । सन् २०१७ मा युनेस्कोले महाकुम्भ मेलालाई ‘मानवताको अमूर्त सांस्कृतिक सम्पदा’ भनेर अर्थ्याएको थियो । महाकुम्भ मेला धार्मिक र सांस्कृतिक रूपमा सबैभन्दा धेरै मान्छे भेला हुने थलो हो । महाकुम्भ केवल हिन्दुहरूको पर्व मात्र नभई यो मानव सभ्यताको एक अद्वितीय महोत्सव पनि हो ।
यो उत्सवमा लाखौं नेपाली सहभागी भए । नेपाल आफैं पनि धार्मिक पर्यटनको ठूलो सम्भावना बोकेको मुलुक हो । पशुपतिनाथ, मुक्तिनाथ, जनकपुरधाम, पाथीभरालगायतका अनेक तीर्थस्थल हामीकहाँ रहेका छन् ।महाकुम्भजस्तो विशाल धार्मिक महोत्सवमा नेपालले आफ्ना धार्मिक स्थलहरूको प्रचारप्रसार गर्न सक्थ्यो । महाकुम्भमा विशेष स्थान (स्पेस) लिएर औपचारिक रूपमै सहभागिता जनाउन सक्थ्यो । यसबाट नेपालका पवित्र तीर्थस्थलजस्तै : पशुपतिनाथ, जनकपुरधाम, उग्रतारा मन्दिर, मुक्तिनाथ आदिको अन्तर्राष्ट्रियस्तरमा पहिचान बढ्ने थियो ।नेपाल हिन्दु धर्मावलम्बीका लागि पवित्र भूमि मानिन्छ, महाकुम्भजस्ता ठूला धार्मिक मेलामा आफ्ना धार्मिक सम्पदाको प्रचारप्रसार गर्ने मौका थियो नेपालसँग । तर, यसपटक नेपालले महाकुम्भ मेलामा कुनै विशेष सहभागिता जनाएको देखिएन । यदि नेपालले यस अवसरमा त्यहाँ पुगेर विशेष स्टल वा सांस्कृतिक टोलीमार्फत भाग लिएको भए मात्र पनि नेपालका धार्मिक तथा ऐतिहासिक स्थलहरूको विश्वव्यापी प्रचार हुन सक्थ्यो । महाकुम्भमा हाम्रा धार्मिक सम्पदाको अन्तर्राष्ट्रिय प्रचार हुन्थ्यो ।
महाकुम्भमा करोडौं श्रद्धालुको उपस्थिति थियो । यदि नेपालले त्यहाँ आफ्ना धार्मिक स्थलको प्रचार गर्ने स्टल राखेको भए, पर्यटकलाई नेपाल भ्रमण गर्न प्रेरित पनि गर्न सक्थ्यो । महाकुम्भमा आएका ६० करोड तीर्थालुमध्ये १ करोडलाई मात्र पनि हाम्रा तीर्थस्थलको प्रचारप्रसार गर्न सकेको भए हाम्रो धार्मिक पर्यटनका लागि यो महाकुम्भ कोसेढुंगा साबित हुने थियो ।हामीकहाँ धार्मिक पर्यटनको अपार सम्भावना छ । हाम्रा ऐतिहासिक मठ–मन्दिर, स्तूप र अन्य धार्मिक स्थलहरूले विश्वभरिका पर्यटकलाई आकर्षित गर्न सक्छन् । विशेष गरी भारतबाट ठूलो संख्यामा धार्मिक पर्यटक नेपाल आउने गरेका छन् । सन् २०२३ मा नेपाल आएका १० लाख १४ हजार ८ सय ८२ पर्यटकमध्ये १३.१ प्रतिशत अर्थात् १ लाख ३२ हजार ९ सय ४९ जना धार्मिक पर्यटक थिए ।
त्यस्तै, सन् २०२३ को पहिलो ६ महिनामा ४ लाख ७६ हजार ४ सय ८१ पर्यटक नेपाल आएकामा एक महिनामा मात्र २६ हजार ६ सय ६५ भारतीय पर्यटक नेपाल आएका थिए । भारतका लागि पशुपतिनाथ मन्दिर, जनकपुरधाम, मुक्तिनाथजस्ता स्थल विशेष महत्त्व राख्ने भएकाले भारतीय धार्मिक पर्यटक नेपाल आउने क्रम निरन्तर बढ्दो छ ।
यिनै तथ्यांकले पनि नेपालमा धार्मिक पर्यटनको ठूलो सम्भावना रहेको स्पष्ट पार्छन् । भारतीय तीर्थालुका लागि नेपाल प्रमुख धार्मिक गन्तव्य हुने पनि देखिन्छ । तर दुर्भाग्य ! यस पटक महाकुम्भजस्ता अन्तर्राष्ट्रिय धार्मिक मेलामा सक्रिय सहभागिता जनाएर नेपालले आफ्ना धार्मिक स्थलको प्रचार गर्ने सुनौलो मौका गुमायो ।
महाकुम्भमा नेपालको सहभागिताले हाम्रा धार्मिक तथा सांस्कृतिक सम्पदाको प्रचारसँगै नेपाल र भारतबीचको सांस्कृतिक तथा ऐतिहासिक सम्बन्धको सबलीकरण पनि हुने थियो । नेपाल र भारतबीच धार्मिक तथा सांस्कृतिक सम्बन्ध प्राचीनकालदेखि रहेको छ । महाकुम्भमा सहभागिता जनाएको भए यी सम्बन्ध थप प्रगाढ पनि हुन सक्थे ।
धार्मिक पर्यटनलाई प्रवर्द्धन गर्न नेपाल सरकारले महाकुम्भजस्ता ठूला धार्मिक मेलामा सहभागिता जनाउनु अपरिहार्य छ । नेपालको पहिचान केवल प्रकृतिको सौन्दर्य मात्र नभई हाम्रा धार्मिक र सांस्कृतिक धरोहर पनि हुन् । महाकुम्भजस्ता ठूला धार्मिक तथा सांस्कृतिक मेलामा सहभागिता जनाएर नेपालले आफ्नो अन्तर्राष्ट्रिय ‘ब्रान्डिङ’ गर्न सक्थ्यो ।
भविष्यमा नेपालले आफ्ना धार्मिक संस्थाहरू र मठमन्दिर तथा पर्यटन बोर्डलाई सक्रिय बनाएर यस्ता धार्मिक तथा सांस्कृतिक उत्सवमा सहभागिता जनाउन पछि पर्नु हुँदैन । यसका साथै नेपाल–भारतका धार्मिक स्थललाई जोड्ने प्याकेज विकास गर्न पनि पछि पर्नु हुँदैन ।
नेपालले आफ्नो धार्मिक तथा सांस्कृतिक सम्पदालाई प्रचारप्रसार गर्दै धार्मिक पर्यटनलाई आर्थिक समृद्धिको साधन बनाउन सक्छ । यसका लागि महाकुम्भजस्ता ठूला अवसरको उचित सदुपयोग गर्न ढिला भइसकेको छ ।
नेपालका लागि कुम्भ मेलाजस्तै धार्मिक तथा सांस्कृतिक पर्वलाई प्रवर्द्धन गर्ने अवसर पनि प्रशस्तै छन् । नेपाल वैदिक सनातन परम्पराको एउटा केन्द्र हो, जहाँ थुप्रै धार्मिक स्थल रहेका छन् । कुम्भ मेलाको अवधारणाअनुरूप नेपालले ठूला धार्मिक महोत्सव आयोजना गर्न सकेमा भारत तथा अन्य देशबाट धार्मिक पर्यटक आकर्षित गर्न सकिन्छ ।
पशुपतिनाथलगायतका स्थानमा ठूला धार्मिक मेला आयोजना गर्दा नेपाल हिन्दु धर्मावलम्बीहरूको प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्छ । भारतमा कुम्भ मेलामा करोडौं तीर्थयात्री आउने गर्छन्, जसले होटल, यातायात, भोजन, सांस्कृतिक उत्पादन र स्थानीय व्यापारलाई ठूलो फाइदा पुग्छ । नेपालले पनि कुम्भ मेलाजस्तै धार्मिक मेला यहाँ आयोजना गर्न सकेमा पर्यटन व्यवसायमा व्यापक वृद्धि हुन सक्छ ।
कुम्भ मेला केवल धार्मिक आस्था प्रदर्शन गर्ने स्थल मात्र नभई यो त सांस्कृतिक सम्पदाको प्रवर्द्धनको महत्त्वपूर्ण माध्यम पनि हो । नेपालका आफ्नै परम्परागत धार्मिक पर्व छन्, जस्तै हरिहरक्षेत्र मेला, मातातीर्थ औंसी, गंगादशहरा, श्रीपञ्चमी आदि । यी पर्वको प्रभावकारी प्रचारप्रसार गरेमा अन्तर्राष्ट्रियस्तरमा नेपालको सांस्कृतिक पहिचान अझै बलियो हुन सक्छ ।
कुम्भ मेलाको अवधारणा केवल भारतमै सीमित रहने कुरा होइन । नेपाल आफ्नो धार्मिक र सांस्कृतिक सम्पदालाई प्रवर्द्धन गर्दै धार्मिक पर्यटनको प्रमुख गन्तव्य स्थल बन्न सक्छ । यसका लागि दीर्घकालीन योजना, पूर्वाधार विकास र प्रचारप्रसार आवश्यक छ । कुम्भ मेलाजस्तै नेपालमा ठूला धार्मिक मेला सञ्चालन गर्न सकेमा आर्थिक, सामाजिक तथा सांस्कृतिक रूपमा नेपाललाई ठूलो लाभ पुग्ने पनि निश्चित छ ।