माघ १, २०८१

केपी शर्मा ओली
प्रिय छोराछोरी,
नदीको छेउमा बसेर उसको प्रवाहलाई कहिल्यै नियालेका छौ ? बग्दै गरेको पानी, त्यसको लय, किनारामा ठोक्किँदा उसको स्वर अनि समुद्रमा विलीन हुने उसको नियति !
जीवन पनि नदीजस्तै हो, अनि सम्बन्ध भनेको तिनीहरूलाई बगाइरहने अदृश्य स्रोत हो । तिमीहरूले अनुभव गरिरहेका हौला– तिमीहरू र मेरो सम्बन्ध पनि कुनै अदृश्य प्रवाहमा बगिरहेको छ ।
हेर त पृथ्वी घुमिरहेछ, सूर्य उसको गुरुत्वमा बाँधिएको छ, समुद्र उसकै प्रेममा उर्लिरहेको छ र बादल उसकै सम्झनामा आकाशभरि छरिएको छ । यी सम्बन्ध हुन् । देख्न नसकिने, तर हरपल अनुभव गर्न सकिने । तिमीहरूलाई सधैं म देख्न सक्दिनँ, भेट्न पनि सक्दिनँ । तर तिमी छौ भन्ने महसुस मलाई हरदम भइरहन्छ ।
गहिरिएर सोच– तारा किन टाढा जान्छन् ? कहिलेकाहीँ तिनीहरू किन ठक्कर खान्छन् ? ब्रह्माण्डमा रहेका हरेक तत्त्व— तारा, ग्रह, ग्यालेक्सी किन कुनै न कुनै सम्बन्धको सूत्रमा गाँसिएका छन् ? ग्यालेक्सीहरू एकअर्कासँग किन आकर्षित हुन्छन् ? किन कहिलेकाहीँ टाढा सर्छन्, कहिलेकाहीँ नजिकिँदै विलयको प्रक्रियामा रहन्छन् ? किन कतिपय टकराएर महाप्रलय निम्त्याउँछन्, भने कतिपय नयाँ संरचनाको जन्म दिन्छन् ?
सम्बन्धहरूको गति छ, सम्बन्धहरू स्थिर हुँदैनन् । तिमीहरूलाई लाग्न सक्छ, हिमाल अचल छन् । तर होइन, तिनीहरू पनि गतिशील छन् । नदी कहिल्यै थाक्दैनन्, तर अन्ततः समुद्रमा पुगेर हराउँछन् । सागरले आफ्नो अस्तित्वको एक अंशलाई आकाशमा पठाउँछ, अनि बादल बनाएर फर्काउँछ ।
सम्बन्धहरू पनि यस्तै हुन् । कहिलेकाहीँ टाढिन्छन्, फेरि कुनै आकस्मिक वर्षाका रूपमा फर्कन्छन् । कहिलेकाहीँ न्यानो हावाझैं अनुभूत हुन्छन्, कहिलेकाहीँ कठोर हिउँझैं । तैपनि, सम्बन्धहरू कहिल्यै पूर्ण रूपमा मर्दैनन् ।
प्रकृतिको यो सहअस्तित्व, निरन्तरता र परिपक्वतालाई हेर त । कत्रो गहिरो पाठ सिकाउँछ यसले । हिमाल अडिग देखिए पनि तिनीहरू गतिशील छन् । नदी कहिल्यै स्थिर रहँदैनन्, समुद्रले अनवरत रूपमा बादललाई जन्म दिन्छ र हिउँ अन्ततः पग्लेर जीवनलाई ऊर्जा प्रदान गर्ने पानी बन्छ । प्रकृतिको यो चक्रले हामीलाई सम्झाउँछ, जीवन पनि यस्तै प्रवाहमा चल्नुपर्छ ।
मलाई लाग्छ, हाम्रा सम्बन्धहरू पनि बगिरहनुपर्छ, नदीजस्तै समयक्रममा रूपान्तरण हुँदै, कठोर परिस्थितिमा पनि निरन्तर अगाडि बढ्दै । जीवनमा उतारचढाव आउँछन्, कठिन समयको असिना बर्सिन्छ, कहिलेकाहीँ सबै थोक जमेर स्थिरजस्तै लाग्न सक्छ । तर त्यो क्षणिक हो । यदि हिउँ सदैव जमिरहने भए, ध्रुवीय क्षेत्रहरू अनन्त हिउँका थुप्राले भरिएको हुने थियो र समुद्रको पानी कहिल्यै पुनः चक्रमा फर्कने थिएन । तर प्रकृतिले गतिशीलताको नियम बनाएको छ— हिउँ पग्लिन्छ, बग्छ, नदीहरूमा मिसिन्छ, समुद्रसम्म पुग्छ, फेरि वाष्प बनेर आकाशमा उड्छ, बादल बन्छ, अनि वर्षा भएर पृथ्वीमा झर्छ ।
यो केवल भौतिक प्रक्रिया मात्र होइन, अस्तित्वको निरन्तरता हो । सूर्य, समुद्र, जमिन, बादल, हावा, वर्षा र हिउँ सबै परस्पर सम्बन्धमा बाँचेका छन् । हिमतालहरू बन्छन्, फेरि समयसँग भत्किन्छन्, चट्टानहरूबीच पस्ने पानी मूल बनेर निस्कन्छ । हिउँ पग्लिएर बग्दै जान्छ, नदीहरू जन्मिन्छन्, अनि ती नदीहरूकै प्रवाहले पृथ्वीलाई जीवन्त बनाइराख्छ । यो चक्रले हामीलाई एक महत्त्वपूर्ण पाठ दिन्छ— कुनै पनि अवस्था स्थायी हुँदैन ।
यसो गहिरिएर हेर त प्रकृतिले हामीलाई आपसी निर्भरताको पाठ पनि त सिकाउँछ नि । नदीबिना समुद्र अधुरो हुन्छ, समुद्रबिना बादल बन्न सक्दैन र वर्षाबिना पृथ्वी जीवन्त रहन सक्दैन । तिमी र मबीचको सम्बन्ध पनि यस्तै हो ।
मानिसहरू सम्बन्धलाई नाफाघाटाको तराजुमा राखेर जोख्न खोज्छन् । तर प्रकृतिलाई हेर्ने हो, सम्बन्ध कति विराट कुरा हो भन्ने बुझिन्छ । हामी खेतमा धान रोप्छौं, सिँचाइ गर्छौं र यसको स्याहार गर्छौं । यो मानव जातिले आर्जेको बुद्धिमत्ता र मिहिनेतको प्रतीक हो । तर, धान फल्नु या नफलिनु मात्र हाम्रो प्रयासमा निर्भर हुँदैन । बादलले हाम्रो आवश्यकताअनुसार वर्षा गर्दैन, न त खेतले पानीसँग कुनै मित्रता वा शत्रुता राख्छ । यी सबै प्राकृतिक प्रक्रिया परस्पर निर्भर छन्, तर तिनीहरू कुनै निश्चित उद्देश्य लिएर अघि बढ्दैनन् ।
यस्तै, पृथ्वीमा वातावरण निर्माण कुनै योजनाबद्ध प्रक्रियाको परिणाम होइन । एक तातो पिण्डका रूपमा रहेको पृथ्वीमा क्रमशः यस्तो सतह बन्यो, जसले जीवनलाई सम्भव बनायो । यो कुनै मानव जाति वा बोटबिरुवाको सृष्टि गरौं भनेर गरिएको प्रयास थिएन, बरु प्रकृतिको आफ्नै नियमले मौसम बनायो, मौसमले वातावरण निर्माण गर्यो । अन्ततः जीवन उत्पन्न भयो ।
स्कन्ध पुराणमा दुर्गा (प्रकृति) र ब्रह्म (समय) को मिलनबाट जीवको उत्पत्ति भएको भनिएको छ । विज्ञानले पनि यही भन्छ, जीवन वास्तवमा समय र प्रकृतिको सम्बन्धबाटै जन्मिएको हो । यो सम्बन्धहरूको जटिल प्रणाली हो, जहाँ हरेक तत्त्वले एकअर्कासँग अन्तरसम्बन्ध राख्छ । स्वरूप र प्रक्रियाहरू भिन्न हुन सक्छन्, तर सार एउटै हो—सम्बन्ध ।
प्रिय छोराछोरी,
सन्तानप्रतिको अगाध, असाधारण ममता र वात्सल्यका कारण आमा विशेष छन् । कुनै पनि जीवले आफू भोको भएको सहन सक्छ । तर आफ्नो सन्तान भोकले तड्पिएको हेरिरहन सक्दैन । चराले पनि आफ्ना बचेराले ठूल्ठूलो मुख बाएर क्याँक्याँ गरेको सहन सक्दैन । यस्तो बेलामा कसैले अलिकति मात्र चलाउन खोज्दा पनि ऊ हिंस्रक हुन्छ । अरू जनावर पनि त्यस्तै हुन्छन् । बघिनीले साधारणतः मान्छे खाँदैन । तर एउटी बघिनीका लागि बच्चाको भोक शान्त गर्नु र रक्षा गर्नुभन्दा ठूलो कुरा केही हुँदैन । त्यसैले बघिनी आफ्नो बच्चालाई आफैं चल्न सक्ने, जीविका गर्न सक्ने र सुरक्षित हुन सक्ने ठाउँमा नपुर्याईकन विश्राम गर्दिन । यो स्नेहासिक्त सम्बन्ध हो ।
मानिसले पनि बच्चाका लागि धेरै कुरा गर्छ । खासगरी बच्चाको रक्षाका लागि आमाहरू अरू सबै कुरा बिर्सन्छन् । यही कुरा जंगली युगमा पनि थियो । त्यतिबेला आआफ्ना बच्चाको रक्षा एक्लै गर्न सक्ने अवस्था थिएन । त्यसकारण मानिस झुन्डमा बस्न थाल्यो । त्यसबाट जंगली जनावर आदि इत्यादिबाट सुरक्षित गर्न सक्ने भयो । जुनसुकै जनावरले पनि आफ्नो वरिपरि कुनै खतरा आइपर्यो भने सबैभन्दा पहिले बच्चा जोगाउन खोज्छ ।
केही समयअघि मैले सायद नेसनल जियोग्राफी च्यानलमा आफ्नो बच्चा जोगाउन आमाहरू कुन हदसम्म जान सक्छन् भन्ने देखेको थिएँ । आमा खोलापारि तर्छे भनेर एउटा हरिणको पाठो उत्सुकताका साथ खोलामा हाम फाल्यो । आमा डिलमा उभिएर अवस्था नियालिरहेकी थिई । तर पाठोले हाम फालिसकेपछि मात्रै तलबाट एक गोही वेगले अघि बढिरहेको देखी । पाठोलाई गोहीबाट जोगाउन, आमा हरिणले गोहीको ध्यान आफूतिर तान्न गोही भएको दिशातिरै हाम फाली । उसको एकमात्र उद्देश्य थियो, आफ्नो सन्तानलाई बचाउनु । तर गोही पाठोको लक्ष्यमा थियो । उसको गतिसँग पाठोको केही लाग्दैनथ्यो । आधा खोलो पार गर्दा नगर्दै गोहीले पाठोलाई भेट्यो । आमा तुरुन्तै खोलामा झ्वाम्म हामफाली । उसले पाठोलाई माथि छोडेर आफू गोहीको मार्गमा अवरोध बनी । गोही आमातर्फ मोडियो र ऊ जीवनको अन्तिम संघर्षमा होमिई । गोही आमालाई समातेर तान्न थाल्यो । यहीबीच पाठो सुरक्षित रूपमा खोलापारि पुगिसकेको थियो । यो केवल स्नेह होइन, यो निःस्वार्थ ममताको पराकाष्ठा थियो । कुनै स्वार्थबिना, कुनै अपेक्षाबिना, आमाले आफ्ना सन्तानका लागि अन्तिमसम्म बलिदान दिई । कतिपय भन्छन्, माया स्वार्थी हुन्छ, किनकि सन्तान हुर्केपछि आमालाई हेर्छन् । तर जब बच्चा सानो हुन्छ, ऊ आफ्नै आमाको कपाल लुछ्छ, आमाले चोट बिर्सेर हाँस्दै उसलाई दूध खुवाइरहेकी हुन्छे । यही साँचो सम्बन्ध हो— त्याग, प्रेम र ममता ।
आज तिमीहरूलाई एउटा कुरा भन्छु— पाठो हरिणलाई बचाउन आमा हरिणले गोहीको मुखमा हामफाले झैं मैले पनि तिमीहरूको स्वतन्त्रता बचाउन कैयौं पटक गोहीको मुखमा हाम फालेको छु । म देश र जनताका लागि बलिदान स्वीकार गरेर धेरै वर्षअगाडि समर्पित भएर हाम फालिसकेकै मानिस हुँ । फरक यत्ति हो, आमा हरिणलाई गोहीले निली नै दियो, म भने अझै तिमीहरूसँगै छु ।
मानव समाज भनेकै सम्बन्धहरूको एउटा पुञ्ज हो । सिंगो संसार कहिल्यै एउटै लक्ष्यका लागि एकढिक्का भएको छैन । मानव जातिले कल्याणको मार्ग मात्र रोजेको छैन । विज्ञान, प्रविधि र ज्ञानमा मानवले अकल्पनीय फड्को मारे पनि सम्बन्धहरूलाई अनुकूल बनाउन अझै सफल हुन सकेको छैन । सम्बन्धहरू सधैं दुई छेउमा बाँडिएका छन्— अनुकूल र प्रतिकूल, प्रेम र घृणा, मित्रता र शत्रुता । जब समाजमा करुणा, प्रेम, सहकार्य र सहअस्तित्वको भावना प्रमुख हुनुपर्थ्यो, त्यहाँ अक्सर टकराव, स्वार्थ र विग्रहले स्थान लिन्छ । मानव सृष्टिको प्रारम्भिक अवस्था जंगली थियो, जहाँ अस्तित्व रक्षा नै प्राथमिकता थियो । त्यही कारण मैत्री, करुणा र सहअस्तित्वको भावना सहज रूपमा विकसित हुन सकेन ।
सम्बन्धहरू अनौठा हुन्छन् । स्वार्थ, आवश्यकता र भावनाहरूले मानिसका सम्बन्धमा निरन्तर उतारचढाव ल्याउँछन् । कहिलेकाहीँ मानिसबीच गहिरो मित्रता विकसित हुन्छ, तर केही कारणले त्यो सम्बन्ध टुट्छ । धेरैजसो अवस्थामा मित्रता टुटेपछि सम्बन्ध तटस्थ रहनुपर्थ्यो । तर कतिपय अवस्थामा घनिष्ठ साथीहरू नै कट्टर शत्रु बन्छन् । केही मानिस स्वभावैले आक्रामक देखिन्छन् । तर परिस्थितिले उनीहरूलाई शान्त बनाउन सक्छ । त्यस्तै, कोही अत्यन्त शान्त देखिनेहरू परिस्थितिवश हिंस्रक बन्न बाध्य हुन्छन् । मान्छे स्थिर होइन ! ऊ परिस्थितिअनुसार बदलिन्छ । कहिलेकाहीँ आफ्नै सोच, व्यवहार र सम्बन्धहरूको परिभाषा पुनर्निर्माण गर्छ ।
मेरा पनि यस्ता थुप्रै साथी छन्, जोसँग प्रेम, मित्रता, सद्भाव र असाधारण विश्वास थियो । बिस्तारै उनीहरूमा ईर्ष्या र कुण्ठाभाव आउँदै गयो । स्वार्थ झाँगिन थाल्यो । घमण्ड पलाउन थाल्यो । ईर्ष्या, घमण्ड, डाह र स्वार्थले सम्बन्धहरू सेलाउँदै सेलाउँदै, चिसो हुँदै गएर आगो बल्ने स्थिति बन्न थाल्यो । उनीहरूमा बदलाभाव मात्र देखेर म आश्चर्यचकित भएँ । मैले त तिनका विरुद्ध कहिल्यै केही गरेको थिइनँ । तिनीहरू किन मेरो ज्यानलेवा दुस्मन हुन्छन् ? कहिले कहिले सम्बन्धहरूमा युद्धविराम हुन्छ । तर कसैसँगको युद्धविराम अस्थायी हुन्छ । फेरि आगो भड्किन्छ । सम्बन्ध बिग्रन्छ, शत्रुता बढ्छ ।
कहिलेकाहीँ युवायुवती असाधारण प्रेममा पर्छन् । तिमीबिना बाँच्नै सक्दिनँ भन्छन् । तर हिजो तिम्रो अनुहारलाई हेरिरहुँ जस्तो लाग्छ भन्ने मान्छे तिम्रो अनुहार हेर्नै मन छैन, देख्नै मन छैन भन्ने तहमा पुग्छ । हिजो तिम्रो बोली सुनिरहुँ जस्तो लाग्छ भन्ने मान्छे तिम्रो त बोली पनि सुन्नै मन छैन भन्ने ठाउँमा पुग्छ । सम्बन्धहरू बन्ने, बिग्रने, भत्किने, झाँगिने, मेटिने अनेक हुन जान्छ ।
हिन्दी फिल्म ‘राम तेरी गंगा मैली’ मा एउटा गीत छ– ‘प्यार की बातों मे रास्ता तो क्या, जिन्दगी कट जाती है ।’ कसैको त्यस्तो पनि हुन्छ । मायापिरतीको कुराकानीमा बाटो काटिसकिएको पत्तै पाइँदैन । प्यारमा बाटो त के, जिन्दगी बितेको पनि थाहै हुँदैन । यस्तो पनि हुन्छ– श्रीमान्–श्रीमतीका रूपमा पाँच/सात वर्ष सँगै बसेपछि डिभोर्स गर्छन् । मैले मान्छे नै चिनेनछु पनि भन्छन् । तर सम्बन्धको सुसञ्चालन गर्न नजान्दा वा सहनशीलता र समझदारीको कमीले त्यस्तो हुन्छ । न ऊ खराब, न त आफू असल । मानिसलाई समग्रतामा बुझ्नुपर्ने हुन्छ । मानिस जे हो, त्यो अनुसारको बुझाइको कमी हो । अर्कोलाई दोष लगाउने त भेटिन्छन्, आफ्नै गल्ती हो भन्ने देखिँदैनन् ।
प्रिय छोराछोरी,
इतिहास नियाल्दा, राष्ट्रहरूबीचको सम्बन्ध कहिले निर्माण हुन्छ, कहिले भत्किन्छ भन्ने रोचक परिदृश्य देखिन्छ । पहिलो विश्वयुद्धमा जर्मनीले गहिरो धक्का खायो र उसलाई नै युद्धको प्रमुख दोषी करार गरियो । महाशक्ति बन्ने होडमा रहेका राष्ट्रहरूबीच प्रतिस्पर्धा चर्कियो । रुसले आफ्नो अस्तित्व र प्रभुत्व जोगाउन आवश्यक ठानेर नयाँ रणनीति अख्तियार गर्यो भने अमेरिका आफूलाई विश्वकै अग्रणी शक्ति बनाउने दौडमा अघि बढ्न तत्पर रह्यो । यो दोस्रो विश्वयुद्धको पूर्ववर्ती कालखण्ड थियो, जहाँ राज्यहरूबीचको शक्ति सन्तुलन परिवर्तन भइरहेको थियो । बेलायतले आफ्नै रणनीतिक चाल चालिरहेको थियो, जापान आफ्नै महत्त्वाकांक्षी योजनामा केन्द्रित थियो र चीन उपनिवेशबाट मुक्त हुन संघर्षरत थियो । राष्ट्रहरूबीच उछिनपाछिन तीव्र थियो ।
यही पृष्ठभूमिमा, अमेरिका परमाणु अस्त्रको निर्माणमा अघि बढ्यो । ‘लिटिल ब्वाई’, ‘फ्याट म्यान’ जस्ता परमाणु बमहरू तयार पारिए । सन् १९४५ अगस्ट ६ मा हिरोसिमामा परीक्षण गरियो, जहाँ केही मिनेटमै ७०,००० भन्दा बढी मानिस मारिए । त्यसको तीन दिनपछि, अगस्ट ९ मा नागासाकीमा अर्को बम खसालियो, जसले पुनः हजारौं निर्दोष नागरिकको ज्यान लियो । शक्तिको प्रदर्शन गर्न आकाशबाट खसालिएको निर्जीव तत्त्वले भयावह विनाशको दृश्य सिर्जना गर्यो, जसले इतिहासमा कहिल्यै नमेटिने निसान छोड्यो ।
जर्मनीमा एडोल्फ हिटलरले होलोकास्ट नामक श्रम र यातना शिविर निर्माण गरी यहुदीहरूको निर्दयतापूर्वक संहार गरे । स्वार्थ यति अन्धो बन्न सक्छ कि मानिसले आफू पनि मान्छे हो, अन्य पनि उही मानव जातिका हिस्सा हुन् भन्ने कुरै बिर्सिन्छ । सम्बन्धहरू कहिलेकाहीँ यति तिक्त बन्छन् कि कसैले अर्काको छोराछोरी क्रूरतापूर्वक मार्दा आफ्ना सन्तानको मुख किन सम्झेन होला ?
राष्ट्र–राष्ट्र, व्यक्ति–व्यक्ति, अणु र परमाणु, ब्रह्माण्ड र आकाशगंगासम्म सम्बन्धको सूत्रले बाँधिएको छ । सम्पूर्ण अस्तित्व सम्बन्धकै आधारमा चलेको छ— सूर्य र ग्रहहरूको गुरुत्वाकर्षणमा जस्तै, समाज र मानवीय सम्बन्धहरूमा पनि आकर्षण र प्रतिकर्षण छन् ।
सम्बन्धले विनाश ल्याउँछ, त्यही सम्बन्धले सिर्जना पनि गर्छ । मानव सभ्यताको मुख्य मेरुदण्ड मानवीय सम्बन्ध नै हो । हामीले सुरक्षित बस्नका लागि घर बनाएका छौं, मौसमअनुसारका लुगा तयार गरेका छौं, जंगल फाँडेर खेतीयोग्य भूमि तयार गरेका छौं, नदीहरू नियन्त्रण गरेर सिँचाइ गरेका छौं, जलविद्युत् उत्पादन गरेका छौं । तर, यी सबै उपलब्धिको अर्थ केवल भौतिक उन्नति होइन । साँचो चुनौती भनेकै सच्चा सम्बन्ध बनाउनु हो, शान्तिमाथिको खतरालाई रोक्नु हो ।
सबैभन्दा ठूलो लक्ष्य भनेको मानवीय सम्बन्धलाई द्वैष, हिंसा र तिक्तताबाट मुक्त गर्नु हो । केवल प्रेम, सहकार्य र सद्भावमय सम्बन्धले नै विश्वलाई साँचो शान्ति र समृद्धितर्फ अघि बढाउन सक्छ । यसैमा मानवताको वास्तविक उचाइ निहित छ, जसले कलह र गरिबीको अन्त्य गर्न सक्छ । आजको दिनमा गरिबी हटाउनु असम्भव होइन, देशको समृद्धि सम्भव छ । तर त्यस्ता तत्त्वहरू सक्रिय छन्, जो मुलुकलाई अस्थिर पार्ने, विकास अवरुद्ध गर्ने र समाजलाई विखण्डन गर्ने नियतमा छन् । यो ठिक त्यस्तै हो, जस्तै भर्खरै रोपिएको मकैबारीमा कुखुरा छोड्दा बीउ उम्रिन नपाउँदै खोस्रिएर नष्ट हुन्छ ।
स्वार्थका कारण अपराध गरिनु, झूटको व्यापार फैलाउनु, समाजमा भ्रम सिर्जना गर्नु र देशलाई अराजकतामा धकेल्नु— यिनीहरूका लागि सफलता जस्तो लाग्न सक्छ, तर वास्तविकता त्यसको ठिकविपरीत छ । मानवीय सम्बन्धहरू स्वस्थ हुनुपर्छ । कसैले कसैको अधिकारमा हस्तक्षेप नगरोस्, कसैले अर्काको हक खोस्न नपरोस् र कुनै व्यक्तिको प्रगति रोक्ने सोच विकास नहोस् । आजको विश्वलाई चाहिएको सम्बन्ध पारस्परिक सम्मान, सहकार्य र समभावमा आधारित हुनुपर्छ । यही सिद्धान्त राज्यहरूको सम्बन्धमा पनि लागू हुनुपर्छ ।
हाम्रो प्रमुख लक्ष्य भनेको यस्तै मानव सम्बन्धलाई सच्याउनु हो— जहाँ परस्पर विश्वास, न्याय र समृद्धि स्थापित हुन्छ । मानव सम्बन्धलाई चुनौती दिन मात्र होइन, सत्य, शान्ति र समभावका आधारमा स्थापित गर्न पनि धेरै मानिसहरू प्रयासरत छन् । यही मार्ग अपनाउनु हाम्रो कर्तव्य हो । हामीले समर्थन गर्ने भनेकै सत्य, न्याय र सकारात्मक परिवर्तनलाई हो ।
मानवताभित्रको अमानवीय प्रवृत्तिलाई उन्मूलन गर्नु जरुरी छ, जसरी काँडालाई झिकेर हटाइन्छ, जसरी शरीरमा पलाएको पिलो निचोरेर सफा गरिन्छ । हाम्रो संघर्ष हिंसात्मक नभई शान्तिपूर्ण हुनुपर्छ । यो कुनै विध्वंसका लागि होइन, मानवताको संरक्षण र समृद्धिका लागि हुनुपर्छ । हामीले सत्यको विरोध होइन, पक्ष लिनुपर्छ । अब वैचारिक आदर्शलाई दृढ बनाउँदै, निष्पक्षता र इमानदारितासँग अघि बढ्नु आवश्यक छ । सम्बन्धहरूलाई मानवोचित, सामाजिक र देशभक्तिपूर्ण बनाउनु आवश्यक छ । तर त्यो सबै न्यायसंगत हुनुपर्छ ।
आजको विश्वमा हाम्रो अन्तिम लक्ष्य मानव शान्ति, कल्याण र सभ्यताको स्थापना नै हो । तर, सबैभन्दा जटिल चुनौती पनि यही हो । कम्तीमा आजका जागरूक व्यक्तिहरूका विचार र सिद्धान्तले मानव सुरक्षा, समानता र समृद्धिलाई प्राथमिकता दिनुपर्छ ।
खुसी र सुख केवल व्यक्तिगत विषय होइन । यो हरेक व्यक्तिको हक हो । ‘सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामयाः’ लाई संस्कृतमै भन्नुपर्छ भन्ने छैन । तर हाम्रो जीवनशैली बनाइनुपर्छ । सबैले सुरक्षित र निर्भय वातावरणमा बाँच्न पाउनुपर्छ, सबै अधिकारसम्पन्न हुनुपर्छ र कुनै पनि व्यक्ति अभावमा बाँच्न बाध्य हुनुहुन्न । हरेक मानिसले आफूले चाहेको लक्ष्य प्राप्त गर्न सकून्, तर त्यो न्यायसंगत र समान अवसरको आधारमा हुनुपर्छ । मानवीय सम्बन्ध यस्तै समावेशी, सहिष्णु र समानतामा आधारित बन्नुपर्छ ।
विडम्बना, इतिहासमा मानव जाति कहिल्यै पनि एकजुट हुन सकेन । अबको अनिवार्य आवश्यकता हो, राम्रा कामका लागि मानव जातिको एकता ।