संकटमा पहाडे कृषि 

Swastika Bhandari

पुस १९, २०८१

कृष्णप्रसाद पौडेल

कृषिकर्म आधुनिक मानिसले प्रकृतिका अन्य प्रजातिहरूलाई आफूसँगै घरपालुवा बनाएको ऊर्जा बन्दोबस्तको व्यवस्था हो । यो सम्बन्ध हजारौं वर्षदेखि स्थानीय भूगोल र पर्यावरणमा विकसित, परिमार्जित र उन्नत हुँदै आएको हो ।

अहिले निर्वाहमुखी भनिने परम्परागत आत्मनिर्भर कृषि हाम्रो भूगोलमा यसरी नै उन्नत हुँदै आएको हो । यस अर्थमा कृषि प्रणाली स्थानीय भूगोल, पर्यावरण र संस्कृति उपयुक्त भए मात्र उन्नत हुन्छ । तर भूमण्डलीकरणसँगै बढेको अन्तरनिर्भरताको परिवेशमा यसलाई आफ्नै विशेषतामा उन्नत बनाउन नसक्दा अहिले पहाडे कृषि निरन्तर ओरालो यात्रामा छ । यसले पहाडको कृषि, पर्यावरण र समाज सबै अस्तित्वको संकटमा छन् ।

लगभग ४०० वर्षअघि मात्र सुरु भएर मैदानी ढाँचामा विकसित भएको यान्त्रिकीकरण प्रविधिको विस्तारसँगै संसारभरकै परम्परागत प्रकृतिसम्मत कृषि विस्थापन हुँदै ओरालो बाटो लाग्यो । यसको सबैभन्दा छिटो प्रभाव पहाडको भिरालो पाखामा पर्‍यो ।

यो कुराको भेद थाहा पाउन युरोप र अन्य विकसित भनिने देशको पहाडे कृषिको इतिहास हेरे पुग्छ । यही यान्त्रिकीकरण प्रविधिको बलमा दोस्रो विश्वयुद्धपछि थपिएका कृत्रिम रसायन, विषादी र नपुसंक बीउले हरित कृषि क्रान्तिका नाममा औद्योगिक कृषि ढाँचालाई विश्वव्यापी बनायो ।

यसबाट सबै भूभागका परम्परागत कृषि प्रणाली धेरै नै प्रभावित छन् । यसको सबैभन्दा ठूलो प्रभाव नेपाल जस्तो थोरै समथर भाग, साना उपत्यका, भावर, दुन र धेरै भिरालो पहाडी भू–भाग, टुक्राटाक्री र सानो आकारको जमिन भएका न्यून आय रहेका साना किसानहरूले भरिएको समाजमा पर्‍यो ।

यस्तो किन भयो भनेर थाहा पाउन सबैभन्दा पहिले, पहाडे कृषिका भौगोलिक र पर्यावरणीय विशेषतामाथि घोत्लिनुपर्ने हुन्छ । मैदानी र पहाडे जलाधारको भौगोलिक तथा पर्यावरणीय विशेषतामा ठूलो भिन्नता छ । यो भिन्नतासँगै जीवनको मूल आधार सतहको जीवन्त माटो, पानी, हावा, सौर्य ऊर्जा र आकाशको चक्रीय अन्तरसम्बन्ध र यसबाट निश्रित हुने पोषण चक्र सबै भिन्न छन् ।

पहाडको सतहको माटो पातलो छ । यस्तो सतहमा उपलब्ध हुने पानी, बिरुवालाई उपलब्ध हुने खनिज र पोषणतत्त्वको चक्रीय अन्तरनिर्भर सम्बन्धमा समेत भिन्न छ । पानीको स्रोत पहाडको पुनःभण्डारण र मूलको चक्रीय बाटो हुँदै आउँछ भने खनिज स्रोत र पोषणतत्त्व सतहमा हुने अन्य जैविक प्रक्रियाबाट उपलब्ध हुन्छ ।

वन र जनावर स्थानविशेषको पहाडे कृषिका महत्त्वपूर्ण आयाम हुन् । यी नहुँदा खासगरी सतहको पानी सधैं ओरालो यात्रामा हुन्छ । यसको गतिलाई सन्तुलन गर्ने हरित सतह उजाड हुँदा यसले सतहको माटोलाई आफूसँगै लिएर जान्छ । यस अर्थमा, पहाडमा स्थानविशेषका वन र जैविक विविधताको संरक्षण महत्त्वपूर्ण छ । त्यसैले हाम्रा पुर्खाले कृषि वनको एकीकृत प्रणाली अपनाएका हुन् ।

अहिले जलवायु संकट थपिएसँगै यसको सन्तुलनमा भएको गडबडीको मर्म थप उजागार भएको छ । मुख्यतः पानी धेरै र थोरै दुवैले पहाडको खेती प्रणाली र सतहको जीवन्त माटोको अस्तित्वमै ठूलो फरक पार्दछ । अहिले पहाडको उर्वर माटो पानीसँगै बगेर गएको छ । यसलाई सम्हाल्न नसक्ने हो भने पहाडको जवानी जोगाउन सकिँदैन ।

अर्को कुरा, पहाडमा जैविक विविधता सम्म/मैदानी भूभागको तुलनामा धेरै नै सानो क्षेत्रमा सघन हुन्छ । यस्तो हुनुमा पहाडको प्राकृतिक भूधरातलीय विविधता हो । पहाडको दिशा, उचाइ, पाखोको विशिष्ट अवस्थिति र पातलो सतहमुनिको खनिजले यो विविधता थप बढाएको हुन्छ ।

उदाहरणका लागि, एउटै पहाडमा कम्तीमा ३ वटा विविध जैविक क्षेत्र छन् । यसले बालीनाली र बस्तुभाउका प्रजातिको भिन्नता मात्र हैन मौसमी उत्पादन चक्र र उत्पादनशीलता, उत्पादन परिमाण र मात्रामा समेत फरक पर्छ ।

यी र यस्तै भिन्न विशेषताका आधारमा पहाडको स्थानीय खेती प्रणाली स्थानीयस्तरमै विकास भएको हो । यी सबैमा आफ्नै परिवेशमा उन्नत बनाएका प्रविधि अपनाइएका हुन्छन् । सधैं तलतिर बगेर जाने पहाडको उर्वर माटो र पानी जोगाउन माटो संरक्षण (गरा) पानी सञ्चिति (पोखरी, कुलो) लगायतका स्थानीय कृषि प्रविधि, औजार र तरिकाका साथै एकीकृत कृषि वन प्रणाली अपनाएका हुन् । त्यस्तै, पहाडको कृषि प्रणालीमा यसका ६ दिशा (पूर्व, पश्चिम, उत्तर, दक्षिण, तल र माथि) लाई आत्मसात् गरिएको छ ।

त्यसैले हाम्रा ६ वटा ऋतु छन् । यिनैमा आधारित मौसमी बाली तथा बस्तुभाउ व्यवस्थापनको पात्रो छ । यी सबै कुरा आत्मसात् गरेका पूर्वजले पहाडमा विविधतायुक्त कृषि तथा खाद्य संस्कृति निर्माण गरेका हुन् । ठाउँ विशेषका खाद्यान्नमा आधारित विविधतापूर्ण खाद्य संस्कृतिको पात्रो र पर्वहरू छन् । यसबाट समेत पहाडको विशेषता र यसको भिन्न परिवेश सम्म/मैदानी विशेषताभन्दा भिन्न भएको प्रस्ट देखिन्छ ।

हाम्रो भौगोलिक परिवेशसमेत अन्य देशको तुलनामा भिन्न छ । उदाहरणका लागि एकतिहाइजस्तो भूमि शुष्क कृषि प्रणालीमा रहेको र आधाभन्दा बढी कृषि जमिनको खेतीपाती आकाशे पानीमा भर पर्नुपर्छ । त्यस्तै राजनीतिक र सामाजिक परिवेशको भिन्नता छ । ठूला कृषि अर्थतन्त्र भएका दोस्रो र चौथो देशको बीचमा रहेका छौं ।

अहिलेकै कृषि अर्थतन्त्रको ढाँचामा उनीहरूको जस्तै कृषि गरेर हाम्रो मूलतः पहाडे कृषि प्रतिस्पर्धी हुनै सक्दैन । यस्तो पहाडे क्षेत्रमा स्थानीय विशेषताको कृषि प्रणाली उन्नत बनाउने सोच नहुँदा हाम्रो कृषि निरन्तर पलायनको यात्रामा छ । परिणाम हामी सबैका सामु छ ।

पहाडको पानीले वितण्डा मच्चाउँदै छ भने पहाड र समाजको जवानी उजाडिँदै छ । ऊर्जाशील किसान विवश हुँदै खाडी पसेका छन् । अर्कोतिर, खेतबारीमा जंगल पसेको छ, कृषि जमिन बाँझो छ, सतहको उर्वर माटो कहिल्यै नफर्कने गरी बंगालको खाडी झरेको छ । यसको सबैभन्दा बढी प्रभाव ८० प्रतिशतको हाराहारीमा रहेको धेरै नै भिरालो पहाडे कृषिमा परेको छ । अहिले आधाभन्दा बढी जनसंख्या, २० प्रतिशत तराईमा जीवन निर्वाहको खोजी गर्दै बसाइँ सरेको छ ।

यस्तो हुनुमा सम्म/मैदानी कृषि प्रणालीलाई हाम्रो जस्तो भिरालो पहाडी जलाधारमा हुबहु नक्कल गर्ने लहड जिम्मेवार छ । खासगरी, निरन्तर बदलिइरहेको पहाडको भूधरातलीय, पर्यावरणीय, आर्थिक, सामाजिक र सांस्कृतिक विशेषताको यथार्थलाई बेवास्ता गरेर नै यो अवस्था आएको हो । यस्ता विशेषता भएको मूलतः पहाडे देशमा असम्भव उच्च लगानीको सघन खेती प्रणालीको औद्योगिक विकासे सपना नै हाम्रो कृषिको अधोगतिको एउटा महत्त्वपूर्ण कारण हो ।

यसले अहिले जीवनका सबै आयाममा संकट थपिँदै गएको छ । हाम्रो विशेषताको यथार्थ धरातलमा टेक्न नसकेको कृषि विकासको भविष्यमुखी दृष्टिकोण नै यी सबै संकटको मूल कारक हो । यो कुरा आत्मसात् गरेर कृषि विकासको ढाँचा र अभ्यास नगरे हाम्रो कृषि जोगिँदैन ।

विडम्बनाः यी यस्तै पहाडे कृषि विशेषताका सन्दर्भमा आजसम्म कुनै सार्थक बहससमेत भएको छैन । एकीकृत पहाडको विकास गर्न बनेको अन्तर्राष्ट्रिय संस्थादेखि पहाडी विकासका लागि भन्दै आएका दाता र परियोजनाले हाम्रो पहाडे कृषिको विशेषता आत्मसात् गर्न छोडेर उल्टै, असम्भवप्रायः सम्म/मैदानी कृषि विकासको दृष्टिकोण, रणनीति र योजनाहरू अघि सारेर यसलाई थप धराशायी बनाउँदै लगिएको छ ।

यो कुरा अहिलेका नीति, रणनीति, योजना र कार्यक्रममा मात्र हैन यिनको कार्यान्वयनले ल्याएको प्रतिफलमा समेत प्रस्ट छ । यी कुनै पनि दस्ताबेजले नेपालको भौगोलिक तथा पर्यावरणीय अवस्था, उत्पादनशील सतहको माटोको र यसमा हुने जैविक प्रक्रियाको विशेषतामा आधारित भएर विकसित रैथाने कृषि प्रणाली अन्य समतल मैदानी कृषि प्रणालीसँग यसको उत्पादन प्रक्रिया, उत्पादकत्व र परिणाम (व्यावसायिक) कुनैमा प्रतिस्पर्धा हुनै सक्दैन भन्ने कुरा आत्मसात् गरेको देखिँदैन ।

यस बीचमा जे जति प्रयत्न भए सबै पहाडे कृषि विकासका लागि एकातिर आँधी अर्कोतिर झलुङ्गो साबित भएका छन् । पहाडको विविधतामा आधारित विशेषतालाई कमजोरीका रूपमा मात्र प्रस्तुत गर्दै सम्म/मैदानी औद्योगिक कृषि एक मात्र सूत्र बनाएकाले नै यस्तो भएको हो । यो कुरा आत्मसात् नगरी यो देशको कृषि उन्नत हुँदैन ।

हाम्रो कृषि विशेषताको सन्दर्भबिनै बर्सेनि कृषि विकास नीति र योजनाका सयौं ठेली तयार हुन्छन् । निहित स्वार्थका वरिपरि लहडमा बनाइने यस्ता कृषि विकासका नीति र योजनाको एकआपसमा साइनोसमेत छैन । अहिले संघीय कृषि कानुनको मस्यौदा, २० वर्षे कृषि विकास रणनीतिको मध्यावधि समीक्षा, परिमार्जन र कृषि नीति २०६१ को समीक्षाको दस्ताबेजमा औद्योगिक कृषि प्रवर्धनमै जोडबल छ ।

औद्योगिक कृषिका दलालको स्वार्थमा भइरहेका यस्ता दस्ताबेज छुट्टाछुट्टै खोपीमा तयार हुने गरेका छन् । यी कुनै पनि दस्ताबेजले हाम्रो कृषिको विशेषताको सन्दर्भ विश्लेषण त परै जाओस्, एकआपसमा संवादसमेत गर्दैनन् ।

यसरी हेर्दा, कृषि उन्नत बनाउने यात्रामा हामी नेपाली कहाँ र किन अल्मलियौं ? यो राजनीतिक प्रश्न निकै पेचिलो छ । विडम्बना, यो प्रश्न समृद्ध नेपाल र सुखी नेपालीका लागि भन्दै नेता र नीतिनिर्माताले गर्ने घण्टौंका पट्यार लाग्ने भाषण, विज्ञका लेखन र बौद्धिक जमातका चर्चामा कतै उठ्दैन ।

अन्त्यमा, राष्ट्रवादको घण्टौं भाषण गरेर नथाक्ने तर आफ्नै विशेषताको कृषि बनाउन सिन्को नभाँच्ने निकम्मा जमातलाई हेक्का रहोस्, यो मति नफेरिएसम्म पहाडको माटो, पानी र जवानी जोगिँदैन । यो जोगाउन नसके पहाड र यसको खाद्य संस्कृति मात्र हैन हाम्रो जस्तो पहाडे देशको अस्तित्वसमेत रहँदैन ।

Sharing Is Caring:

Leave a Comment