पुस १९, २०८१

सुशीला शर्मा
प्रायः महिलाहरूको बालबच्चालाई जन्म दिने, उनीहरूको स्याहारसुसार गर्ने र हुर्काउने गरिसकेपछि एउटा उमेर आउँछ । केही स्वतन्त्र भई घुम्ने अवसर पनि उमेरको मध्य अवस्थामा प्राप्त हुन्छ । पढेलेखेका, जागिर खाएका, निवृत्त पुरुषहरू अब समाजले चिन्ने गरी केही गरौं भन्ने हुटहुटी लिएर समाजलाई योगदान दिन केही नयाँ काम गर्न चाहन्छन् ।
तर आफूले निभाउनुपर्ने अभिभावकत्व र आफ्ना ज्येष्ठताउन्मुख अभिभावकको हेरचाह सँगसँगै पनि केही समय निकाल्न खोजिरहेका हुन्छन्, महिलाहरू ।
प्रसिद्ध नारीवादी लेखक सिमोन द बोउवारका अनुसार ऐतिहासिक कालमा महिलाले सामाजिक एकता र व्यक्तिगत स्वतन्त्रतामध्ये एउटालाई रोज्नुपर्ने थियो । सायद महिलाले यही सामाजिक एकतालाई नै रोजे । प्राचीन समयमा एक विवाहित महिलाले उनको लोग्नेको स्रोतको उपयोग गर्थिन् र सामाजिक मान सम्मानको रसास्वादन पनि गर्थिन् ।
विवाहको माध्यमबाट समाजलाई एकीकृत गर्दै गर्दा महिलाले कैयौं प्रकारका स्वतन्त्रताको अधिकारलाई छोड्नुपर्ने हुन्छ । आधुनिक समाजमा पनि यो प्रक्रिया चलिरहन्छ । तर ज्येष्ठ अवस्थामा उक्लिरहेका महिलाहरू भने केही स्वतन्त्र जस्ता देखिन सक्छन् । यो उनीहरूको उमेरको कारणले हासिल भएको हो । यतिबेला महिलाहरूले घरेलु काम र यौन व्यवहारबाट थोरै उन्मुक्ति पाउँछन् ।
सिमोनले भनेझैं अलिकति उन्मुक्तिको समयबाट के महिलाको हकमा पनि आफ्ना चाहना पूरा गर्ने बाटोहरू सहजै खुल्छन् त ? जिन्दगीका अघोर योगदान आफ्नो परिवारलाई दिइसकेका महिलाले जिन्दगीका मध्यतिर अलिकति खाली या फुर्सद हुँदा के सोच्छन् होला ? बाँकी जिन्दगी आरामै गरेर बिताइदिन्छु भन्न सक्लान् । पैसा जगेर्ना गर्न सकिएको छ भने उही तीर्थ, व्रत, दान, पुण्य गर्न चाहलान् । तर सबैलाई उस्तै सुविधाको जीविकोपार्जन कहाँ होला र ? निम्नवर्गीय महिलाहरूको मनभित्रचाहिँ आसको चाङ मात्रै पनि हुन सक्छ ।
तीर्थस्थल जान मन लाग्न सक्छ । यद्यपि, मध्यान्तरपछिका जीवनलाई महिलाहरूले यसै खेर फालेकाचाहिँ छैनन् । कतिपयले बत्ती कातेर, ठेलागाडामा चिया, तरकारीका पसलहरू चलाएर पनि पुगनपुग पैसा कमाइरहेकै छन् । वर्गअनुसारको महिलाको जीवनको मध्यान्तरको काम भइरहेको छ । तर शारीरिक र मनस्थितिको परिवर्तन पनि जीवनका मध्यान्तर अवस्थाका चिह्न हुन् ।
सिमोनकै भाषामा मानिसहरू अन्य जनावरभन्दा भिन्न छन् किनकि उनीहरू व्यक्तिगत उद्देश्यहरू खोज्न सक्छन् । तर मुख्यतया पुरुषलाई मात्र सम्भव छ । पुरुषहरूलाई जीवनमा उच्च लक्ष्य राख्न प्रोत्साहित गरिन्छ र नयाँ चिजको सिर्जना गर्न आफैं अग्रसर हुन स्वतन्त्र छोडिन्छ । महिलाहरू भने धेरैको या भनौं समुदायकै राम्रोका लागि प्रोत्साहित गरिन्छन् ।
उदाहरणका रूपमा महिलाहरूलाई मातृत्वको जिम्मेवारी छ, जसले मानव कल्याणको प्रतिनिधित्व गरेको बताइन्छ । महिलाको जन्म दिने प्राकृतिक क्षमता बरदान पनि र श्राप पनि जस्तो भएको मानिन्छ । हुन त आधुनिक समाजसम्म आइपुग्दा जन्म नियन्त्रणका उपाय र संसाधन आइसकेका छन् । तर प्राचीनदेखि मध्ययुगसम्म पनि महिलाको जीवन बच्चा जन्माउने र हुर्काउनमै बित्दथ्यो ।
अन्य आम प्रकारको भूमिका जस्तो कि आमा, गृहिणी, श्रीमती आदिमा व्यतीत हुनुपर्थ्यो । पुरुषहरूले भने आफूलाई आम रूपमा प्रस्तुत गरिरहनु पर्दैन । त्यसैले पुरुषहरू एक व्यक्तित्वका रूपमा समाजमा परिचित हुन्छन् ।
महिलाहरू पनि जिन्दगीको एउटा चरणमा पुगेपछि अबका दिनहरू कसरी कटाउने भनेर एउटा बाटोचाहिँ खोजिरहेकै हुने रहेछन् । तर भजनकीर्तनभन्दा बाहिर निस्कन पनि चाहने तर अर्को बाटोको दोसाँधमा पनि हुने धेरै महिलाहरू छन् ।
कुनै पनि बाटाहरू पहिल्याउन नसकेर एकै ठाउँमा थन्किनुपर्दा भने अनेकथरी शारीरिक तथा मानसिक रोगले घर गर्ने रहेछन् । कतिपय महिलाहरू भने विभिन्न आध्यात्मिक बाटोहरू समात्दै योगध्यानमा पनि लागेको देखिन्छ । एक समय महिला हकहितको आन्दोलन र घरायसी कामलाई पनि सँगसँगै लगेका महिलाहरूले पनि मध्यान्तरतिर भने शान्तिपूर्ण जीवनका लागि आध्यात्मिक बाटो रोज्छन् ।
छोराछोरी सहरमा र बाबुआमा गाउँमा छन् भने सहरकै घरमा बाँकी जिन्दगी बिताउने रहर पनि हुने रहेछ कतिपयको । अहिले त युरोप अमेरिकामा हुने छोराछोरीले पनि आफ्ना अभिभावकलाई आफू बसेको देशमा बोलाउने र त्यतै पनि मन बहलाउने गरेको पाइन्छ । हाम्रा सामाजिक, सांस्कृतिक चक्रका सकारात्मक पाटाहरू नै होलान्, जसले मानिसलाई विभिन्न चरणका जीवनका पाइलाहरूमा चलायमान राख्नचाहिँ मद्दत नै गरिराखेका छन् ।
भलै त्यसमा भाग्यवाद र आशंका अनि डर, पाप र पुण्यका थिति नै किन नहोऊन् । महिलाहरूलाई अलिकति जागरुक बनाउन आमा समूह, टोल विकास संस्था, महिला सहकारी जस्ता सामाजिक संघसंस्था उपयोगी मानिएको छ । तर यी संस्थाहरूले महिलाको रूपान्तरणमा कति भूमिका खेलेको छ त भन्ने पनि प्रश्न उठ्छ ।
जीवनका मध्यावस्था, शरीरमा विभिन्न रोगको थालनी, हर्मोनल परिवर्तनले देखा पर्ने शारीरिक, मानसिक प्रतिक्रियालाई महिलाहरूले झेल्दै र पार लगाउँदै अगाडि बढ्नुपर्ने हुन्छ । कतिपय श्रमजीवी र दैनिक ज्यालादारी गर्ने परिवारका महिलाहरूको अवस्था अझै भिन्न पनि हुन सक्छ । दुःख, बिमार, परिवारका सदस्यको मदिरा सेवनको लत जस्ता कुराले मध्य अवस्थामा पुगेर पनि अमनचयनको सास फेर्न नपाएका महिलाहरूको जीवन पनि नभेटिने होइनन् । मध्यावस्थाका जीवन भोगाई अलिकति खाली समय र अनेक खालका समस्याको मिश्रण हो ।
सप्ताह लगाएको स्थानमा करिब दुई किलोमिटर जति लामबद्ध भएर, हातमा कलश बोकेर हिँडेका महिला देखिन्छन् । यसबाट अनुमान लगाउन सकिन्छ कि जीवनका विविध चरणहरूलाई पनि महिलाहरूले धार्मिक संस्कृतिमै जोडिदिएका, जोडाइएका वा छोडिदिएका छन् । पाँच वर्षमा आउने गढीमाईको मेला, १२ वर्षमा आउने गोदावरी मेला, प्रत्येक वर्ष आउने शाली नदी वा स्वस्थानी व्रतकथामा संघर्ष पनि गर्दै र समृद्धिको भलाइको आस पनि राख्दै गरिएका भाकलहरू र त्यसलाई पूरा गर्न अपनाउनुपर्ने विधि र चाहिने सर्दमको जोहोमा पनि महिलाको मध्यावस्थाको दिनचर्या बितिरहेको छ ।
स्वस्थ जीवनशैली सँगसँगै योगध्यान, अध्यात्मबाहेक पनि अन्य बाहिरी दुनियाँसँग साक्षात्कार हुने, भ्रमण गर्ने, लेखपढ गर्ने, महिलाकै अनेक सवालमा अन्तरक्रिया गर्ने, समाजमा देखिइरहेका राजनीतिक निराशाहरूलाई चिर्ने खालका कार्यमा पनि पुरुषसरह महिलाको पनि सहभागिता र योगदान भए मध्यावस्थाको दिनचर्यामा परिवर्तन र रूपान्तरणमा योगदान पनि देखिने थियो कि ?
रूपान्तरित महिलाका योगदानको चर्चा परिचर्चा गर्ने, महिला दिवसहरू मनाउने, महिला समूह र संगठनमा नयाँनयाँ विषयमा बहस र अन्तरक्रियाहरू गर्ने कार्य पनि मध्यावस्थामा रहेका महिलाले सम्पादन गर्न सक्ने विषय हुन् । अझै पनि महिला ओझेलमा बसेर जिन्दगी काट्ने होइन, अग्रपंक्तिमा रहेमा मात्र जुनसुकै चरणका जीवनलाई सहज ढंगले अगाडि लैजान सकिएला ।