२०२५ मा आउने ८ नेपाली रियालिटी शो : ‘भ्वाइस सिजन ६’ देखि ‘शार्क ट्यांक’सम्म

Dipa Bhatt

  २०८१ पुष १६ गते

काठमाडौं । अंग्रेजी नयाँ वर्ष २०२५ मा नेपाली टेलिभिजन क्षेत्रमा चर्चित रियालिटी शो आउँदैछन् । बिजनेसदेखि संगीत, एड्भेन्चर, मोडलिङ, कमेडी विधाका रियालिटी शो आउँदैछन् ।

भिन्न विधाका रियालिटी शो आउँदा यसले दर्शकको रुचि र चाहनाको विविधतालाई समेट्ने अपेक्षा गरिएको छ । जसमध्ये केही शोहरूको औपचारिक घोषणा भइसकेको छ भने केहीको हुने तयारीमा छ ।

हिमालय टिभीले दर्शकीय रुचिलाई ध्यानमा राख्दै अलग स्वाद र शैलीका रियालिटी शोमा लगानी बढाउँदै दर्शकमाझ ल्याउने जमर्को कसेको छ । हिमालय टिभीमा मात्रै आठ प्रतीक्षित रियालिटी शोको प्रसारण सन् २०२५ मा हुनेछ ।

जसमध्ये प्रतीक्षित रियालिटी शोमा बिजनेस रियालिटी शो ‘शार्क ट्यांक नेपाल’ हुनेछ । सोनी पिक्चर्स टिभीले विश्वभर वितरण गर्दै आएको यो शोको नेपाल संस्करण ५४ औं फ्रेन्चाइज हो । उद्यमशीलता, नवप्रवर्तन र लगानीलाई प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण हुन लागेको यो शोको प्रसारण वैशाखदेखि सुरु गर्ने तयारी छ ।

शोलाई ‘हिमालय रोडिज’ फेम्ड सिमोस सुनुवारले निर्देशन गर्ने भएका छन् । एउटा एपिसोडमा पाँच जना उद्यमी गरेर कुल २० एपिसोडमा १०० जना उद्यमीले आफ्नो व्यवसाय र उद्यमशीलताको आइडिया पिच गर्नेछन् । शोले ३० देखि ४० करोड रुपैयाँ लगानी जुटाइदिने जनाइएको छ ।

फागुन-चैतदेखि फेसनमा आधारित पहिलो रियालिटी शो ‘नेपाल्स नेक्स्ट टप मोडल’ सिजन १ को प्रसारण तयारी छ । अहिले यसका जजहरू तय भइसकेका छन् भने आवेदन खुला गर्ने तयारी छ ।

सांगीतिक रियालिटी शो ‘भ्वाइस अफ नेपाल’का दुई सिजन ६ र ७ सन् २०२५ भित्रै प्रसारणको तयारी छ । छैटौं सिजन माघ ४ गतेदेखि प्रसारण हुने जनाइएको छ । छैटौं सिजन वैशाखमा सकिने र आगामी दशैंमा सातौं सिजन लन्च गर्ने जनाइएको छ ।

नयाँ वर्षमा हिमालय रोडिजको सातौं सिजन पनि आउनेछ । अहिले छैटौं सिजनको प्रसारण भइरहेको छ । सोही वर्ष भ्वाइस किड्सको चौथो सिजन पनि ल्याउने तयारी छ ।

सन् २०२५ मै लोकगीतमा आधारित गायन रियालिटी शो ‘नेपाल लोकस्टार’ पनि आउने जनाइएको छ । आउने माघदेखि विशाल भण्डारीले निर्देशन गर्ने कमेडी रियालिटी शो ‘कमेडी नाइट्स विथ च्याम्पियन’ पनि आउने तयारीमा छ ।

यसरी हेर्दा हिमालय टिभीमा रियालिटी शोको लाइनअप बलियो देखिन्छ ।

Sharing Is Caring:

Leave a Comment