‘पाताल लोक’सहित यी हुन् २०२५ मा आउने प्रतीक्षित भारतीय वेब सिरिज

Dipa Bhatt

२०८१ पुष १२ गते

काठमाडौं । सन् २०२५ सुरु हुने संघारमा छ । यसबीच अंग्रेजी नयाँ वर्षमा ओटीटी प्लाटफर्ममा केही नयाँ सिरिज आउने तयारीमा छन्, जसले तपाईंको नयाँ वर्षलाई उत्साहित बनाउने पक्का छ ।

आउने वर्ष लोकप्रिय सिरिजहरू ‘पञ्चायत सिजन ३’ देखि मिसम्याच्ड सिजन ३, हीरामण्डी, मिर्जापुर, ताजा खबर, कल मी बे लगायत श्रृंखलाले दर्शकको ध्यानाकृष्ट गर्न सक्छन् । रोमाञ्चक कथा, नयाँ अनुहार र विविध जनराका भएकाले पनि यी सिरिजप्रति दर्शकको पर्खाइ छ ।

सन् २०२५ मा थप नयाँ र रोचक कथावस्तु आउने क्रममा छन् । आर्यन खानको डेब्यु निर्देशकीय सिरिजदेखि सेफाली शाहको ‘दिल्ली क्राइम सिजन ३’ र मनोज बाजपेयीको ‘द फेमिली म्यान’ आउने क्रममा छन् । आउने तयारीमा रहेका केही सिरिजको यहाँ चर्चा गरिन्छ ।

आर्यन खान निर्देशित नेटफ्लिक्स सिरिज

बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यनले निर्देशन गरेको शो सन् २०२५ मा आउने क्रममा छ । गौरी खानले निर्माण गर्ने यो शोको अवधारणा र निर्देशन आर्यनको हुनेछ । ‘सन् २०२५ मा नेटफ्लिक्स र रेड चिलीज इन्टरटेनमेन्ट गौरी खानद्वारा निर्मित बलिउड श्रृंखलामा एकसाथ आउँदैछन् जसको निर्देशन आर्यन खानले गर्नेछन्,’ नेटफ्लिक्सले हालै घोषणा गरेको छ ।

पाताल लोक सिजन २

जयदीप अहलावत र गुल पनाग अभिनित बहुप्रतीक्षित क्राइम ड्रामा ‘पाताल लोक’को दोस्रो सिजन पनि २०२५ मा रिलिज हुँदैछ । प्राइम भिडियोले पोस्टर सार्वजनिक गर्दै यो क्राइम ड्रामा १७ जनवरीमा रिलिज हुने जनाएको छ । पहिलो सिजन सन् २०२० मा स्ट्रिमिङ भएको थियो । निकै सफल भएपछि निर्माताले दोस्रो सिजन ल्याउन लागेका हुन् ।

द फ्यामिली म्यान ३

मनोज बाजपेयी, प्रियमणि र शारिब हासमी अभिनित लोकप्रिय वेब सिरिज ‘द फ्यामिली म्यान’ आउने वर्ष रिलिज हुनेछ । डिसेम्बरसम्म छायांकन सकिने र आउने ९-१२ महिनासम्म पोस्ट प्रोडक्सन सकिने अपेक्षा छ । यो सिजन अर्को वर्ष जुनसुकै बेला रिलिज हुनसक्छ । त्यसअघि अक्टोबरमा अभिनेत्री गुल पनागले भनेकी थिइन्, ‘हामी ‘फ्यामिली म्यान सिजन ३’ को छायांकनमा व्यस्त छौं ।’ यदि त्यसो भए अबको २-३ महिनामा यो स्ट्रिमिङको लागि तयार हुनुपर्छ ।

द रोशन्स

सन् २०२५ मा रिलिज हुने ‘द रोशन’मा ऋतिक रोशन, राकेश रोशन र राजेश रोशनलाई देखाइनेछ । यो डकुमेन्ट्री सिरिज १७ जनवरी २०२५ मा नेटफ्लिक्समा रिलिज हुनेछ । श्रृंखलाले दर्शकलाई रोशनको जीवन, संघर्ष र सफलता प्राप्तिसम्मको यात्रा चित्रण गर्ने जनाइएको छ ।

ब्ल्याक वारेन्ट

‘सेक्रेड गेम्स’ र ‘सीटीआरएल’का लागि परिचित विक्रमादित्य मोटवाने आफ्नो आगामी वेब सिरिज ‘ब्ल्याक वारेन्ट’मार्फत भारतको सबैभन्दा कुख्यात जेल तिहाडभित्रको कठोर वास्तविकतालाई दर्शकमाझ लैजान तयार छन् । यो श्रृंखलाबाट शशी कपुरकी नातिनी जाहान कपुरले डेब्यु गर्नेछिन् । १० जनवरी २०२५ मा नेटफ्लिक्समा प्रिमियर हुनेछ । यस श्रृंखलामा परमवीर सिंह चीमा, अनुराग ठाकुर र सिद्धान्त गुप्ता पनि मुख्य भूमिकामा छन् ।

दिल्ली क्राइम सिजन ३

पहिलो दुई सिजनको सफलतापछि शेफाली शाहको शीर्ष अभिनय रहेको सिरिजको तेस्रो सिजन अर्को वर्ष रिलिज हुने सम्भावना छ । सेप्टेम्बरको सुरुवातमा टाइम्स अफ इन्डियाले तेस्रो सिजनको छायांकन सुरु भएको लेखेको थियो । यो सिरिजले मानव बेचबिखनको विषयवस्तु अन्वेषण गर्ने अपेक्षा गरिएको थियो । तेस्रो सिजन दुई भागको शृंखलामा २०२५ को मध्यमा रिलिज हुने सम्भावना रहेको जनाइएको छ । तेस्रो सिजनमा शेफाली शाह र रसिका दुग्गलसँगै अभिनेत्री हुमा कुरेशी पनि देखिनेछिन् ।

द ट्रायल सिजन २

सन् २०२३ मा रिलिज भएको काजोल अभिनीत डिज्नी प्लस हटस्टारको श्रृंखला ‘द ट्रायल’को दोस्रो सिजन नयाँ वर्षमा आउने सम्भावना छ । यसअघि अक्टोबर २०२४ मा जुम टिभीले सेयर गरेका तस्वीरमा काजोलले वकीलको पहिरनमा श्रृंखलाको लागि सुटिङ गरिरहेको देखाइएको थियो । तस्वीरमा उनीसँगै दिग्गज अभिनेता असरानी पनि देखिएका छन् । यो सिरिज अर्को वर्ष रिलिज हुने अनुमान गरिएको छ ।

डब्बा कार्टेल

डब्बा कार्टेलले गोप्य र उच्च जोखिमका साथ औषधि कार्टेल सञ्चालन गर्ने पाँच महिलाको कथा बताउँछ । सिरिजमा शबाना आजमी, ज्योतिका, फरहान अख्तर, निमिशा सजयन, अञ्जली आनन्द, गजराज राव, साई ताम्हनकर, लिलेट दुबे र जिशु सेनगुप्ता जस्ता उत्कृष्ट कलाकार छन् । यो श्रृंखला फेब्रुअरी २०२४ मा घोषणा गरिएको थियो । सन् २०२५ मा प्रिमियर हुने अनुमान छ ।

Sharing Is Caring:

Leave a Comment