२०८१ पुष १७ गते
काठमाडौं । विश्वमणि घिमिरे र एलबी कट्वालको निर्देशनमा बन्ने टेलिसिरिज ‘गाउँ फर्क’को गीत सार्वजनिक भएको छ । अंग्रेजी नयाँ वर्ष-२०२५ को अवसर पारेर गीतको लिरिकल भिडियो रिलिज भएको हो ।
गीतको भिडियोमा मोहन निरौला, सुवास गजुरेल, उत्तम केसी, शुभेच्छा थापा लगायतलाई देख्न सकिन्छ । मुकुन्द मैनाली, मनमाया कटवाल, लक्ष्मीनाथ तिम्सिना, अशोक सिवाकोटी, अस्मिता बस्नेत, आशा भुसाल, इच्छा सिंह, प्रतीक्षा काफ्ले, मुभ थापा र चन्दा भट्टराईलाई पनि भिडियोमा देखाइएको छ ।
गीतमा शंकर अधिकारी घायलको शब्द, विकास चौधरीको सङ्गीत र नारायण थापाको स्वर छ । ‘गाउँ फर्क’ युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतले गाउँघरको कथा र विदेशिएका नेपालीको कथा भन्छ ।
निर्देशक घिमिरेका अनुसार यो टेलिसिरिज धनकुटाको महालक्ष्मी नगरपालिका-४, चानुवामा छायाङ्कन गरिने र नेपाल टेलिभिजनबाट चाँडै प्रसारणमा आउनेछ ।
भिडियोको सम्पादन उपेश कोइराला र सुरज ढकालले गरेका हुन् ।