‘सोनु निगमसँग सुटिङ गर्न पाउनु मूल्यवान् क्षण’

Dipa Bhatt

२०८१ पुष १२ गते 

काठमाडौं । क्रिसमस कन्सर्टले नेपालमा बलिउड पार्श्वगायक सोनु निगमको चर्चा छ । पछिल्लो पुस्तालाई कमै थाहा छ, निगमले नेपालमा छायांकन गरिएको फिल्म ‘लभ इन नेपाल’मा अभिनय पनि गरेका थिए । उनले ‘सिमाना’ लगायत फिल्मका लागि गाएका गीत लोकप्रिय छन् ।

जुन गीतसँगै उनी बुधबार बेलुकाको काठमाडौं कन्सर्टमा गुञ्जिए । उनले अभिनय गरेको ‘लभ इन नेपाल’ फिल्ममा पूर्वमिस नेपाल तथा अभिनेत्री झरना बज्राचार्य, अभिनेत्री शोभिता सिंखडा लगायतले अभिनय गरेका छन् । निगमको चर्चा काठमाडौंमा चुलिएको बेला अभिनेत्री तथा ओशोमार्गी सिंखडाले पोखरामा छायांकन हुँदाको समयको स्मरण गरेकी छन् ।

उनले पोखरामा छायांकन हुँदाको भिडियो सेयर गर्दै सोनु निगम जस्ता प्रतिभाशाली कलाकारसँग काम गर्न पाउनु, रमणीय वातावरणमा सुटिङ गर्नु र ओशोप्रतिको उहाँको प्रेम र जिज्ञासालाई नजिकबाट अनुभव गर्न पाउनु आफ्नो लागि अत्यन्तै मूल्यवान् क्षण रहेको उनले बताएकी छन् ।

सोनुलाई ओशोका बारेमा गहिरो जिज्ञासा रहेको र उनले आफूलाई ‘ओशोवाली’ भनेर बोलाउने गरेको सम्झिंदै शोभिताले आफ्ना गुरुको नामबाट चिनिंदा आफूलाई गर्व महसुस गरेको बताएकी छन् । शोभिताले फेसबुकमा सेयर गरेको भिडियोमा गुडिरहेको बसमा भएको संवादको दृश्य छ, जहाँ शोभिताले मोडलको भूमिका निर्वाह गरेकी छन् । त्यहाँ राजपाल यादव पनि देखिएका छन् ।

शोभिता फेसबुकमा लेख्छिन् :

नेपालमा अहिले सोनु निगमको चर्चा चलिरहँदा मलाई उहाँसँगको पुरानो सम्झना ताजा भयो । फिल्म ‘लभ इन नेपाल’को सुटिङका लागि हामी धेरै दिन पोखरामा सँगै थियौं । यस फिल्ममा मैले मोडलको भूमिका निभाएको थिएँ । सुटिङका क्रममा उहाँसँग भएको समय निकै विशेष थियो । सोनुजीलाई ओशोको बारेमा गहिरो जिज्ञासा थियो र उहाँले मलाई ‘ओशो वाली’ भनेर सम्बोधन गर्नुहुन्थ्यो । आफ्नो गुरु ओशोको नामबाट चिनिंदा मैले गर्वको महसुस गरेको छु ।

अहिले उहाँ नेपाल आउनु हुँदा धेरै सन्यासी साथीहरूले उहाँलाई तपोवन आउन निम्तो दिन आग्रह गर्नुभएको थियो । म उहाँको सेक्रेटरी सायरासँग बारम्बार सम्पर्कमा थिएँ । तर कार्यक्रमको व्यस्तताका कारण उहाँ एक दिन मात्र काठमाडौं आउनु भएकोले र हिजो दिउँसो नै फर्किनु पनि भएकोले समय मिलाउन सक्नुभएन । पछिल्लो समय उहाँले ओशोको बारेमा एक भिडियो पोस्ट गर्दै ओशो पढेपछि आफ्नो जीवनमा आएको परिवर्तनको चर्चा गर्नुभएको थियो । अर्को पटक समय मिलाएर तपोवन आउने कुरा भएको छ ।

सोनु निगमजस्तो प्रतिभाशाली कलाकारसँग काम गर्न पाउनु, पोखराको रमणीय वातावरणमा सुटिङ गर्नु र ओशोप्रतिको उहाँको प्रेम र जिज्ञासालाई नजिकबाट अनुभव गर्न पाउनु मेरो लागि अत्यन्तै मूल्यवान् क्षण थियो । काठमाडौंको यो चिसो मौसमलाई तताएर जानु भएको सोनु निगमलाई र कार्यक्रमलाई भव्य रूपमा सफल पार्नु भएकोमा आयोजकलाई हार्दिक बधाई ।

Sharing Is Caring:

Leave a Comment