२०८१ पुष ९ गते
काठमाडौं । मेला-महोत्सव, क्रिसमस र अंग्रेजी नयाँवर्ष २०२५ ले यतिबेला सांगीतिक माहोल गुल्जार छ । पप-रक जनराका कलाकार र ब्यान्ड क्रिसमस र अंग्रेजी नयाँ वर्षका कन्सर्टमा बढी व्यस्त छन् भने मूलधार भनिने सुगम संगीत र लोक क्षेत्रका संगीतकर्मीहरु देशभर आयोजना भइरहेका मेला-महोत्सवमा पूरै व्यस्त छन् ।
रचना रिमाल, शिव परियार, बद्री पंगेनी लगायतले सामाजिक सञ्जालबा सेयर गरेका सांगीतिक कार्यक्रमको सूची हेर्दा उनीहरु निकै व्यस्त देखिन्छन् ।
गायिका रचनाले मंगलबार बिहान देश तथा विदेशको तालिका समेटेर १० कार्यक्रम सार्वजनिक गरेकी छन् । पुस ९ गते तेस्रो खैरहनी महोत्सवबाट गुञ्जिने रिमालले त्यसपछि क्रमशः बर्दघाट महोत्सव, नयाँ बानेश्वरको पिंक पुतली लाइभ म्युजिक फेस्ट, दुबईमा हुने झापाली समाजको कार्यक्रम, ललितपुर महोत्सव, सिद्धार्थ होटल नेपालगञ्जको नयाँ वर्ष इभ, भित्रीकोट प्युठान महोत्सव, भानु नगर महोत्सव, पाल्पा र लेखनाथ महोत्सवमा प्रस्तुति दिने सेड्युल छ । २० पुसम्मै उनी व्यस्त छिन् ।
गायक बद्री ९ देखि २३ पुससम्मै व्यस्त छन् । उनले सोमबार बुटवलको औद्योगिक मेलामा प्रस्तुति दिए । त्यसपछि प्युठानको भित्रीकोट महोत्सव, कञ्चनपुरको बेलौरी महोत्सव, तनहुँको भानु महोत्सव, मेघौली चितवन, खैरहनी महोत्सव, पाल्पा महोत्सव, सेती लोकमार्ग पहिचान महोत्सव, कोहलपुर बाँके, बर्दघाट, मुसीकोट र कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति दिनेछन् ।
गायक शिवको व्यस्तता पनि गजबको छ । उनले मंगलबार दार्जीलिङको शीतकालीन महोत्सवमा आफ्ना हिट गीत प्रस्तुत गर्दैछन् । क्रिसमस इभको अवसरमा दार्जीलिङको टिस्टा भ्यालीमा महोत्सव हुँदैछ । उनले यो महोत्सवमा आफ्ना लोकप्रिय १२ गीत प्रस्तुत गर्ने जनाएका छन् ।
गायिका समीक्षा अधिकारीको क्रिसमस र अंग्रेजी नयाँवर्ष युरोपेली मुलुक पोल्याण्डमा हुनेछ । त्यहाँको वार्सामा नेपाली समुदायले आयोजना गरेको कार्यक्रममा सांगीतिक प्रस्तुति दिन उनी त्यता लागेकी छन् । एनआरएनए पोल्यान्डको सहयोगार्थ (नेपालीज लिभिङ इन ब्रोस्वाव)को आयोजना तथा मामा इभेन्ट्स र गुरुङ केएनएस इन्टरटेन्मेन्ट्सको प्रस्तुतिमा कार्यक्रम हुन लागेको हो ।
‘म त ढलें ढलें’बाट चर्चा बटुलेकी गायिका शान्तिरानी परियारको व्यस्तता पनि यतिबेला गजबको छ । विभिन्न मेला-महोत्सव र कार्यक्रममा उनले प्रस्तुति दिइरहेकी छन् ।
यस्तै गायक रामकृष्ण ढकालले शनिबार धनगढीमा आयोजना भइरहेको सुदूरपश्चिम महोत्सवमा प्रस्तुति दिए । गायिका अस्मिता अधिकारी, आस्था राउत, गायक हेमन्त शर्मा, हिमाल सागर लगायत पनि मेला-महोत्सवमा व्यस्त छन् ।