२०८१ पुष १८ गते
काठमाडौं । गायक प्रमोद खरेलका लागि सन् २०२४ खास रह्यो । त्यो वर्ष उनको ब्याण्ड ‘परम्परा’ले पुनर्जीवन पायो । साउदी अरबमा आयोजित ‘जेद्दा सिजन २०२४’ मा उनी ब्याण्डसहित गुन्जिए ।
त्यसयता खरेलको सांगीतिक करिअरले नयाँ मोड लिएको छ । ‘सोलो’ गायकको रुपमा परिचित उनको अग्लो कद नयाँ वर्षमा चुलिनेछ । किनभने उनले ब्याण्डसँग सांगीतिक माहोल सिर्जना गर्न प्रयत्न गर्नेछन् । यसको थालनी भइसकेको छ ।
२०२४ को उत्तरार्धमा भारतको आसाम र सिक्किमदेखि सुरु भएको प्रमोद र परम्पराको सांगीतिक माहोल जेद्दाको ‘कल्चरल ओडीसी’ कार्यक्रममा अझै गुल्जार बन्यो । जेद्दापछि ‘प्रमोद र परम्परा’ काठमाडौंको पोताला र किङ्स लाउन्ज, भैरहवाको टाइगर टपमा गुन्जिए ।
गुञ्जिने र गुञ्जाउने तालिका अझै बढ्दै जाने देखिएको छ । प्रमोद र परम्पराले विभिन्न जिल्लामा आयोजित मेलापर्व र महोत्सवमा प्रस्तुति दिंदैछन् । १९ पुसमा डुम्रेको भानु नगर महोत्सव, २९ पुसमा कास्कीको लेखनाथ महोत्सव, ६ माघमा प्रमोदले ब्याण्डसहित कन्सर्ट गर्ने तय भएको छ ।
रोचक कुरा के छ भने लेखनाथ वा थलीमध्ये कुनै एक कन्सर्टबाट ब्याण्डसहित नयाँ गीत रिलिज हुने तयारी छ । ‘परम्परालाई हामी तीव्ररुपमा अघि बढाउँदैछौं,’ प्रमोदले अनलाइनखबरसँग भने, ‘यीमध्ये कुनै एक कन्सर्टमा गीत रिलिज हुनेछ ।’ यो गीतको भिडियो बनाउन बाँकी रहेको उनले बताए ।
ब्याण्डको प्रस्तुतिमा संगीतको मजा र स्वाद
प्रमोदले करिअरमा दर्शकको बाक्लो उपस्थिति रहेका कन्सर्टमा प्रस्तुति दिए । स्वदेशदेखि डायस्पोरामा उनको कन्सर्टमा दर्शकको उपस्थिति लोभलाग्दो देखिन्छ ।
उनले पछिल्लोपटक सोलो हैन, ब्याण्डको सामूहिकतामा संगीत उत्पादन र प्रस्तुति दिइरहेका छन् । ‘सिंगल गर्दा सहजता हुन्छ तर ब्याण्डमा गर्दा वास्तविक कन्सर्ट गरेजस्तो महसुस हुन्छ,’ प्रमोदले भने, ‘दर्शकसँग जोडिने कुरामा कन्सर्टको महत्व धेरै छ । कुनै कन्सर्टका लागि भनेर हामी तयारी गर्छौं, अभ्यास गर्छौं र योजना सेयर गर्छौं । यसरी गर्दा फोकस भएर काम गरेको फिल हुन्छ ।’
उनी ब्याण्डसँगको कन्सर्टमा रचनात्मकता हुने बताउँछन् । ‘एकल र ट्रयाकमा प्रस्तुति दिंदा कुनै कुराको दबाब हुँदैन । क्रिएटिभिटी पनि बिल्कुल हुँदैन,’ उनले भने, ‘ब्याण्डमा आफूले अझै माझ्दै गयो भने अझै यसको स्वाद र संगीतको मजा र स्वाद बेग्लै आउँछ । अडियन्ससँग पनि कनेक्ट हुन्छ । अडियन्सले मलाई मात्र हेर्नुहुँदैन, मेरा म्युजिसियनलाई पनि हेर्नुहुन्छ ।’
उनी प्राविधिकरुपमा पनि ब्याण्डसहितको कन्सर्ट गुणस्तरीय हुने बताउँछन् । ‘रियल कन्सर्टको भाइब्स, साउन्डको क्वालिटी पनि फरक हुन्छ । ट्याकमा साउन्डको क्वालिटी हुँदैन,’ प्रमोदले भने, ‘रियल पर्फमरको रुपमा ब्याण्डमा प्रस्तुति दिंदा माहोल फरक हुन्छ । अडियन्सले सुन्ने तरिका पनि फरक हुन्छ । ब्याण्डमा चाहिं कुनै ठाउँमा कन्सर्ट गर्न हिंडेको फिल हुन्छ ।’
उनले ब्याण्डसहित प्रस्तुति दिंदा मुलुकको भिन्न कला संस्कृतिको शैलीलाई प्रस्तुत गर्न सकिने र यसको चार्म पनि बेग्लै हुने बताए ।
व्यावसायिक हैन, पहिचान झल्काउने कन्सर्ट
पछिल्लो समय नाम चलेका एकल कलाकारले पनि धमाधम ब्याण्ड गठन गरेकोबारे प्रमोदको आफ्नै खाले व्याख्या छ । उनी यसलाई कन्सर्टको स्तरोन्नतिको रुपमा व्याख्या गर्छन् ।
‘कन्सर्ट भनेको संगीतकर्मीसहितको हुनुपर्छ,’ उनले भने, ‘यो गर्न कठिन पनि छ । सोलो खर्चिलो हुँदैन । यसको बाबजुद पनि दर्शकले कन्सर्टको माहोल चाख्न पाउनुहुन्छ ।’
उनी ब्याण्डसहित प्रस्तुति दिंदा मोनोटोनस नहुने कुरा पछिल्ला संगीतकर्मीले बुझेको बताउँछन् । ‘हरेक कन्सर्टमा नयाँ ऊर्जा हुन्छ । कन्सर्ट गरेको फिल हुने भएर पनि ब्याण्डलाई अघि ल्याएका हौं,’ उनले भने ।
व्यावसायिक कन्सर्ट मात्र नभएर मुलुकको भिन्न संस्कृति र पहिचान झल्किने प्रस्तुति दिने तयारीमा आफू र आफ्नो ब्याण्ड रहेको प्रमोदले बताए । ‘नेपाली भाषाभाषी मात्र होइन, भूगोललाई प्रतिनिधित्व गर्ने, पहिचान झल्कने प्रस्तुति दिने ब्याण्डको तयारी छ,’ प्रमोदले भने ।
जे होस्, सन् २०२५ प्रमोद खरेल एण्ड परम्परा ब्याण्डको लागि खास हुने पक्का छ । यस वर्ष ब्याण्डको सक्रियता हुने त छ नै, दर्शकले नयाँ रचना पनि सुन्न, हेर्न पाउनेछन् ।