सार्वजनिक शिक्षामा सुधार खोज्दै माइतीघरमा उभिएका नेत्र

Dipa Bhatt

२०८१ पुष १८ गते

काठमाडौँ — समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाईले सार्वजनिक शिक्षा सुधारको माग राख्दै माइतीघर मण्डलामा दिनभर उभिएर धर्ना दिइरहेका छन् । सात वटै प्रदेशको राजधानीमा २/२ दिन उभिएर १४ दिन धर्ना दिएपछि काठमाडौँ आएका उनी गत आइतबारदेखि माइतीघरमा उभिएका छन् ।

सरकार र शिक्षा मन्त्रालयले भने आफूले उठाएका विषयप्रति चासो नदिएको उनले गुनासो गरे । पुसको मध्य चिसोमा उनी सडक पेटीछेउ बिहान १० बजेदेखि साँझ ५ बजे सम्म उभिन्छन् ।

उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन २०७५ को सुझावअनुसार शिक्षा ऐन शीघ्र जारी हुनुपर्ने उनको मुख्य माग छ । १५ बुँदे मागमध्ये चापागाईका अधिकांश माग सामुदायिक विद्यालय सुधारमा केन्द्रीत छन् । गत जेठमा पनि उनले माइतीघरमा दुई सातासम्म उभिएर धर्ना दिएका थिए । तत्कालीन शिक्षामन्त्री सुमना श्रेष्ठसँग सम्झौता भएपछि धर्ना टुंगिएको थियो ।

तर छ महिनासम्म सम्झौता कार्यान्वयन गर्न शिक्षा मन्त्रालयले तत्परता नदेखाएपछि दबाव दिन आफूले पुनः धर्ना सुरू गरेको उनले बताए । त्यसो त पहिलेको सम्झौता कार्यान्वयन गर्न उनले गत असोजमा शिक्षामन्त्री विद्या भट्टराईलाई भेटेर १४ बुँदे सुझाव समेत दिएका थिए ।

मन्त्री भट्टराईलाई नै भेटेर त्यसबारे ध्यानाकर्षण गराएपनि सुनुवाई नभएपछि उनले भट्टराईकै गृह नगर पोखराबाट धर्ना थालेर धनगढी, जनकपुर हुँदै उनी अहिले संघीय राजधानी काठमाडौं आइपुगेका हुन् ।

प्रारम्भिक बालबिकास (इसीडी) शिक्षालाई विद्यालय संरचनामा ल्याउनुपर्ने, विद्यार्थीलाई दिईने वार्षिक ४ सय रुपैयाँ छात्रवृत्तिको रकम वृद्धि गर्नुपर्ने, सामुदायिक विद्यालयलाई सय युनिटसम्म बिजुली र पानी निःशुल्क उपलब्ध गराउनुपर्ने, विद्यालयले पाउने प्रशासनिक खर्च लगायत रकम बढाउनुपर्ने, निःशुल्क शिक्षा उपलब्ध गराउनुपर्ने, शिक्षकलाई दलगत संगठनमा आवद्ध हुन दिन नहुने, पहाडी जिल्लाहरुमा आवासिय विद्यालय सञ्चालन गर्नुपर्ने, सामुदायिक विद्यालयका प्रधानाध्यापकले पाउने मासिक भत्ता वृद्धि गर्नुपर्ने, शिक्षा सुधारमा बजेट अभाव भए शैक्षिक सुधार कोष बनाउनुपर्ने लगायत माग उनले अघि सारेका छन् ।

उनको धर्नामा बुधबार पूर्वप्रधानमन्त्री बावुराम भट्टराई, पूर्वशिक्षामन्त्री तथा सांसद शिशिर खनाल लगायत उपस्थिति भएर करिब २ घण्टा उभिएर एक्यबद्दता जनाए । राजनीतिक दल, विद्यार्थी संगठन, नागरिक अभियान्ता, शिक्षक महासंघ, इसीडी शिक्षक र विद्यालय कर्मचारीले पनि ऐक्यबद्दता जनाउँदै आएका छन् ।

विद्यालय शिक्षा सम्बन्धी विधेयक अघिल्लो सरकारकै पालामा संसद्‌मा दर्ता भएको भएपनि पारित हुन सकेको छैन । संसद्को शिक्षा तथा समितिमा विधेयक विचराधीन छ । समितिले प्रदेशस्तरमा सुझाव संकलनको काम गरिरहेको छ । विधेयकमा इसीडी शिक्षालाई विद्यालय शिक्षाको संरचनामा समावेश गरिएको छैन । धर्नारत चापागाईले भने विद्यालय शिक्षाको मान्यता दिनुपर्ने र इसीडी शिक्षा सरकारको प्राथमिकताको बिषय हुनुपर्ने माग अघि सारेका छन् ।

इसीडी शिक्षा सुधार हुन सकेमात्र समग्र शिक्षामा सुधार आउने उनले बताए । इसीडी शिक्षामा राज्यले लगानी बढाउनुपर्ने, त्यहाँ पढाउने शिक्षकलाई आर्कषक सेवासुविधा दिनुपर्ने उनको माग छ । इसीडीका शिक्षकहरु न्यून पारिश्रमिकमा पठनपाठन गराउन बाध्य छन् ।

‘अहिले कांग्रेस एमालेको दुई तिहाईको सरकार छ ।, यो सरकारले चाह्यो भने शिक्षामा सुधार गर्न सम्भव छ,’ उनले भने, ‘उहाँहरुलाई सार्वजनिक शिक्षा सुधार गर्न कसले रोकेको छ ?’ ३५ हजार इसीडी सरकारले शिक्षकलाई न्यून पारिश्रमिकमा काममा लगाएको छ । उनीहरुले मासिक १५ हजार मात्र तलब पाउँछन् ।

२०६० सालदेखि विपन्न विद्यार्थीलाई वार्षिक ४ सय रुपैयाँ मात्र छात्रवृत्ति दिँदै आएकोमा त्यसलाई वृद्धि गर्नुपर्ने उनको माग छ । ‘२०५२ सालदेखि प्रधानाध्यापकले मासिक २ सय रुपैयाँ भत्ता पाउँदा रहेछन्,’ उनले भने, ‘वडा कार्यालयले सञ्चालन खर्च २ लाख पाउँछ । स्कुलले १० हजार मात्र पाउँछ ।’

आधारभुत विद्यालयले १० देखि २० र माध्यमिक विद्यालयले ३० हजार प्रशासनिक खर्च पाउँछन् । सार्वजनिक शिक्षा सुधारमा राज्यले ध्यान नै नदिने उनले गुनासो गरे । विद्यालय सञ्चालन खर्च वृद्धि गरी कम्तिमा १ लाख बनाउनुपर्ने उनको सुझाव छ ।

‘शहरका ठूला विद्यालयमा पानी र बिजुलीको बिल नै मासिक एक लाख भन्दा बढी उठ्छ,’ उनले प्रश्न गर्दै थपे, ‘सरकारले मन्दिरमा निःशुल्क बिजुली दिन्छ । विद्यालयलाई मासिक १ सय युनिट बिजुली निःशुल्क दिन किन सक्दैन ?’

माध्यमिक शिक्षा निःशुल्क भनेपनि परीक्षा, प्रमाणपत्रको नाममा सरकारले नै शुल्क लिने गरेकामा चापागाईले असन्तुष्टि जनाए । ‘सरकारले हाम्रो माग पुरा गर्न बजेट चाहिन्छ तर छैन भन्छ यसको पनि विकल्प दिएका छौं । शैक्षिक सुधार कोषमा १० अर्ब रकम जम्मा गर्न सकिन्छ । त्यसका लागि सीएसआर (कम्पनीहरुले जनहितका काममा गर्ने लगानी) लाई सदुपयोग गर्नुपर्छ ।’

चापागाईको धर्नामा ऐक्यबद्दता सहितको शैक्षिक बहस कार्यक्रममा पूर्वप्रधानमन्त्री बावुराम भट्टराईले राज्यले शिक्षालाई पहिलो प्राथमिकता दिन नसकेको बताए । शिक्षामा लगानी बढाएर उत्पादन र रोजगारीसँग जोड्न सकेमात्र देशको अर्थतन्त्रमा सुधार आउने उनले औंल्याए ।

शिक्षा र स्वास्थ्य सेवा पाउन नागरिकबीच विभेद हुन नुहने उनले औंल्याए । ‘सत्तामा रहेका ठुला दलबाट सुधार सम्भव छैन । नयाँ विचार र नेतृत्व चाहिन्छ,’ उनले भने । पूर्वशिक्षा मन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले सार्वजनिक शिक्षा सुधारको बिषय समुदाय देखि सदन सम्मको मुद्दा बन्नुपर्ने जनाए ।

‘सार्वजनिक विद्यालयमा पढ्ने विद्यार्थीको संख्या घट्दो छ । एउटा शिक्षा किनेर अर्को शिक्षा निःशुल्क छ । शिक्षाले नै दुई वटा समाज निर्माण गर्दै गएको छ,’ उनले भने । दलीय राजनीतिको जालोमा परेर शिक्षा प्रणाली झनझन धरासायी बन्दै गएको उनले बताए ।

नागरिक अभियन्ता डम्बर खतिवडाले शिक्षामा राज्यको लगानी नै अप्रर्याप्त गरेको गुनासो गरे । राज्य नागरिकको समस्या समाधान भन्दा पनि विभेद र बेथिति बढाउन लागेको आरोप उनले लगाए ।

विवेकशील साझा पार्टीका महासचिव रञ्जु दर्शनाले शिक्षा सर्वसुभल बनाउन राजनीतिक पार्टीहरु चुकेको भन्दै असन्तुष्टि व्यक्त गरिन् । ‘संविधानमा निःशुल्क शिक्षा लेखिएको छ । तर कार्यान्वयन भएको छैन,’ उनले भनिन्, ‘राज्यले नै नागरिकलाई ढाँट्दै आएको छ ।’

बृहत् नागरिक आन्दोलनका अभियन्ता शिशिर उप्रेतीले सार्वजनिक शिक्षालाई धरासायी र कमजोर बनाउन राजनीतिक दलका केही नेता र सत्तामा बसेकाहरु नै लागेको आरोप लगाए । नेपाल शिक्षक महासंघका उपाध्यक्ष शिक्षा सुधारका लागि सरकारले सम्झौता गर्ने गरेपनि कार्यान्वयनमा ध्यान नदिएको गुनासो गरे ।

सरकारले सामुदायिक विद्यालयमा शिक्षक दरबन्दी समेत दिन नसकेको उनले बताए । ‘विद्यार्थी भएका ठूला विद्यालयका शिक्षक छैनन् । विद्यार्थी नभएका विद्यालयमा शिक्षक छन् । सरकार स्थायी दरबन्दीको शिक्षक पठाउनुको सट्टा राहत, स्वयमसेवक शिक्षक पठाउँछ,’ ललितपुरकी इसीडी शिक्षक जयन्ती बस्नेतले इसीडी तहलाई विद्यालय शिक्षाको अभिन्न अंग बनाउन माग गर्दै भनिन् ।

‘तलब पनि भिख मागेर खानुपर्छ । राज्यले हामीलाई शिक्षक पनि नभनेर सहयोगी कार्यकर्ता भन्छ,’ उनले भनिन्, ‘हामी बालबालिकाको हेरालु मात्र हो कि के हो ? शिक्षा ऐनमा स्पष्ट पार्नुपर्छ ।’

Sharing Is Caring:

Leave a Comment