सचिनको निधनबारे शिव परियार : कुनै बालबालिकाले यस्तो नियति भोग्न नपरोस्

Dipa Bhatt

  २०८१ पुष १८ गते 

काठमाडौं । बालगायक सचिन परियारले बिहीबार बिहान अन्तिम सास लिए । सिभियर निमोनियाले पल्मोनरी ह्यामरेज भएका कारण उनको निधन भएको त्रिवि शिक्षण अस्पताल प्रशासनले जनाएको छ ।

१३ वर्षीय सचिनको निधनमा सामाजिक सञ्जालको टाइमलाइन शोकमा डुबेको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले उनको निधनमा दुःख व्यक्त गर्दै यस्तो नियति दोहोरिन नहुने धारणा राखिरहेका छन् ।

कलाकारले पनि उनको निधनमा शोक व्यक्त गरिरहेका छन् । गायक शिव परियारले ‘फेरि कुनै पनि बालबालिकाले सचिनको जस्तो नियति भोग्न नपरोस् भन्दै श्रद्धाञ्जली दिएका छन् ।

उनी लेख्छन्, ‘फेरि पनि कुनै बालबालिकाले सचिनले भोगेको जस्तै नियति भोग्न नपरोस् । हार्दिक श्रद्धाञ्जली सचिन । तिम्रो आत्माको स्वर्गमा बास होस्, यही प्रार्थना गर्दछु ।’

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानकी अध्यक्ष रीता थापामगरले प्रभायुक्त प्रतिभाको मुना कलिलैमा चुँडिएको उल्लेख गरेकी छन् । उनी लेख्छिन्, ‘प्रिय सचिन, तिमी अस्तायौ । तिम्रो प्रतिभा पनि तिमीसँगै हरायो । प्रभायुक्त प्रतिभाको मुना कलिलैमा चुँडियो । अर्को जुनी अद्वितीय प्रतिभासँगै पूरा आयु लिएर आउनु । तिम्रो आत्माको चीरशान्तिको कामना गर्दछु ।’

हास्य कलाकार सन्दीप क्षेत्री लेख्छन्, ‘एउटा बालक जस्ले आफ्नो बालापनको अनुभूति गर्न नपाएरै अस्ताए ।’

चर्चित बालगायक सचिनको उपचारको क्रममा बिहीबार बिहान १०:४५ बजे त्रिवि शिक्षण अस्पतालमा निधन भएको हो ।

सचिनले अभिनेता राजेश हमालसँग एक म्युजिक भिडियोमा अभिनय गरेका थिए । हास्य श्रृंखला ‘मेरी बास्सै’मा पनि अभिनय गरेका थिए । ‘रातो रबर एक’, ‘रुमाल खस्छ कि’, ‘के छ र हजुर’, ‘बरको छायाले’ लगायत उनले गाएका प्रमुख गीत हुन् ।

Sharing Is Caring:

Leave a Comment