फिल्ममा १० वर्ष पुगेपछि प्रदीप खड्का : ‘आउटसाइडरको रुपमा यात्रा चुनौतीपूर्ण रह्यो’

Dipa Bhatt

  २०८१ पुष १७ गते 

काठमाडौं । प्रदीप खड्काको फिल्म करिअरले गत मे महिनामा दशक पुरा गरेको छ । उनले निर्माताको रुपमा फिल्म करिअर थालेका थिए । उनले निर्माण गरेको फिल्म थियो- ठूलो मान्छे ।

उनको अभिनय करिअरले फेब्रुअरी, २०२५ मा दशक पुरा गर्नेछ । अभिनेताको रुपमा उनको डेब्यु फिल्म ‘इस्केप’ सन् २०१५ मा रिलिज भएको थियो । उनको आगामी फिल्म १६ माघमा रिलिज हुनेछ ।

यो सन्दर्भमा उनले सामाजिक संजालमा भिडियो सन्देशमार्फत करिअर र आगामी समयबारे चर्चा गरेका छन् । फिल्म क्षेत्रसँग कुनै नाता र पृष्ठभूमि नै नभएको ‘आउटसाइडर’को रुपमा आफ्नो फिल्म यात्रा धेरै चुनौतीपूर्ण रहेको उनले बताएका छन् । ‘फिल्मको यात्रा विस्तारै सिक्दै गैरहेको छु’ उनले भनेका छन् ।

‘प्रि-प्रोडक्सन, प्रोडक्सन, पोस्ट प्रोडक्सन जस्ता कुरालाई मैले सजिलै लिँदै गएँ, एक कामको रूपमा । तर, योभन्दा चुनौतीपूर्ण कुरा थियो- फिल्म बन्छ कि बन्दैन, यसको फिल्म चल्छ कि चल्दैन आदि,’ उनले सम्झिएका छन् । उनले फिल्म चल्ने वा नचल्ने कुरा दर्शकले मात्र गर्न सक्ने टिप्पणी गरेका छन् ।

‘यतिबेलासम्म मैले बुझेको भनेको फिल्म बन्छ कि बन्दैन त्यो परिस्थिति र मेकरमा भर पर्ला, तर फिल्म चल्छ वा चल्दैन त्यो निर्णय केवल दर्शकहरूले मात्र गर्न सक्नुहुन्छ’ उनले भनेका छन् ।

उनले जीवन र अभिनय यात्रालाई मुटुको चालको रुपमा व्याख्या गरेका छन् । भन्छन्, ‘जीवनमा उतारचढाव, चुनौतीहरू भएनन् भने सायद त्यो मुटुको चालको ग्राफ जस्तो हुन्छ होला, जबसम्म उतारचढाव छ तबसम्म जीवित, जब त्यो ग्राफ सीधा हुन्छ तब मृत शरीर । त्यसैले म गर्व गर्छु, मेरो जीवनमा ती उतारचढावहरू थिए । अभिनय यात्रामा कहिले माथी त कहिले तल हुँदै अगाडि बढ्न पाएँ । र, हमेशा तपाईंहरूबाट साथ सहयोग पाएँ ।’

जादुयी यात्रा र संसारको हिस्सा बन्न पाएकोमा उनले खुसी साट्दै यो यात्रामा उतारचढाव महसुस गरेको बताएका छन् । उनले आफ्नो एक्टरको यात्राभन्दा फिल्म ‘एक्टर’मा आफ्नो यात्रा रोचक लाग्न सक्ने पनि भिडियोमा बताएका छन् ।

Sharing Is Caring:

Leave a Comment