सूर्यदर्शन सहकारी ठगी प्रकरण : बाबु–छोरी नै हिरासतमा

Hema Nath

कृष्णबहादुर र पूर्वसांसद मीना कसरी मुछिए सूर्यदर्शन सहकारीमा ?

धनसम्पत्ति मात्रै होइन, सामाजिक प्रतिष्ठासमेत आर्जन गरेको तथा सामाजिक सेवामा क्रियाशील रहेको लाहुरे परिवारका कृष्णबहादुर उनकी छाेरी पूर्वसांसद मीना सहकारीको बचत अपचलनमा जोडिएर हिरासत पुगेका छन् ।

११ पुस, पोखरा । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा बुबा कृष्णबहादुर र पूर्वसांसदसमेत रहेकी छोरी मीना गुरुङ कास्की प्रहरीको हिरासतमा छन् ।

८० वर्षीय कृष्णबहादुर अवकास प्राप्त बेलायती सैनिक हुन् भने ६२ वर्षीया मीना गण्डकी प्रदेश सभाकी पूर्वसदस्य हुन्। बेलायती परिवारमा हुर्किएकी उनका पति पनि बेलायती पूर्वसैनिक हुन् ।

धनसम्पत्ति मात्रै होइन, सामाजिक प्रतिष्ठासमेत आर्जन गरेको तथा सामाजिक सेवामा समेत क्रियाशील रहेको यो लाहुरे परिवारका बाबु–छोरी अहिले भने सूर्यदर्शन सहकारीमा भएको बचत अपचलनमा जोडिएर हिरासतमा पुगेका छन् ।

उनीहरू सूर्यदर्शन सहकारीसँग कसरी जोडिए र हिरासतमा पुग्ने अवस्था कसरी बन्यो ? पोखरा महानगरले गरेको वित्तीय विश्लेषण, प्रहरी अनुसन्धान प्रतिवेदन र अदालतमा दर्ता भएको अभियोजन–पत्रले यसको केही हदसम्म जवाफ दिन्छ ।

२०६५ सालको सुरुआततिर देशभर सहकारीको सञ्जाल विस्तार गर्दै गइरहेका ज्ञानबहादुर बम्जन पोखरा पुगेका थिए । दोस्रो विश्वयुद्धसमेत लडेका दर्जबहादुर तामाङका छोरा डीबी बम्जन र उनकै भाइ ज्ञानबहादुरसहित उनको परिवारले सहकारीको जालो विस्तार गर्दै लाने क्रममा पोखरामाथि नजर लगाइरहेका थिए ।

उनीहरूले पूर्व गोर्खा सैनिकहरूलाई सहकारीको विस्तार गर्ने माध्यम बनाइरहेका थिए । गोर्खा ग्रुपकै सहभागितामा काठमाडौंमा धमाधम सहकारी खोलेको यो समूहका मुख्ययोजनाकारमध्येकै डिबी बम्जनका भाइ ज्ञानबहादुरको सम्पर्कमा थिइन्, पोखराकी आरती गुरुङ । जो त्यतिबेला कास्कीको सौन्दर्यकर्मीहरुको संस्थामा उपाध्यक्ष थिइन् ।

त्यही संस्थाको संस्थापक अध्यक्ष थिइन्, मीना गुरुङ । पोखरामा हङकङ ब्युटिपार्लरसमेत चलाउँदै कहिले बेलायत, कहिले हङकङ गरिरहने मीनालाई पहिलोपटक सहकारी खोल्ने प्रस्ताव लिएर आरती गुरुङले ज्ञानबहादुरलाई भेटाएकी थिइन् ।

आरतीका श्रीमान् राजेश गुरुङ दार्जलिङका थिए। त्यही माध्यमबाट आरतीको भेट ज्ञानबहादुर, जीबी राई समूहसँग भएको अनुसन्धानकर्ताहरूले बताउने गरेका थिए भने यही बयान कृष्णबहादुरले दिएको सरकारी वकिलको कार्यालयले अदालतमा पेश गरेको अभियोजन पत्रमा पनि उल्लेख छ ।

ज्ञानबहादुर, राजेश गुरुङहरूको अगुवाइमा १ असार २०६५ मा प्रारम्भिक भेला गरेर तदर्थ सञ्चालक समिति गठन भएको थियो। तदर्थ समितिको अध्यक्ष नै मीना गुरुङ थिइन् भने उपाध्यक्षमा उनकै बुबा कृष्णबहादुर गुरुङ थिए । सेती सुनार सचिव र आरती गुरुङ कोषाध्यक्षमा बनेकी थिइन् ।

अपचलनको सामूहिक दायित्व कायम हुने दाबी

उनीहरूमाथि सहकारीको पदाधिकारीमा रहँदा भएको अपचलनको सामूहिक दायित्व कायम हुने अभियोजनमा छ। ५३ लाख ७६ हजार तीन सय ८ रुपैयाँ २० पैसा उनीहरूको दायित्वमा छ ।

‘यी प्रतिवादीहरू सञ्चालक समितिको पदाधिकारी रहेको अवस्थामा के–कति बचत अपचलन भएको रहेछ भनी मिसिल संलग्न रहेको पोखरा महानगरपालिको वित्तीय विश्लेषण अध्ययन गर्दा प्रक्रिया पूरा नगरी लगानी भएको एक करोड ५४ लाख ४९ हजार आठ सय ३६ रुपैयाँ ६ पैसा कर्जा हालसम्म पनि असुली हुन नसकेको देखिन्छ,’ अभियोजनपत्रमा उल्लेख छ ।

‘सो अवधिमा प्रतिवादीमध्येकै ज्ञानबहादुर बम्जनले २६ लाख ७० हजार आठ सय ७१, प्रतिवादी लीलाबहादुर गुरुङले २६ लाख ७७ हजार चार सय नौ रुपैयाँ ३२ पैसा, देवेन्द्रबाबु राईले १० लाख, १५ हजार, सात सय ८९ रुपैयाँ ९१ पैसा र गितेन्द्रबाबु राईले आफू र आफ्नो श्रीमती भगवती बम्जनको नाउँमा गरी ३७ लाख, नौ हजार चार सय ६८ रुपैयाँ ४९ पैसासमेत गरी एक करोड ७३ हजार, पाँच सय ८७ रुपैयाँ एकासी पैसा समेतलाई घटाउँदा बाँकी हुन आउने ५३ लाख ७६ हजार तीन सय आठ रुपैयाँ २० पैसा उल्लेखित प्रतिवादीहरू ज्ञानबहादुर बम्जन, मीना गुरुङ, सूर्यध्वज न्यौपाने, आरती गुरुङ, पेशलकुमार राई, कृष्णबहादुर गुरुङ, लीलाबहादुर गुरुङ, सकुन्तला गुरुङ, मिश्रकुमारी गुरुङ र रितु ताम्रकारको सामूहिक दायित्व कायम हुने नै देखिन्छ,’ कास्की जिल्ला अदालतमा दायर भएको थप अभियोजन पत्रमा भनिएको छ ।

तेस्रो साधारणसभाबाट जीबीको प्रवेश

तदर्थ समिति गठन भएको करिब तीन महिना अगावै २७ भदौ २०६५ मा पहिलो साधारण सभा बसेको थियो। त्यसबाट अध्यक्ष बनेका थिए, ज्ञानबहादुर बम्जन । तदर्थ समितिको उपाध्यक्षमा छोरी मीना गुरुङ र सदस्यमा बाबु कृष्ण बसे । सचिवमा सूर्यध्वज न्यौपाने र कोषाध्यक्षमा आरती गुरुङ दोहोरिएकी थिइन्। ज्ञानबहादुर बम्जन हुँदै ६ पुस २०६७ को तेस्रो साधारणसभाबाट अध्यक्ष जीबी राई, उपाध्यक्षमा देवकुमार नेपालीको प्रवेश भएको थियो ।

जीबी र देवकुमारको सम्बन्धमा दरार आएपछि सूर्यदर्शन छाडेर देवकुमारले इमेज सहकारी खोल्नतिर लागे भने जीबी आफ्नै इसारामा पारिवारिक सदस्य तथा आफ्ना समूहका व्यक्तिलाई नै प्रमुख भूमिका दिएर सूर्यदर्शनमा रजगज गरिरहे ।

अदालतमा दर्ता भएको अभियोजनअनुसार स्थापनाकालमा जोडिएका बाबुछोरी कृष्णबहादुर र मीना पछि भने कुनै भूमिकामा छैनन् । अभियोजन पत्रअनुसार उनीहरूको तिर्नुपर्ने ऋण र कारोबारसमेत छैन। तर, स्थापनाकालमै प्रमुख भूमिकामा रहँदा भएको आर्थिक अपचलनको दायित्व भने उनीहरूको पनि कसुरमा परेको छ ।

यस्तो छ, कृष्णबहादुरको बयान

कृष्णबहादुरले छोरी मीनाकी साथी आरती गुरुङका श्रीमान् राजेश गुरुङले ब्रिटिस लाहुरेको घरघरमा आएर भूपू सैनिकहरूसँग मिलेर सहकारी चलाउन सहयोग मागेको बयान दिएका छन् ।

आफूहरूको सहयोग माग्दै आवश्यक परेका बेला बैंकहरूले भन्दा राम्रो ब्याज दिने बताएपछि ब्रिटिस लाहुरेहरू मिलेर २५/२५ हजार रुपैयाँ दिएपछि सहकारीको भेला डाकिएको कृष्णबहादुरको बयान कास्की अदालतमा दायर भएको अभियोजन पत्रमा छ ।

राजेशकै सक्रियतामा पोखरा–८ सिर्जनाचोकमा घर भाडामा लिएर संस्थाको कार्यालय व्यवस्थापन गरिएको, त्यस बेला संस्थाको व्यवस्थापनको काम राजेशले नै हेर्ने गरेको भन्दै कृष्णबहादुरले कार्यालय खुलेपछि भने आफू बेलायत गएको र सन् २०१० मा फर्किएको बयान दिएका छन् ।

‘२०६८ सालमा नेपाल आउँदा राजेश गुरुङले सहकारीको बचत रकम तथा ऋणीहरूबाट उठाएको रकम संस्थामा जम्मा नगरी आफैँले लिएर भाग्यो भन्ने कुरा थाहा पायौँ। त्यसपछि सहकारीको कार्यालय पुग्दा राजेश गुरुङ सो स्थानमा थिएन,’ कृष्णबहादुरले बयानमा भनेका छन्, ‘त्यसपछि मैले लगानी गरेको २५ हजार पैसा फिर्ता मागी उक्त सहकारीमा जान छाडेको थिएँ ।’

गत सोमबारबाट कास्की जिल्ला अदालतमा कृष्णबहादुरसहित पाँचजनाको थुनछेक बहसको क्रममा बयान चलिरहेको छ।

ज्ञानबहादुर बम्जनको नेतृत्वमा छोरी मीना र आफू सदस्य रहेको कार्यकालमा एक करोड ५४ लाख ४९ हजार आठ सय ३६ रुपैयाँ हिनामिना भइहालसम्म उक्त रकमको साँवा व्याज सहकारीमा फिर्ता नभएको कुरा पक्राउ परेपछि मात्रै थाहा पाएको कृष्णबहादुरको भनाइ छ। सो रकम ब्यहोर्ने जिम्मेवारी अपचलनकर्ताको हुने तर पदीय जिम्मेवारीमा रहेकै कारण आफ्नो जिम्मेवारी र दायित्व ब्यहोर्न तयार रहेको कृष्णबहादुरले बयानमा उल्लेख गरेका छन् ।

कृष्ण गत २१ मंसिरमा पक्राउ परेका हुन् भने छोरी मीना र त्यही कार्यकालमा कोषाध्यक्ष रहेकी आरती गुरुङ मंगलबार पक्राउ परेका हुन् ।

थुनछेक बहसको बयान जारी

गत सोमबारबाट कास्की जिल्ला अदालतमा कृष्णबहादुरसहित पाँचजनाको थुनछेक बहसको क्रममा बयान चलिरहेको छ। गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, जीबी राइसँग मिलेर सहकारीको अपचलन गरेको आरोप लागेकी लीला पछाईँको बयान सकिएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, जीबी राइका साझेदार नेचर हब्र्सका सञ्चालक रामबहादुर खनाल र कृष्णको बयान बाँकी छ ।

बयान चलिरहँदा चारजनालाई प्रहरीले अदालत उपस्थित गराएको छ भने ८० वर्षीय विरामी कृष्णको पोखरा फिस्टेल अस्पतालमा उपचार भइरहेकाले अदालत उपस्थित गराइएको छैन ।

सूर्यदर्शन सहकारी ठगीमा संस्था र व्यक्ति गरेर ६३ जनाविरुद्ध थप अभियोजन अदालतमा दर्ता भएको छ। त्यसलगत्तै सोमबारबाट बयान सुरु भएको हो। गत १८ असोज, २०८० मा राईलगायतको समूहविरुद्ध मूलमुद्दा दायर भएको थियो ।

आरोपित्हरूमाथि करिब एक अर्ब ५१ करोड रुपैयाँ बिगो मागदावी गरिएको छ। सूर्यदर्शन सहकारीको रकम ठगी भएको विषयमा प्रहरीले पोखरा महानगरपालिकाको अध्ययन प्रतिवेदन, संसदीय विशेष समितिको प्रतिवेदनसमेतलाई आधार मानेर थप अनुसन्धान अघि बढाएको थियो ।

Sharing Is Caring:

Leave a Comment