दाङमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

Hema Nath

१० पुस, घोराही (दाङ) । दाङमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बुधबार दिउँसो गढवा गाउँपालिका–५ कक्रहवास्थित गढवा कोइलावास सडकखण्डमा भएको दुर्घटनामा परेर अन्य दुईजना घाइते भएको प्रहरीले जनाएको छ ।

कोइलावासतर्फ जाँदै गरेको रा १ ह ५९०४ नम्बरको अटो अनियन्त्रित भई दुर्घटना भएको थियो ।

दुर्घटनामा परेर राजपुर गाउँपालिका–३ भैसहवा निवासी वर्ष ५० का तुलाराम विकको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक ईश्वर थापाले बताए ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दिउँसो ३ः३० बजे उपचारका क्रममा उनको मृत्यु भएको हो ।

उक्त दुर्घटनामा घाइते भएका सोही ठाउँका अन्दाजी ४० वर्षीया वसन्ती विकको लमही अस्पतालमा र राजपुर–४ का अन्दाजी वर्ष ३६ का प्रेमचन्द्र यादवको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ ।

अटो चालक राजपुर गाउँपालिका–तीन भैसहवा निवासी वर्ष ४० का मदन विक प्रहरीको नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Sharing Is Caring:

Leave a Comment