काठमाडौं: भक्तपुरमा हिजो मृत भेटिएका बाबुछोराको हत्यारा मृतक कुलप्रसादका जेठो छोरोले प्रहरीमा आत्मसमर्पण गरेका छन्। हत्यापछि बेपत्ता जेठा छोरा मिलन आचार्य आज आफैं महाराजगञ्ज प्रहरी वृत्तमा पुगेर आत्मसमर्पण गरेका हुन्।
प्रहरीका अनुसार उनले बुबा र भाईको हत्या गरेको स्वीकारेका छन्। शनिबार साँझ खाना खाएर बाबु कुलप्रसाद र जेठो छोरो मिलन एउटा कोठामा, कान्छो छोरो प्रवीण अर्को कोठामा सुतेका थिए। मिलनले सोही रात दुबैको हत्या गरेको र शव हिजो फेला परेको हो।
हत्यापछि मिलन अस्ति बिहान ३ बजे नै कोठामा बाहिरबाट ताल्चा लगाएर निस्किएको भक्तपुर प्रहरी परिसरका प्रमुख एसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए। उनका अनुसार मिलन चढेको इनड्राइभ मोटरसाइकल कोटेश्वर हुँदै सातदोबाटोतिर गएको थियो। ‘सिसिटिभी फुटेजको आधारमा उसले प्रयोग गरेको मार्गहरु पत्ता लगायौं’, एसपी न्यौपानले भने, ‘हाम्रो अनुमान सही थियो, उनले किन हत्या गरे, सोधपुछ गर्दैछौं।’
प्रहरीका अनुसार मिलनले आत्मसमर्पणपछि प्रेमिकासँग झगडा परेको र सोही तनाबमा विवेक गुमाएर हत्या गरेको बताएका छन्।