९ पुस, काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका-२, बालकोटमा बाबुछोरा मृत भेटिएको प्रकरणमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।
हुलाक कार्यालयका कर्मचारी कुलप्रसाद आचार्य र उनका छोरा प्रवीणको हत्याबारे अनुसन्धान गरिरहेको प्रहरीले जेठा छोरालाई पक्राउ गरेको स्रोतले अनलाइनखबरलाई बतायो । उनलाई महाराजगञ्जबाट पक्राउ गरिएको हो ।
उनले हत्यामा आफ्नो संलग्नता समेत स्वीकार गरिसकेको स्रोतले जनाएको छ ।
गत शनिबार कुलप्रसादसँगै उनका दुई छोरा जेठा मिलन र कान्छा प्रविणसँगै खाना खाएर बालकोटस्थित आफ्नो डेरा कोठामा सुतेका थिए । उक्त फ्ल्याटमा चार कोठा रहेकोमा दुई कोठामा भने अन्य व्यक्तिहरू भाडामा बस्दै आएका थिए । शनिबार खाना खाएर सुतेका उनीहरूको कोठा आइतबार बिहानै बाहिरबाट ताला लागेको थियो ।
कोठामा बाहिर ताला लागेकाले उक्त फ्ल्याटमा बस्ने अन्य व्यक्तिहरूले कतै गए होला भन्ने आशंका गरेका थिए । तर, आइतबार दिनभर, राति र सोमबार बिहानसम्म पनि केही चालचुल नभएपछि उनीहरूले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी घटनास्थल पुगेर ढोकाको ताला फोडेर हेर्दा बाबुछोरा छुट्टाछुट्टै कोठामा मृत अवस्थामा भेटिएका थिए ।