कांग्रेस–एमाले गठबन्धन : अन्तर्य एउटा, भनाइ अर्कै 

Hema Nath

कांग्रेस–एमाले सत्ता बाँडफाँटका भित्री अन्तर्यहरू बाहिर ल्याउन नमिल्ने हुनाले बाहिर ल्याउन मिल्ने कुरा खोजी गर्दा संविधान संशोधन भेटिएको हो । उत्तम त के हुन्थ्यो भने अहिले उनीहरू जे गरिरहेका छन् ‘यसै गर्न हामी मिलेका हौं’ भन्न सक्नुपर्थ्यो ।

‘सौता–सौता मिले भने गफ गरेर, मिलेनन् भने झगडा गरेर समय कटाउँछन्’ यो पुरानो भनाइ नेका–एमाले गठबन्धन सरकारका हकमा पूर्णतः लागू भएको देखिन्छ । हाल नेका-एमाले यसरी र यति गहिरो मिलापमा छन् कि उनीहरूको समय गफ गरेर बितिरहेको छ ।

यी दुवै दल नमिलेको अवस्थामा बाझेर समय व्यतीत गरेका थिए । नेका–एमाले मित्रता र गठबन्धनको वस्तुपरक आवश्यकता सन्दर्भमा बहस गर्ने सैद्धान्तिक आधार भेट्टाउन कठिन छ । यस मित्रालापको  सारभूत सत्य के हो भने ओली र देउवालाई अचानक मिल्न मन लाग्यो मिले ।

एकले अर्कालाई फोन गरे, भेट्ने समय मिलाए, निर्धारित समयमा भेट भयो, ‘लु हामी मिलेर सरकार बनाऊँ’ भने, सरकार बन्यो । हिजो जिन खाइएको थियो, आज रम खाउँ भने जस्तै हो, यो मिलाप । माओवादी नामको सुन्दरीको बाहुपासबाट मौसमी मोहभंग हो, नेका–एमाले वर्तमान गठबन्धन ।

जहाँ राजनीति हुन्छ, त्यहाँ केही न केही सिद्धान्तका सूत्र हुन्छन् नै । सिद्धान्तको सूत्रका लागि सातबुँदे समझदारीपत्र तयार पारियो । ओली–देउवाका वरिपरि सबै किसिमका सम्झौता मस्यौदा गर्न सक्ने ‘क्षमतावान्’ हरूको कुनै कमि छैन । ‘युहिं’ तयार हुन्छन् सम्झौताका दस्तावेज । उसै पनि २०६५ साल यताको नेपाल दलहरूबीच तमसुक लेखाइमै केन्द्रित छ ।

यी सबै तमसुकहरूको हिसाब गर्ने हो भने एउटा मोटै ठेली बनिसकेको होला । प्रत्येक नयाँ तमसुक अर्को पुरानो तमसुकसँग बाझिन्छ र पुरानो तमसुकको कुनै खास पक्ष र त्यसका साक्षी प्रमाणमाथि संयुक्त लाञ्छित गर्नु यी सबै तमसुकहरूको आधारभूत चरित्र हुन गएको छ । सहमति नामका यी तमसुकहरूका आधारमा सरकार फेरिएका छन् र प्रत्येक पटक दलमा लागेका केही केटाहरूले नयाँ मन्त्रीको शपथ गर्न पाएका छन् ।

संसारमै दलहरूबीच गठबन्धन गरिन्छ । गठबन्धन गर्नुअघि न्यूनतम साझा कार्यक्रम बनाइन्छ । गठबन्धनका दलहरूले सो साझा कार्यक्रमको अपनत्व ग्रहण गर्छन् । गठबन्धनले नीति प्रक्षेपणको रणनीतिक कार्ययोजना तयार पार्छ । चुनावपछि प्रस्तावित गठबन्धनले सरकार बनाएको अवस्थामा गर्ने कामहरूको सूची बन्छन् ।

तर, नेपालमा नेका–एमालेभित्र यति धेरै वैमनस्यता र आरोप प्रत्यारोपको शृंखला जारी राखेर सरकारमा गरिने सहभागिताबाट प्रधानमन्त्री खड्गप्रसाद ओलीको समृद्धिको सपना सोम शर्माको सातुको कथामा गएर टुंगिनु अपरिहार्य छ ।

नेका–एमाले बीचका सैद्धान्तिक असहमतिलाई नजरअन्दाज गरेर बनाइएको गठबन्धन राज्य वा सरकारको चरित्र सुधारमा केन्द्रित हुन असम्भव लाग्छ । किनकि दुवै दलहरूमा समाजका प्रत्येक चुनौतीलाई पर्गेल्ने दृष्टिकोणमा ठूलो भिन्नता र व्यापक असमानता विद्यमान छ ।

ध्रुवसत्य के हो भने गठबन्धनहरू सिद्धान्तमा भन्दा अवसरवादमा विश्वास गर्दछन् । गठबन्धनको भित्री चाहना गठबन्धनको अर्को पक्षबाट आफ्नो हितमा काम गराउनु हो । ओलीबाट आफ्नो काम गराउने नेकाको चाहना र नेकाबाट आफ्नो हितार्थ काम गराउने ओलीको चाहना लुकेको छैन । भाषणमा भनिरहने विषय होइनन्, आकांक्षाका यी अन्तर्यहरू ।

ओलीमा गठबन्धन वा ठूलो शक्तिको नेतृत्त्व गर्ने क्षमता हुन्थ्यो भने नेकपा टुट्ने थिएन । एकीकृत समाजवादीको जन्म पनि ओलीले रोक्न खोजेनन् । प्रतिस्पर्धीहरूका खुट्टा भाँचिए म दौड जित्ने थें भन्ने मनोगत आकांक्षा हो उनको । अनि उनले नेकासँगको मिलापलाई कुन चातुर्य प्रयोग गरेर जारी राख्छन् ?

वामपन्थीहरू देशको सापेक्ष शक्तिको तुलनामा हुँकार बढी गर्छन् । यस्तो हुँकार घरेलु राजनीति र विदेशनीतिमा परावर्तन हुन जान्छ । दलीय दृष्टिकोणमा पनि वामपन्थीहरू आफ्नो दलको वस्तुगत क्षमताभन्दा आफूलाई बढी आँकिरहन्छन् ।

यसका पछाडि केही सैद्धान्तिक कारण छन् । उनीहरू समाजको ठूलो हिस्सालाई आफूले प्रतिनिधित्व गरेको भ्रमबाट पूर्णतः नियन्त्रित हुन्छन् । यस भ्रमले उनीहरूलाई आफ्नो वास्तविक शक्ति र क्षमता पहिचान गर्नै दिंदैन ।

नेपालको संविधानले सीमित क्षेत्राधिकारको सरकारको परिकल्पना गरेको हो । सरकारको तथाकथित सर्वव्यापकता र सर्वशक्तिलाई संविधानले संकुचन गरेको छ । संविधानका लिपिबद्ध यिनै प्रावधान कार्यान्वयन गर्ने हो भने दुई तिहाइ मत तुकसिद्ध कुरा होइन ।

जहाँसम्म सातबुँदे समझदारी र संविधान संशोधनको विषय छ त्यो खासमा दुई कारणबाट निर्देशित छ । पहिलो, नेका–एमालेमा रहेको मनोवैज्ञानिक त्रासको उपचार खोज्नु र दोस्रो, दोष संविधान र राजनीतिक प्रणालीलाई दिनु ।

नेपालको राजनीतिमा कुनै अमूक समस्या आफैं खडा गरी त्यसको समाधान खोज्दैछौं भन्ने प्रमाणित गर्नमै दलहरूले वितेका १६ वर्ष खर्च गरे । कांग्रेस–एमालेहरूको सत्ता बाँडफाँटका भित्री अन्तर्यहरू बाहिर ल्याउन नमिल्ने हुनाले बाहिर ल्याउन मिल्ने कुरा खोजी गर्दा संविधान संशोधन भेटिएको हो । योभन्दा उत्तम त के हुन्थ्यो भने अहिले उनीहरू जे जे गरिरहेका छन् यसै गर्न हामी मिल्ने हो भन्न सक्नुपर्थ्यो ।

अब तलको तालिकामा हेरौं, नेका–एमालेका फरक अवधारणाहरू :

नेका–एमाल बीचका सैद्धान्तिक र व्यावहारिक रूपमा तीक्ष्ण मतभेदहरू
नेकपा एमालेनेपाली कांग्रेस
– दलको मार्गदर्शक सिद्धान्त माक्र्सवाद लेनिनवाद हुनेछ ।– नेपाली सर्वहारा र श्रमजीवी वर्गको राजनीतिक अगुवा र प्रतिनिधि संस्था हो ।– मार्क्सवाद लेनिवादप्रति प्रतिबद्धहरू सदस्य हुन सक्नेछन् ।– न्यायालयको चीरहरण गर्ने अगुवाई नेपाली कांग्रेसले गरेको छ ।– अदालतको परमादेशमा स्वेच्छाचारी परमादेशबाट प्रधानमन्त्री नियुक्त हुने र परमादेशबाट शासन चलाउने घातक अभ्यास सुरु भयो ।– समाजवादको अपरिहार्यता र वामपन्थी विकल्पको औचित्य पुनर्पुष्टि भएको छ र कम्युनिष्ट आन्दोलनको एकीकरण जस्ता कार्यभार पूरा गरेका छौं ।– गठबन्धन दलहरू नै संवैधानिक र संसदीय बाटोबाट होइन, सडकबाटै न्यायाधीश फेर्ने जस्तो अराजकतालाई प्रोत्साहन र संरक्षण गरिरहेका छन्, न्यायपालिकालाई पङ्गु र निरीह बनाउने कारक तत्व बनिरहेका छन् ।– विदेशीहरूका लागि ‘कम्फर्टेबल’ बन्ने वचनबद्धता सहित गठन भएको गठबन्धन सरकार नेपालको राष्ट्रिय हितमाथि निरन्तर आँच पुगिरहँदा पनि मूकदर्शक बनेको छ ।– लिम्पियाधुरा, लिपुलेक र कालापानी लगायत नेपाली भू–भागमा नेपालको अडान स्पष्ट पार्न समेत नसक्ने निरीहता प्रकट गरिरहेको छ ।– लोकतन्त्रको सुदृढीकरण र सुशासन उदार लोकतन्त्रसँग जोडिन्छ ।– संवैधानिक उदारवादमा सक्षम र जवाफदेही दल हो र राष्ट्रियता, लोकतन्त्र र समाजवादी आदर्श कांग्रेसको वैचारिकी हो ।– नेकाको आदर्श उद्देश्य र नीतिमा आस्था राख्नेहरू सदस्य बन्न सक्नेछन् ।– एमाले अध्यक्ष केपी ओली नेतृत्वमा सरकार बनेको समयदेखि संविधान, लोकतान्त्रिक प्रणाली, नागरिक अधिकार, संवैधानिक संस्था माथि नियोजित आक्रमण गरियो ।– नेकपा (एमाले) को सर्वसत्तावादी प्रवृत्तिको कारणले संविधानसभाद्वारा निर्मित संविधान नै असफल हुने दिशातर्फ उन्मुख भएपछि पार्टीले सरकारको नेतृत्व गर्नु परेको हो ।– सरकारले पाएको अधिकांश समय र ऊर्जा सर्वसत्तावादी शासन स्थापना गर्ने धृष्टतामा खर्च गरियो ।– यो संविधानलाई कम्युनिष्टहरूको एकाधिकारवादी सोचको अतिक्रमणबाट जोगाउनु प्रमुख दायित्व हो ।– नेकपा नेतृत्वको सरकारले संवैधानिक परिषद्को गरिमालाई कम्युनिष्टीकरण गर्‍यो ।

सत्तामा जानैपर्ने ओलीका बाध्यता राम्ररी बुझेको नेपाली कांग्रेस ओलीबाट आफ्ना कामहरू फत्ते गराउन चाहन्छ । गगन थापाको राजनीतिक सत्मार्गका लागि रवि लामिछानेको ‘राजनीतिक बलि’ नेपालको राजनीतिमा सायद ग्राह्य नै छ ।

बीआरआई सम्झौता त नेका पनि गथ्र्यो नै तर ओली महत्वाकांक्षाको उडनतस्तरीको प्वाँख, पखेटा काटिदिएर बेइजिङ पठाउनु उचित ठानेको देखिन्छ । सनपाटको डोरीले खुट्टा बाँधेर ओलीलाई नेकाले कुद्न छाडिदिएको छ, परै जाने देखियो भने डोरी तानेर ओलीलाई लडाइदिने विकल्प ऊसँग खुला छ ।

ओलीलाई हटाउने आफूसँग कांग्रेस मिल्ने मूल्यमा प्रचण्ड कांग्रेस सभापति देउवा (हुनेवाला प्रधानमन्त्री) को राजनीतिक सल्लाहकारको काम गरिरहेकै छन् । गज्जब के छ भने यति ठूलो वामपन्थी जनमत पनि बीआरआई सम्झौता सम्पन्न गरेबापत ओलीलाई बधाई दिइरहेको छैन । स्वयम् वामपन्थीहरू नै बधाई दिन र प्रशंसा गर्न किन लाज मानिरहेका छन् बुझिनसक्नु हुन गएको छ ।

त्यस पछाडिका कारणमा वामवादको सौन्दर्य विश्लेषक र वाम जनमतका तथ्यांकशास्त्रीहरू ओलीभन्दा फरक कित्तामा हुनुलाई मान्न सकिन्छ । कमसेकम पनि झलनाथ खनालले त बीआरआईका लागि ओलीको प्रशंसा गर्नुपर्ने थियो, गरेको देखिएन । यसले के पुष्टि गरेको छ भने वाम पाठशालाका एलुम्नाइहरू ओलीको पक्षमा कोही छैनन् ।

वितेका दशकका राजनीतिक रस्साकस्सीमा एउटा चित्र प्रष्ट भएको छ । माओवादीभित्र एमाले र कांग्रेसका फरक–फरक कटुवालहरू स्थापित छन् । दुवै लवीका कटुवालहरूलाई कामको जिम्मा दिन प्रचण्ड पनि कम माहिर छैनन् । पुराना कटुवालहरू डाँडामा निस्किएर ठूलो स्वरमा कराउँथे भने यी आधुनिक कटुवालहरू बैठक कोठामा साउती गर्छन् ।

यिनै साउतीहरू नै नेपालको सत्ता परिवर्तनको प्रारम्भिक विन्दु हुने गरेका छन् । र, देउवा राजनीतिको भित्री रिङमा साउतीहरू बाक्लिन थालेका छन् । जतिसुकै दन्तबजान गरे पनि एमाले–माओवादीमा केही न केही साइनो छ नै । ओली पनि यही साइनो समात्न थालिसकेका छन् ।

लीसँगको सत्ता जारी राखेर चुनावी प्रतिस्पर्धाका मूलभूत मान्यताहरूको क्षय र सिद्धान्तहरूको खण्डीकरणले पार्ने प्रभावको नतिजाको अनुमान पनि गठबन्धनको धड्कन बढाउने कारण हुन सक्छ । यी सबै कुराको संक्षिप्त सार के हो भने ओली सरकारले नयाँ वर्ष मनाउन पाउन चानचुने मिहिनेतले पुग्दैन ।

नेका एमाले किन मिले ? आजको प्रश्न यो होइन । किन भन्ने प्रश्नको उत्तर दार्शनिकी र वैचारिकीले मात्र दिन सक्छ । माथि, दार्शनिकी र वैचारिकीको तुलनात्मक अध्ययन प्रस्तुत भइसकेको छ । त्यसलाई विचार गर्दा वैचारिकी र दार्शनिकीमा उहाँहरूको मिलापको सम्भावना क्षीण छ ।

ब्राजिल र अर्जेन्टिना मिलेर खेलेको फुटबल हेर्नु र कांग्रेस एमालेका गठबन्धन सरकार र त्यसले गरिरहेको काम हेर्र्नु त्यतिकै पट्यारलाग्दो कुरा हो । के भन्न सकिन्छ भने, परिवर्तित नागरिक मनोविज्ञानको अध्ययनले नेका–एमाले अस्तित्वको समान संकट बोध गरिरहेका छन् । ओलीलाई वालेनसँग वाक्युद्ध गराएर नेका सके आफ्ना निर्वाचन क्षेत्र सुरक्षित गर्ने नसके काठमाडौंबाट वाम राजनीतिको किल्ला भत्केको हेर्ने रणनीतिमा छ ।

नेकाका आधिकारिक दस्तावेजहरूमा एमालेलाई कम्युनिष्ट एकाधिकारवादी, निरंकुश भनिएको छ । नेका–एमाले गठबन्धन बन्ने चरणमा ओलीले कतै ‘निरंकुशता छाडें, अब म अब्बल लोकतान्त्रिक भएँ, पुनः संसद् भंग गर्दिनँ’ भन्ने बकपत्र लेखिदिएका छन् ? छैनन् । त्यसो भए, नेकाले रिसको झोंकमा ओलीलाई निरंकुश, सर्वसत्तावादी, एकाधिकारवादी भन्ने गाली गरेको हो ? गाली मुद्दा दुर्गा प्रसाइँलाई मात्रै लाग्छ कि अरूलाई पनि लाग्छ ?

कांग्रेसका पुराना दस्तावेजहरूको संग्रह र अध्ययन गर्ने सौखिनहरू भन्छन्, गगन थापाको पदीय बढोत्तरीका कारण नेकामा एक सारभूत परिवर्तन आएको छ । त्यो के भने नेकाले आधिकारिक रूपमै कसैलाई गालीगलौज गर्न सिकिसकेको छ । त्यसमा गगन थापाको योगदान अविस्मरणीय छ भन्छन्, कांग्रेसका पुराना र दिग्गजहरू ।

वामपन्थीहरू आफूले तय गरेका सूत्रमा चल्छन्, समाज विवेकमा चल्छ, राजनीति नेतृत्वको नैतिक मूल्यमा । घोषित रूपमा त नेकाले कम्युनिज्म मान्दैन । कम्युनिष्टहरूलाई एकतन्त्रवादी, एकाधिकारवादी र निरंकुश विचार मान्दछ ।

उसले चुनावी घोषणापत्रमा भनेको पनि छ ‘तर सत्ता र शक्तिको केन्द्रीकरण गर्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको उन्मादी महत्वाकांक्षा लोकतन्त्र र समग्र प्रणालीलाई नै तहसनहस बनाउन उद्यत भयो । नेकपाको सरकारले अधिनायकवाद र सर्वसत्तावादको सूत्रपात गर्दै संवैधानिक निकायको कम्युनिष्टीकरण गर्‍यो ।’

तर, नेकाले प्रधानमन्त्री त तिनै ओलीलाई बनायो । के नेकाले ओलीलाई बीपी नगरको कुश डुवाएको पोखरीमा धोएर चोखो पारेको हो ? त्यसैगरी एमालेले पनि नेकालाई लगाएका आरोपहरू आफ्ना दस्तावेजहरूबाट हटाएको हो ?

नेका–एमाले गठबन्धनको भविष्य

नेतृत्व र नेता बनाउने किङमेकरहरूको लागि बनेको हो यो गठबन्धन । तर यसले दलहरू बीचका भिन्नताको सारभूत सैद्धान्तिक अवधारणाहरूमाथि जुन प्रहार गरिरहेको छ त्यसको प्रकाशमा हेर्दा नेकालाई ओलीको भारी गह्रौं लाग्न थालेको छ ।

ओलीको भारी गह्रौं लाग्नुको कारण प्रचण्डको कुटुनी क्रेज, माधवकुमार नेपालको आफ्ना गुन नबिर्सन दिने चेतावनी, राजनीतिक रूपमा गिर्दै गएको ओलीको साख जस्ता परिघटनाहरूका कारण ओली–कांग्रेस यात्रा कठिन हुन थालिसकेको छ ।

वचनबद्धतामा अडिने देउवाको चरित्र मात्र यस्तो एक कारण हो जुन ओलीका लागि सहयोगी छ । तर आफ्नै दलको घुँडामा बन्चरो थापेर देउवाले ओलीको भारी बोकिरहन अब सम्भव छैन ।

नेका एमाले गठबन्धनले नेपालमा स्थापित राजनीतिक दलहरूप्रति मानवीय संवेदना मारिदिएको छ । यी दलहरू राष्ट्रिय संकटमा मिल्नुपर्नेहरू जन्त जान मिलेका छन् । र, आ–आफ्ना समस्या ज्युँका त्युँ राखेर र अझ दुई दलका समस्याहरू समेत थोपरेर सरकार बनेको छ ।

ओलीमा गठबन्धन वा ठूलो शक्ति सञ्चालन वा नेतृत्त्व गर्ने क्षमता हुन्थ्यो भने नेकपा टुट्ने नै थिएन । ल, मानौं माओवादी भीर मौरी थियो घर मौरीसँग बस्न सकेन, एकीकृत समाजवादीको जन्म त ओलीले रोक्न खोजेनन् । प्रतिस्पर्धीहरूका खुट्टा भाँचिए म दौड जित्ने थें भन्ने मनोगत आकांक्षा हो उनको । अनि उनले नेकासँगको मिलापलाई कुन चातुर्य प्रयोग गरेर जारी राख्छन् ?

मिल्न सम्झौता गर्नु परे पनि छुट्टिन समझदारी मस्यौदा गर्नुपर्दैन । अर्कालाई दोष थुपारेर एउटा वक्तव्य जारी गरे पुग्छ । नेका–एमाले छुट्टिन एकै कारण पर्याप्त छ, त्यो हो ओलीले शासनमा स्थापित गर्न खोजेको कम्युनिष्ट मापदण्ड । विदेश वा अन्य सम्बन्धहरू तपसिलका विषय हुन् । मूल कुरा त आन्तरिक राजनीति नै हो ।

अर्को कुरा ओलीसँगको सत्ता जारी राखेर चुनावी प्रतिस्पर्धाका मूलभूत मान्यताहरूको क्षय र सिद्धान्तहरूको खण्डीकरणले पार्ने प्रभावको नतिजाको अनुमान पनि गठबन्धनको धड्कन बढाउने कारण हुन सक्छ । यी सबै कुराको संक्षिप्त सार के हो भने ओली सरकारले नयाँ वर्ष मनाउन पाउन चानचुने मिहिनेतले पुग्दैन ।

Sharing Is Caring:

Leave a Comment