दरबारमार्गमा ‘स्याल’ ग्रुपद्वारा गृहमन्त्रीका ‘भाञ्जा’को रामधुलाई

Hema Nath

काठमाडौं: नेपाल सरकारका गृहमन्त्री तथा नेपाली काङ्ग्रेसका नेता रमेश लेखकका भान्जालाई कुटपिट गरिएको छ। काठमाडौंको दरबारमार्गमा शुक्रबार बेलुका लेखकका भान्जा रमेश भट्टलाई कुटिएको हो।

गुन्डागर्दीमा कहलिँदै आएका संजीव लामा ‘स्याल’ले सञ्चालन गरेको लिक्विड लाउञ्जमा भट्टले काभ्रेली समूहको कुटाई खाएका हुन्।

प्रहरी स्रोतका अनुसार बैतडीका भट्ट र स्याल ग्रुपबीच विवाद भएर लफडा भएको थियो। भट्ट गृहमन्त्री रमेश लेखकलाई मामा भन्ने गर्दछन्।

उनै भट्ट कुटपिटपछि गम्भीर चोट लागेर अस्पताल भर्ना भएका छन्। हिजो राति अबेरसम्म मदिरा पिएर बसेपछि उनीहरूबीच झगडा भएको थियो। कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले काभ्रेली समूहका ६ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा रोशी गाउँपालिका-४ का कुलध्वज लामा, भुम्लु गाउँपालिका-४ का सुजन लामा, तेमाल गाउँपालिका-७ का मिलन लामा, भुम्लु गाउँपालिकाका सुलभ पहरी, तेमाल गाउँपालिका-५ का का युवराज लामा र सिन्धुपाल्चोक जुगल घर भएका दावा तामाङ छन्। उनीहरुमध्ये सुजन तरुण दल काभ्रेका अध्यक्ष हुन्।

पक्राउ परेका सबै नेपाली कांग्रेसमा आबद्ध छन्। लाउञ्जका सञ्चालक संजीव स्याललाई भने प्रहरीले पक्राउ गरेको छैन।

पक्राउ परेकालाई दरबारमार्ग वृत्तमा नराखी काठमाडौं परिसरले नै अनुसन्धान अघि बढाएको छ।

Sharing Is Caring:

Leave a Comment