केन्द्रीय नेताको प्रतिष्ठा जोडिएको गौरीशंकर उपचुनाव

Hema Nath

सत्ता नेतृत्वकर्ता एमाले र प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका नेताहरूले दोलखाको यो पालिकामा उपाध्यक्षको उपचुनावलाई प्रतिष्ठाको लडाईं नै मानेका छन् ।

६ मंसिर, काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिकामा उपाध्यक्ष पदको उपचुनाव हुने भए पनि केन्द्रीय नेताहरूले प्रतिष्ठाको विषय बनाएका छन् ।

नेकपा एमाले र माओवादी केन्द्रका केन्द्रीय नेताहरूको पालिका समेत भएकोले पनि चुनावी प्रतिस्पर्धा पेचिलो बनेको दुवै दलका नेताहरू स्वीकार गर्छन् ।

एमाले नेता एवं पूर्वमन्त्री पार्वत गुरुङ, माओवादीका नेताहरू गंगा कार्की, विशाल खड्का, देवी खड्काको गृहपालिका हो, गौरीशंकर । सत्ताको नेतृत्व गरेको एमाले र प्रमुख प्रतिपक्षमा रहेको माओवादी केन्द्रका नेताहरूले पालिकाको उपाध्यक्षको पदलाई प्रतिष्ठाको लडाईं नै बनाएका छन् ।

गौरीशंकरमा मंसिर १६ गते उपाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ ।

एमाले र माओवादीको टकरावका बीचमा फाइदा उठाउने दाउमा भने सत्तारुढ दल कांग्रेस छ । एमाले र माओवादी केन्द्रका केन्द्रीय नेताहरू अहिले चुनावी प्रचारमा खटिएका छन् । राजनीतिक हिसाबले तीन दलको मुकामजस्तो भएकाले पनि गौरीशंकरको उपनिर्वाचनलाई चासोका साथ दलहरूले लिएको माओवादीका नेता विशाल खड्का बताउँछन् ।

‘उपाध्यक्षको चुनाव भएपनि त्यो पालिकामा कसले जित्यो भन्ने कुराले पार्टीको पोजिसन कस्तो छ भनी संकेत गर्छ ,’ उनले भने ।

गौरीशंकरको उपाध्यक्षका लागि दलगत र स्वतन्त्र गरी १६ जनाको मनोनयन दर्ता भएको छ । कांग्रेसबाट पासदिकी शेर्पा, एमालेबाट उमा मगर शेर्पा, माओवादी केन्द्रबाट निमलेकी शेर्पा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट गोमा श्रेष्ठ, नेकपा एकीकृत समाजवादीबाट रविना खड्का, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट मनकुमारी श्रेष्ठ र जनता समाजवादी पार्टी (जसपा) बाट सपना कार्की खड्का उम्मेदवार छन् ।

त्यस्तै, स्वतन्त्रबाट अप्सरा विश्वकर्मा, अम्बिका श्रेष्ठ, दीपक तामाङ, दिलबहादुर बस्नेत, द्वारिका बुढाथोकी, पुष्पा कार्की, मधुरा कार्की, शिव शम्भु तामाङ र सर्कीमा शेर्पा उम्मेदवार छन् ।

गौरीशंकरमा तीन ठूला दलले शेर्पा समुदायबाट उम्मेदवार बनाएका छन् । पालिकामा शेर्पा समुदायको संख्या अन्यको तुलनामा बढी पनि छ ।

कांग्रेसबाट उम्मेदवार बनेकी पासदिकी गौरीशंकरकै पूर्व उपाध्यक्ष श्यामसुन्दर तामाङकी पत्नी हुन् । उनी पार्टीको १२औँ महाधिवेशनदेखि कांग्रेसको राजनीतिमा क्रियाशील छन् ।

उता, उमा भने कांग्रेस त्यागेर एमालेबाट उम्मेदवार बनेकी हुन् । गत संघीय निर्वाचनताका उनी कांग्रेस छोडेर एमालेमा प्रवेश गरेकी थिइन् ।

माओवादीबाट उम्मेदवार बनेकी निमलेकी शेर्पा विद्यार्थी संगठन हुँदै पार्टी राजनीतिमा प्रवेश गरेकी हुन् । उनी गौरीशंकर पालिकाको माओवादी संगठनमा कोषाध्यक्ष र महिला संघको पालिका कमिटीको अध्यक्ष हुन् । गत निर्वाचनमा भने उनी वडा सदस्यमा पराजित भएकी थिइन् ।

एमाले नेता पार्वत गुरुङले अहिले चुनावी गठबन्धन नहुँदा एमालेका लागि सहज भएको प्रतिक्रिया दिए । केन्द्रीय नेताहरूको प्रतिष्ठाको लडाईं भन्दा पनि आफ्ना उम्मेवारलाई जिताउन लागेको उनी बताउँछन् । गुरुङले भने, ‘आफ्नो राजनीतिक जिम्मेवारी पूरा गर्न परिहाल्छ नि ।’

गत निर्वाचनमा कांग्रेस र माओवादीले चुनावी तालमेल गरेर अध्यक्ष र उपाध्यक्षसहित अधिकांश पालिका जितेको थियो । गौरीशंकरको अध्यक्षमा माओवादीबाट विश्वास कार्की निर्वाचित हुँदा कांग्रेसका उपाध्यक्षका उम्मेदवार श्यामसुन्दर तामाङले जितेका थिए । कांग्रेसका उम्मेदवार तामाङले उपाध्यक्षमा ४ हजार ७ सय ४१ मत ल्याएर निर्वाचित भए भने एमालेबाट उम्मेदवार बनेकी मुना शिवाकोटी केसीले ३ हजार २ सय ८१ मत ल्याएकी थिइन् ।

गत निर्वाचनमा प्राप्त मत नतिजा हेर्दा यहाँ माओवादी केन्द्र पहिलो शक्तिको रुपमा देखिन्छ । अध्यक्ष सहित वडा नम्बर १, २, ३, ७ र ८ माओवादीले जितेको छ । कांग्रेसले ४, ६ र ९ जितेको छ भने एमालेका उम्मेदवारले ५ नम्बर वडामा मात्रै जित निकाल्न सकेका छन् ।

संगठन बलियो भएको स्थान भएकाले आफ्ना उम्मेदवारले जित्ने दाबी माओवादी नेता खड्का बताउँछन् । ‘माओवादीका दिवंगत नेता रितबहादुर खड्कालाई सम्मानार्थ मत दिइरहेको ठाउँ हो । भावनात्मक र संगठनात्मक दुवै हिसाबमा हामीले जित्ने आधार छ,’ खड्काले अनलाइनखबरसँग भने ।

गत निर्वाचनमा गठबन्धन भएकाले कांग्रेस र माओवादीमा दलको कसको कति शक्ति भनि स्पष्ट चित्र नदेखिएको हुँदा यसपटक परीक्षण गर्ने अवसर पनि बनेको छ । एक्लाएक्लै प्रतिस्पर्धा गर्दापनि पहिलो शक्ति माओवादी नै भएको पुष्टि उपनिर्वाचनले गर्ने खड्काको दाबी छ ।

एमाले र माओवादीले आफू बलियो रहेको दाबी गरे पनि कांग्रेसले कमजोर नरहेको बताउँदै आएको छ । दोलखाका कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी कांग्रेसका उम्मेदवारको पक्षमा माहोल सिर्जना भइरहेको दाबी गर्छन् । शिवाकोटी भन्छन्, ‘हाम्रो उम्मेदवारलाई सहानुभूति पनि छ । अहिले कांग्रेस एकजुट भएर हाम्रो उम्मेदवारलाई जिताउन लागेको छ ।’

गौरीशंकरमा कांग्रेसको निर्वाचन परिचालन समितिका संयोजक बनेका विमल आचार्यले निधन भएका उपाध्यक्षका कार्यको जगमा जित्न सकिने दाबी गरे ।

Sharing Is Caring:

Leave a Comment