७ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले दाङको लमही–६ स्थित सिसौको जंगलमा तीन महिनादेखि गाईगोरु थुनेर राखिएको घटनाप्रति आपत्ति जनाएकी छिन् ।
बिहीबार प्रतिनिधिसभा बैठकको शून्य समयमा यसबारे सरकारको ध्यानाकर्षण गराउँदै उचित व्यवस्थापनको माग उनले गरेकी छिन् ।
‘दाङ, लमहीको सिसौ बगरमा तारबारले घेरेर बन्धक बनाइएका गाईगोरुहरू भोक र तिर्खाले छटपटाइरहेका छन्,’ उनले भनेकी छिन्, ‘उनीहरू प्लास्टिक खान बाध्य छन्, र मरणासन्न अवस्थामा पुगेको समाचार सार्वजनिक भएको छ ।’
उक्त घटना अमानवीय भएको भन्दै ती गाईगोरुहरूको तत्काल उद्धार हुनुपर्ने उनको भनाइ छ ।
‘यो अमानवीय क्रियाकलापप्रति सरकारको गम्भीर ध्यानाकर्षण होस् । गाईगोरुहरूको तत्काल उद्धार गरी उचित व्यवस्थापन प्रक्रिया सुरु गरियोस्,’ सांसद गौतमले भनिन् ।
सो ठाउँमा पर्याप्त घाँसपानी नदिई करिब डेढ सय गाईगोरुलाई तारबारभित्र थुनेर राखिएको छ ।
लमही नगरपालिका–६ स्थित सिसौको जंगलमा करिब तीन महिनादेखि गाईगोरुलाई थुनेर राखिएको छ ।
एकातिर चरनको अभाव, अर्कोतिर जगेडा घाँसपानी छैन । गाईगोरु बाध्य भएर प्लाष्टिक खाँदै मरिरहेको स्थानीयले भने ।
साथै, उनले बाढी पहिरोबाट बाधा पुगेर भत्किएका सडकको मर्मत गर्न सरकारको ध्यानाकर्षण गराइन् ।
‘के यो देशको बजेट केवल पार्टीका कार्यकर्ताहरूका लागि मात्र हो ?,’ गौतमले प्रश्न गरिन्, ‘म सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै, जोखिममा रहेका घरहरू अगाडि पहिरो रोकथामका उपाय अपनाइ सडक पुनर्निर्माण गर्न अनुरोध गर्दछु ।’
