२७ फागुन, विराटनगर । विराटनगरको मानगढ खानेपानी आयोजनाको नयाँ नेतृत्वका लागि पुनः मतदान गर्न उच्च अदालत विराटनगरले आदेश दिएको छ ।
विराट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाअन्तर्गत मानगढ खानेपानी आयोजना सञ्चालित छ ।
संस्थाको नयाँ नेतृत्वका लागि गत १९ जेठमा मतदान भएको थियो । मतदानका क्रममा विवाद भएपछि सबै मतदाताले मत हाल्न पाएनन् ।
मतदान विथोलिएपछि खसेको मतलाई नै गणना गर्नुपर्ने माग राख्दै दिव्यराज कट्टेलसमेत तीन जनाले उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए ।
टंकप्रसाद खतिवडासमेत तीन जनाले पुनः मतदानको मागसहित रिट दायर गरेको थियो ।
सोमबार उच्च अदालत विराटनगरका न्यायाधीश ध्रुवराज नन्द र विष्णुप्रसाद अर्यालको संयुक्त इजलासले खतिवडासहितको मागदाबी अनुसार नयाँ नेतृत्वका लागि पुनः मतदान गर्न रिट जारी गरेको हो ।
उच्च अदालत विराटनगरका रजिष्ट्रार जगदीशप्रसाद भट्टका अनुसार १९ जेठ बिहान ९ बजेको अवस्थाबाट पुनः प्रक्रिया सुरु गर्न रिट जारी भएको छ । अर्थात उम्मेदवार पुरानै रहने र मतदान मात्रै पुनः गर्नुपर्नेछ ।
विराट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष रामबहादुर घिमिरे र लालमणि भट्टराई अध्यक्षका उम्मेदवार थिए । दुवै जना नेकपा (एमाले) का स्थानीय नेता हुन् ।
सोही खानेपानीको निर्वाचनमा एमाले मोरङ नेतृत्व दुई धारमा बाँडिएको थियो । मोरङ अध्यक्ष ऋषिकेश पोखरेलसहितको संस्थापन समूहले घिमिरेलाई अघि सारेको थियो । विनोद ढकालको समूहले भट्टराईलाई अघि सारेको थियो ।
निर्वाचनका क्रममा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध खटिएको भन्दै एमालेले महानगर कमिटी अध्यक्ष सागर थापालाई जिम्मेवारीबाट हटाएको थियो ।
नगर कमिटीका अन्य नेताको पनि जिम्मेवारी खोसेको थियो । भर्खरै सम्पन्न १०औं जिल्ला अधिवेशनबाट थापा मोरङ उपाध्यक्षमा निर्वाचित भइसकेका छन् ।
५ हजार ९ सय घरधुरी सदस्य रहेको खानेपानी व्यवस्थापनका लागि गत १९ जेठमा मतदानका क्रममा विवाद भएको थियो । उपभोक्ता समितिको विवाद अदालतमा पुगेर टुङ्गो लागेको हो । अब नयाँ नेतृत्वका लागि पुनः मतदान हुनेछ ।