२७ फागुन, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाले बजार क्षेत्रमा राखिएका विज्ञापनजन्य सामाग्रीका जीर्ण र पुराना बोर्डहरू हटाउने कार्यलाई तीव्रता दिएको छ ।
बजार क्षेत्रको वातावरणलाई सफा, आकर्षक र सुरक्षित बनाउनका लागि नगरपालिकाले जीर्ण र पुराना विभिन्न विज्ञापन सामाग्रीका बोर्ड हटाउन थालिएको नगरपालिकाका सूचना प्रविधि अधिकृत सुरेश खनालले बताए ।
बजार क्षेत्रको सौन्दर्य र संरचनालाई सुधार्ने मात्र नभएर यहाँ आउने पर्यटक, ग्राहक र व्यापारिक गतिविधिहरूका लागि सकारात्मक वातावरण सृजना गर्न साइन बोर्ड हटाउने कार्यलाई तिव्रता दिइएको नगरपालिकाले जनाएको छ ।
जीर्ण अवस्था भएका विभिन्न विज्ञान जन्यका बोर्डहरू दुर्घटनाको कारण बन्न सक्ने र बजारको सौन्दर्यमा नकरात्मक प्रभाव पार्ने गरेकोले नगरपालिकाले हटाउन थालेको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले बताए ।
नगरपालिकाले आगामी दिनहरूमा अन्य सार्वजनिक स्थानहरूमा पनि जीर्ण संरचनाहरू हटाउने र सुधारात्मक कार्यहरू गर्ने योजना बनाएको खनालले बताए ।
नगरपालिकाले बजार क्षेत्रमा फुटपातमा सामाग्री राखेर बिक्री वितरण गर्ने कार्यलाई नियम गर्न पनि कडाइ गरेको छ ।