कोशीमा प्रधानमन्त्रीको सम्बोधन : ‘कफी गफ’मा मिल्यो सरकार र प्रतिपक्षीको विवाद

Hema Nath

२७ फागुन, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र प्रदेशको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बाेबीचको छलफलपछि प्रतिपक्षी दल संसद् बैठकमा सहभागी हुने भएका छन् ।

मंगलबार बिहान विराटनगरको बिग होटलमा दुई नेताको कफी गफ (कफी खाँदै गरेको छलफल) पछि विवाद मिलेको हो ।

कोशीको प्रदेशसभा बैठकलाई आज प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यसूची छ । प्रधानमन्त्रीले सम्बोधन गर्ने बेलामासमेत सरकारले समन्वय नगरेको भन्दै माओवादी केन्द्रसहित प्रतिपक्षी दलले बैठक बहिष्कारको धम्की दिएका थिए ।

प्रतिपक्षीले बैठक बहिष्कार गर्ने बताएपछि मंगलबार बिहान आङ्बोसँगको भेटमा मुख्यमन्त्री कार्कीले प्रतिपक्षी दलहरूसँग छलफल नगर्नु कमजोरी भएको स्वीकार गरेपछि विवाद मिलेको हो ।

आङ्बोले मुख्यमन्त्रीले प्रधानमन्त्रीले संस्थागत ढंगले बोल्ने, कसैलाई घोचपेच नगर्ने र विपक्षी दलहरुलाई औपचारिक निमन्त्रणा नगरेको विषयमा कमजोरी भएको भनि स्वीकार गरेका बताए ।

संसद् बैठकमा सहभागी हुने विषयमा भने छलफलपछि निर्णय गर्ने उनले बताए । ‘हामीले जे कन्सन राखेका थियौं, त्यो कन्सन सम्बोधन गर्ने भइसकेपछि विषय सकारात्मक भयो,’ उनले भने, ‘विपक्षी दलहरुसँग छलफल गरेर निर्णयमा पुग्छौं ।’

प्रधानमन्त्री ओलीले आज २ बजेपछि बस्ने प्रदेशसभाको बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ । सरकारले बिपक्षी दलहरुलाई हेप्ने काम गरेको भन्दै प्रधानमन्त्रीको सम्बोधन बहिष्कार गर्ने चेतावनी दिएपछि कार्कीले प्रतिपक्षीले उठाएका विषय सम्बोधन गर्ने बताएका थिए ।

प्रतिपक्षी दलहरूले संसद्प्रति उत्तरदायी हुनुपर्ने र संसद्लाई सरकारको छायामा पार्न नहुने सर्त राखेका थिए ।

Sharing Is Caring:

Leave a Comment