२१ फागुन, काठमाडौं । दशरथ रंगशालामा दर्शक पिटिएको घटनाबारे संसद्मा प्रश्न उठेको छ ।
बुधबार प्रतिनिधि सभामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतकसमेत रहेका सांसद ज्ञानेन्द्र शाहीले दशरथ रंगशालामा दर्शक कुटिएको घटनाबारे प्रसंग उठाएका हुन् ।
उक्त घटनामा संलग्नलाई कारबाही गर्न सांसद शाहीको माग छ । रंगशालामा यही फागुन १९ गते प्रधानमन्त्रीको नाममा खेलकुद आयोजना गरिएको भन्दै उनले प्रजातन्त्र र लोकतन्त्रबारे प्रश्न गरे ।
‘दर्शक दिर्घामा बसेका मान्छेले बोल्यो भन्दै प्रधानमन्त्रीकै पार्टीका बिल्लाधारी मान्छेहरूले मान्छे कुट्ने र प्रहरी पीडितलाई बचाउनुको सट्टा कुट्न सघाउने वाह–वाह गृहमन्त्रीज्यू, वाह–वाह प्रधानमन्त्रीज्यू यो तम्रो कस्तो लोकतन्त्र ? यो तम्रो कस्तो प्रजातन्त्र ?,’ शाहीले भने ।