एउटै पासोमा दुई जनाको शव : विवाहेत्तर सम्बन्ध मुख्य कारण

Hema Nath

Updated on:

२१ फागुन, विराटनगर । मंगलबार दिउँसो एउटै डोरीले पासो लागेको अवस्थामा मृत भेटिएका युवायुवतीको मृत्युको कारण विवाहेत्तर प्रेम सम्बन्ध रहेको प्रहरीले बताएको छ ।

पथरीशनिश्चरे नगरपालिका-५ मौलीबारीस्थित बक्राहा खोलाको किनारमा रहेको पिठारीको रूखको एउटै हाँगोमा झुन्डिएको अवस्थामा पथरीशनिश्चरे-५ का अन्दाजी २४ वर्षीय अजय टुडू र झापाको गौरीगन्ज गाउँपालिका-२ घर की २२ वर्षीया जुबामुनी हस्दा मृत फेला परेका थिए । एउटै डोरीले पासो लागेको अवस्थामा फेला परेका उनीहरुको शव सँगै थियाे ।

प्रारम्भिक अनुसन्धानका क्रममा विवाहेत्तरको प्रेम सम्बन्धका कारण आत्महत्या गरेको देखिएको प्रहरी बताउँछ । प्रहरीका अनुसार मृतक दुवै विवाहेत्तर हुन् । दुवैको बच्चा पनि छन् । महिला जुबामुनीका श्रीमान् वैदेशिक रोजगारीका लागि मलेसियामा छन् । अजयको घरमा पत्नी र दुई जना छोरा छन् । जुबामुनीका डेढ वर्षका छोरा छन् ।

इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालका अनुसार अजयले ती महिलालाई १८ फागुन राति घरमा लिएर आएका थिए । घरबाट  हराएपछि परिवारले जुबामुनीको खोजी गरिरहेको थियो ।

प्रहरीले दुवैको शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगेको छ । आज पोष्टमार्टम गरी उनीहरुको शव परिवारको जिम्मा लगाउने प्रहरीको तयारी छ ।

प्रहरीका अनुसार काखे छोरालाई घरमै छाडेर आएकी जुबामुनीलाई अजयले आइतबार राति आफ्नै घरमा लिएर गएका थिए । घरमा खाना खाएपछि उनीहरू बाहिरिएका थिए । सोमबार  उनीहरु गाउँकाे बजारमा देखिएका थिए । मंगलबार बिहान उनीहरु घटनास्थल नजिकै गफ गरेर बसेको स्थानीयले देखेका थिए । दिउँसो भने भुण्डिएको अवस्थामा फेला परे ।

प्रहरीका अनुसार परिवारले स्वीकार नगर्ने देखेपछि उनीहरुले आत्महत्याको बाटो रोजेको देखिन्छ । घटना शंकास्पद नदेखिएको बताउँदै डिएसपी दाहालले सम्बन्धलाई परिवारले स्वीकार नगर्ने देखेपछि सल्लाहमै आत्महत्या गरेको जस्तो देखिने बताउँछन् । ‘प्रारम्भिक अनुसन्धानले विवाहेत्तर सम्बन्ध मुख्य देखियो, पोष्टमार्टम रिपोर्ट आएपछि थप विषय खुल्छ,’ उनले भने ।

Sharing Is Caring:

Leave a Comment