कुकुरलाई मोटरसाइकलमा बाँधेर मरणासन्न हुने गरी घिसार्ने व्यक्ति प्रहरीको फन्दामा परेका छन् । यस्तो कृत्य गर्नेलाई तीन महिनासम्म कैद र पाँच हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने प्रावधान छ ।
१७ फागुन, काठमाडौं । कुकुरलाई मोटरसाइकलमा बाँधेर मरणासन्न हुने गरी घिसार्ने व्यक्ति प्रहरीको फन्दामा परेका छन् । पोखरा महानगरपालिका–२२ का खुसीराम बराललाई बैदाम प्रहरीले पक्राउ गरेको हो ।
कुकुरलाई मोटरसाइकलमा बाँधेर दौडाइरहेको भिडियो सार्वजनिक भएपछि त्यसलाई आधार बनाएर अनलाइनखबरले समाचार प्रकाशन गरेको थियो ।
त्यसलगत्तै प्रहरीले ती व्यक्तिको खोजी गरेको थियो । भिडियो र समाचार सार्वजनिक भएपछि बराललाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको कास्की प्रहरीले जनाएको छ ।
बरालले पोखरा बजारबाट कुकुरलाई मोटरसाइकलमा बाँधेर स्याङ्जातर्फ कुदाएका थिए । करिब पाँच किलोमिटर पर पुर्याइसकेपछि कुद्न नसकेको कुकुर घिस्रिन थालेपछि पनि बरालले छाडेका थिएनन् ।
तर, सोही बाटोबाट स्याङ्जातर्फ जाँदै गरेका केही युवाले त्यो दृष्यको भिडियो बनाउँदै कुकुरलाई उद्धार गर्न सघाएका थिए । उनीहरूले कुकुरमाथि ज्यादती गरेको भन्दै त्यसो नगर्न आग्रह गर्दा बरालले कुकुरले थाकेको नाटक गरेको जस्ता प्रतिक्रिया दिएका थिए । ती युवाहरूले नै पानी ल्याएर कुकुरलाई पिलाएका थिए ।
के हुन्छ सजाय ?
नेपालको प्रचलित कानुनले कुनै पनि पशुप्राणीलाई निर्दयी व्यवहार गर्न, क्रूरतापूर्वक हत्या गर्न बन्देज गरेको छ । मुलुकी अपराध संहिता २०७५ अनुसार कुनै पनि जनावरको क्रूरतापूर्वक हत्या वा कुनै पनि किसिमको निर्दयी व्यवहार गर्न, तड्पाउन पाइँदैन । यस्तै घरपालुवा कुकुर रोगी र बुढो भएपछि सडकमा छाड्नु पनि अपराध हो भनेको छ । यस्तोमा उल्लिखित कुनै पनि किसिमको हत्या-हिंसा भएको छ भने तुरुन्त प्रहरीमा उजुरी गर्न सकिन्छ ।
यस्ता कृत्य गर्नेलाई तीन महिनासम्म कैद र पाँच हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने प्रावधान छ ।
मुलुकी अपराध संहिता २०७५ ले कुनै पनि पशुप्राणीलाई क्रूरतापूर्वक हत्या गर्नु ‘अपराध’ भनेको छ । अधिवक्ता पदमबहादुर श्रेष्ठका अनुसार यस किसिमको हिंसा देखिएमा प्रहरीमा उजुरी गर्न सकिन्छ । प्रहरीले जाहेरी लिएन भने जिल्ला प्रशासन कार्यलय र जिल्ला सरकारी वकिलको कार्यालयमा पनि उजुरी दिन मिल्छ ।
कुकुरको हत्या मात्र होइन, उनीहरूलाई कुनै पनि किसिमको निर्दयी व्यवहार गर्न, तड्पाउन पाइँदैन । यस्तै घरपालुवा कुकुर रोगी र बूढो भएपछि सडकमा छाड्नु पनि अपराध हो । ‘उल्लिखित कुनै पनि किसिमको हत्या–हिंसा भएको छ भने तुरुन्त प्रहरीमा उजुरी दिनुपर्छ,’ अधिवक्ता श्रेष्ठ भन्छन् ।