नेकपा एमालेको महासचिव शंकर पोखरेलले सरकार पटकपटक अस्थिर बनेपछि बाध्य भएर पहिलो र दोस्रो दल मिलेर सरकार गठन गर्नु परेको बताएका छन् ।
१७ फागुन, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान आगामी निर्वाचनसम्म एमाले–कांग्रेसको सहकार्य जारी रहने बताएका छन् ।
सत्तामा सहकार्य गरे पनि निर्वाचनमा एक्लाएक्लै जाने र त्यसपछिको सरकार जनमतले दिएको निर्देशनअनुसार हुने उनको भनाइ छ ।
नेपाल राष्ट्रिय होटल व्यवसायी संघको प्रथम अधिवेशन काठमाडौंमा उद्घाटन गर्दै उनले कसैले चाहँदैमा एमाले–कांग्रेसको सहयात्रा नटुट्ने बताए ।
साना दलले पटकपटक राजनीतिक अस्थिरता निम्त्याएर मुलुकको विकासमा बाधा पारेपछि एमाले–कांग्रेस मिल्न बाध्य भएको महासचिव पोखरेलले बताए । अहिलेको सत्ता सहकार्यको मुख्य कारण अस्थिरता समाप्त गर्ने रहेको भन्दै उनले राजनीतिक धुव्रीकरणका माध्यमबाट मुलुकमा स्थायी सरकारको निर्माण सुनिश्चित गर्नुपर्ने मान्यताको पक्षमा दुई पार्टी रहेको बताए ।
भविष्यमा भने जनताले मन पराएको पार्टी सरकारमा र दोस्रो ठूलो पार्टी प्रमुख प्रतिपक्षमा बस्नु पर्ने उनको भनाइ थियो ।
मुलुकको अर्थतन्त्र चलायमान बनाउन सरकार गम्भीर रहेको बताएका पोखरेलले व्यावसायिक वातावरण तयार पार्न सरकारले विभिन्न अध्यादेश ल्याएको चर्चा गरे ।