तराई–मधेश जागरण अभियानको क्रममा सिरहा पुगेका बेला माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले रिंकुकुमारी सदाको शंकास्पद मृत्युको घटनाबारे चासो राखेका छन् ।
१७ फागुन, सिरहा । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिरहाका प्रमुख जिल्ला अधिकारी र जिल्लास्थित सुरक्षा प्रमुखसँग रिंकुकुमारी सदाको शंकास्पद मृत्युको अनुसन्धान प्रक्रियाबारे जानकारी लिएका छन् ।
‘जनतासँग माओवादी, तराई–मधेश जागरण अभियान’को क्रममा सिरहा आएका बेला उनले प्रजिअसहित सुरक्षा प्रमुखलाई बोलाएर घटनाबारे जानकारी लिएका हुन् ।
अध्यक्ष प्रचण्डले शोकमा रहेको परिवार र आन्दोलनमा रहेको संघर्ष समितिसँग पनि शनिबार नै भेट गरेका थिए ।परिवारले हत्या नै भएको आशंका गरेकाले संवेदनशील भएर सत्यतथ्य अनुसन्धान गर्न उनले प्रशासनलाई आग्रह गरे ।
बलात्कारपछि पञ्चायतले मिलापत्र गराउन खोजेकाले घटना संवेदनशील भएको भन्दै उनले बलात्कार भएको देखिए पनि, हत्या वा आत्महत्या भए पनि यथार्थ छानबिन हुनुपर्ने र दर्ता भएका सबै जाहेरीमा अनुसन्धान हुनुपर्ने बताए ।
अध्यक्ष प्रचण्डले सिरहामै दाइजोसँग जोडिएको घटनामा अर्की एक महिलाको पनि मृत्यु भएको र यसको अनुसन्धानमा ध्यान नपुगेको परिवारबाट गुनासो आएको भन्दै यथार्थ अनुसन्धान गर्न आग्रह गरेका थिए ।
जवाफमा प्रजिअ र सुरक्षा प्रमुखहरूले प्राप्त जाहेरीका आधारमा अनुसन्धान भइरहेको र अनुसन्धान प्रक्रियामा दबाब नरहेको जानकारी गराएका थिए ।
गत माघ २७ गते राति शौच गर्न घरबाहिर निस्केकी रिङ्कुले आफू स्थानीय तीन जना युवाबाट सामूहिक बलात्कारमा परेको बताएकी थिइन् । रिङ्कुलाई न्याय दिनुको साटो स्थानीय पञ्चायत बसेर मिलापत्र गराउन खोजेका थिए । उनी त्यसपछि घरमै मृत फेला परेकी थिइन् ।
मृत्युअघि रिंकुले आफूमाथि सामूहिक बलात्कार भएको बताएपछि घटना सामसुम पार्न गाउँमै पञ्चायती सभा समेत बसेको खुलेको छ । न्यायका लागि भन्दै २९ माघमा गाउँ-समाजमा रिंकुको परिवारले छलफलका लागि डाकेका थिए ।
यो विषयमा मिलापत्र गर्न भन्दै हाल फरार रहेका रुपेश मण्डललाई १ लाख ५० हजार जरिवाना गर्ने निर्णय भएको थियो । तर यो निर्णयलाई पीडित परिवारले स्वीकार गरेनन् । त्यतिबेला वादविवाद समेत भएको थियो । अर्कोतर्फ रुपेशका बुवा देवानाथ मण्डलले समेत १ लाख ५० हजार रुपैयाँ तिराउने निर्णयमा सहमति जनाएनन् ।
३० माघमा फेरि पञ्चायती सभा डाकिएको थियो । त्यतिबेला नै रिंकुले रुपेशका साथै अन्य दुई जनाले आफूमाथि बलात्कार गरेको भन्दै बयान दिएको एक स्थानीय बताउँछन् । अन्य व्यक्तिको पनि संलग्नता रहेको बताउँदा पनि आफ्नो छोरालाई मात्रै जरिवाना तिराउने निर्णयमा सहमति नरहेको देवानन्दको भनाइ थियो । त्यसपछि झडपको स्थिति समेत आएको थियो । पञ्चायती बसेर घटना सामसुम पार्न खोजिएको केही समयमै रिंकु आफ्नै घरमा मृत भेटिएकी थिइन् ।