रिंकुको शंकास्पद मृत्यु प्रकरणमा पञ्चायतमा सहभागी ३ जना पक्राउ

Hema Nath

१३ फागुन, जनकपुरधाम । सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी रिंकुकुमारी सदायको शंकास्पद मृत्यु प्रकरणमा पञ्चायतमा सहभागी तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा नवराजपुर गाउँपालिका–१ भगवतीपुर गाउँका करिब ८४ वर्षीय चन्देश्वर मण्डल, ४५ वर्षीय रामविनोद मण्डल र ४५ कमलेशकुमार दास छन् ।

उनीहरूमाथि पञ्चायतद्वारा लेनदेन गरी मिलापत्र गर्न गराउन संलग्न रहेको कसुरमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।

थप अनुसन्धानका लागि सिरहा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको छ । उनीहरुलाई इलाका प्रहरी कार्यालय लाहानको हिरासतमा राखिएको छ ।

मृतक परिवारले गत फागुन ८ गते चारवटा मुद्दामा ८ जनाविरुद्ध पूरक जाहेरी दिएको थियो ।

कर्तव्य ज्यान, जबर्जस्ती करणी, शरीर बन्धक र लेनदेन मिलापत्र गरी चारवटा शीर्षकमा ८ जनाविरुद्ध इलाका प्रहरी कार्यालय, लहानमा जाहेरी परेको थियो ।

सामूहिक बलात्कार आरोपका तीन जना र गाउँमै मिलाउन खोज्ने पाँच जना रहेका छन् । यद्यपि पूरक जाहेरी परेका मध्येबाट अहिलेसम्म कोही पनि पक्राउ परेका छैनन् ।

गत माघ ३० गते रिंकु आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । त्यअघि २७ गते राति शौच गर्न बाहिर निस्केकी रिंकुमाथि सामूहिक बलात्कार भएको थियो ।

सो घटना मिलाउन गाउँमै पञ्चायत भएको थियो । वडासदस्यसहितका स्थानीयको संलग्नतामा २९ र ३० गते पञ्चायती बसेर घटना गाउँमै मिलाउने प्रयास गरिएको थियो । जसमा पीडकबाट एक लाख ४० हजार जरिवाना भराउने र पीडितलाई प्रहरीमा जान नदिने निर्णय गरेको थियो ।

Sharing Is Caring:

Leave a Comment