‘वडाध्यक्षले घाँटी ङ्याक्दै झापड हानिरहे, हतियार लिन भन्दै गएपछि भागें’

Hema Nath

मिलापत्र गर्न राजनीतिक दबाब

खुलेआम आक्रमण गरेको स्वीकारिरहेका वडाध्यक्ष स्वयंले भने मित्रापत्र गर्न कर्मचारीलाई आग्रह गरिरहेका छन् भने वडाध्यक्ष निकट पार्टीका नेताहरुले पनि घटना मिलाउन दबाब दिइरहेका छन् ।

६ फागुन, पोखरा । बन्दीपुर गाउँपालिका–६ का वडाध्यक्ष बलबहादुर गुरुङले वडासचिव नवीन भुसालमाथि आक्रमण गरेको घटनाले अहिले कर्मचारी जगतलाई तरंगित बनाएको छ भने यो घटनाको चौतर्फी आलोचना भइरहेको छ ।

वडाध्यक्ष कप भलिबल प्रतियोगिताको बिल पास नगरेको भन्दै वडाध्यक्ष गुरुङ सचिवमाथि ज्यानै मार्ने धम्कीसहित आक्रमणमा उत्रिएपछि बन्दीपुर गाउँपालिकाभित्रका सबै कर्मचारीले अत्यावश्यकबाहेकका सेवा नै ठप्प पर्ने बताएका छन् ।

दोषीमाथि कारबाही गरेर शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन कर्मचारीको माग छ । कर्मचारीसँग सम्बन्धित संघसंगठनहरुले पनि दाषीमाथि कारबाही गर्न माग गरिरहेका छन् । पालिकाका कर्मचारीबाट दिइएको उजुरी र दबाबपछि आक्रमणमा उत्रिने वडाध्यक्षलाई प्रहरीले पक्राउ त गरेको छ तर अझै पनि कुन मुद्दा चलाउने भन्ने एकीन गरिसकेको छैन ।

जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी राजु अधिकारीका अनुसार पीडितले भनेपछिमात्रै मुद्दा अगाडि बढ्ने छ । ‘कुटपिट वा अभद्र व्यवहार केमा मुद्दा चलाउने भनेर पीडितले भन्नुहुन्छ, त्यसरी नै मुद्दा अगाडि बढ्छ,’ उनले भने, ‘यत्रो घटना नै घटिसकेपछि मित्रापत्र त कसरी हाला, त्यस्तो हुँदैन ।’

पक्राउ परेका वडाध्यक्षले भने सोमबार नै खुलेआम सचिवमाथि आक्रमण गरेको प्रतिक्रिया दिइरहेका थिए । ‘मुखले नमानेपछि हातले हानें, ३ झापड हानेकै हो’ भन्नेजस्ता प्रतिक्रिया उनले दिइरहेका थिए ।

खुलेआम आक्रमण गरेको स्वीकारिरहेका वडाध्यक्ष स्वयंले भने मित्रापत्र गर्न कर्मचारीलाई आग्रह गरिरहेका छन् भने एमाले पार्टीका नेताहरुले पनि घटना मिलाउन दबाब दिइरहेका छन् ।

गाउँपालिका अध्यक्ष स्वयं सुरेन्द्रबहादुर थापाको गैरजिम्मेवारीपूर्ण प्रतिक्रिया छ, ‘वडाध्यक्ष त सोझै हुन्, के मिलेन र ४/४ झापड हाने होलान् !’

तर, प्रहरीले भने पीडितसँग छलफल गरेर मुद्दा अगाडि बढाउने बताइरहेको र पीडित आफैं दबाबका कारण अन्योलमा छन् । वडाध्यक्ष, पालिका अध्यक्षदेखि नेताहरुले भने मिलापत्र गर्न दबाब दिइरहेका छन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादवराज आचार्यले पनि कर्मचारीमाथि आक्रमण नै हुनु दुखुद् भएको र स्वयंले पनि सार्वजनिक रुपमै स्वीकारेकाले पनि प्रहरीलाई मुद्दा अगाडि बढाउन समस्या नहुने बताउँछन् ।

‘भर्खरै आएका नयाँ सचिव हुन्, काम गर्दा मलाई सोधेर गर्ने गर्छन्, यो विषयमा पनि कसरी अगाडि बढाउने हो सर, यस्तो छ भनेर उनले सोधेकै थिए,’ प्रमुख प्रशासकीय अधिकृत आचार्यले भने, ‘हातपात गर्दै आक्रमणमै उत्रिएकाले यो पहिलो नजरमै आक्रमण गर्नेकै कमजोरी हुन्छ ।’

आक्रमण गरेसकेपछि वडाध्यक्ष गुरुङले भने ‘कमिसन’ मागेपछि झापड हान्न बाध्य भएको दाबी गरेका छन् । तर, कर्मचारी संयन्त्र भने वडासचिवले कमिसन मागेको भए पनि अनुसन्धान तथा कारबाहीको दायरामा ल्याउने तरिका हुँदाहुँदै हातपातमा उत्रिनु गलत भएको बताउँदै आएका छन् ।

प्रमुख प्रशासकीय अधिकृत आचार्यले भने वडाध्यक्ष कप प्रतियोगिताको बिलमै समस्या भएको र वडासचिवले सिफारिस गरे पुग्ने, भुक्तानी चाहिँ पालिकाले दिने भएकाले यसमा कमिसनको कुरै नआउने बताउँछन् । शीर्षक र परिणाम नखुलाई बिल आएकाले सिफारिस गर्न समस्या हुने वडासचिवले बताएको उनको भनाइ छ ।

झापड हाने, दुइटा हातले घाँटीमा समाएर दराजको भित्तामा टाँसेः वडासचिव

वडाध्यक्षको आक्रमणबाट उम्किएपछि वडाध्यक्ष भुसालले प्रमुख प्रशासकीय अधिकृत आचार्यलाई फोन गरेर घटना विवरण बताए । अधिकृत आचार्यले गाडी पठाए र उनलाई बन्दीपुर अस्पतालमा ल्याइएको हो ।

घाँटी र गालामा निलडाम थियो भने त्योबेला वडासचिव भुसाल निकै आत्तिएका थिए । उनी केहीसमय अगाडिमात्रै बिरामी भएर औषधिसमेत खाइरहेका थिए । आफूमाथि आक्रमण भएपनि उनीलाई श्वासप्रस्वासको समस्या भएको थियो । त्यसपछि उनलाई भरतपुर मेडिकल कलेजमा थप उपचारका लागि पठाइएको थियो ।

अघिल्लो महिना बिरामी भएका बिदा बसेर वडामा फर्किएर वडाध्यक्ष भलिबल कपको सञ्चालन उनैले गरेका थिए । तर, औषधि भने खाइरहेका थिए ।

गत असोज १३ गतेमात्र सहायक पाँचौंस्तरको नियुक्तिपत्र बुझेर १८ गते बन्दीपुर वडा नम्बर ६ मा पोस्टिङ भएका हुन् । आफू धेरै कुरा बुझ्ने क्रममै रहेको र पूर्ववडासचिव, प्रमुख प्रशासकीय अधिकृतलाईसमेत सोधेर काम गर्ने गरेको भुसालले बताए । सोमबार १० बजे नै वडासचिव भुसाल कार्यालयमा उपस्थित भएका थिए ।

त्यहाँ एउटा सेवा दिने, अर्को दुई वटा अध्यक्ष र वडा सचिवको कोठा कार्यालयमा छन् । योजनाअनुसारै आफूमाथि आमक्रण भएको भनाइ वडासचिवको छ ।

पालिकामा फाइल लैजाने र हिसाब मिलाउनु सल्लाह वडाध्यक्षसँग सचिवको भएको थियो । केहीबेरमा वडाध्यक्ष आएर ‘तपाईं पालिकामा जाने कि नजाने ?’ भनेर वडाध्यक्षले सोधेको सचिव भुसालले सुनाए । ‘जाने हो तर स्टिमेट मिलाउनुपर्ने छ । परिणाम र दर मिलाउनुपर्छ । बिल मिलेको छैन भनेर मैले भनें,’ वडासचिव भुसालले अनलाइनखबरसँग घटनाविवरण सुनाए, ‘अनि त तैंले कमिसन खान खोजेको हो भनेर घाँटी ङ्याक्दै झ्याम कि झ्याम हान्न थाले । म थापिइरहें ।’

भुसालले करिब ३ मिनेटसम्म घाँटीमा समाउँदै हानेको सुनाए । ‘म किक्ली–किक्ली भइसकेको थिएँ, त्यसैले त घाँटीमा इन्फेक्सन छ । उनी त्यसपछि पनि हतियार लिएर आउँछु भनेर भागे, म पनि दौडिएर निस्किएँ र हाकिम साबलाई फोन गरें,’ वडासचिवले सुनाए ।

वडाध्यक्ष गुरुङले यसअघि पनि बारम्बार दुख दिइरहने भुसालले बताए । वडाध्यक्षले जे भन्यो त्यही काम गरिदियो भने खुसी र प्रक्रिया खोज्यो भने रिसाउने गर्ने गरेको सचिवको दाबी थियो ।

‘भलिबल सम्पन्न गरियो । साइनै नभएका बिलहरु थिए । सबै उहाँहरुले नै बनाउनुभयो र ल्याएर ल पास गरिदिनुस् भन्नुभएको थियो । खर्च भएको छ भने ल्याउनुस् त नि भनेकै थिएँ । उहाँले ल्याउनु भयो तर परिणाम र दर नै छैन । एकमुष्ट खाना, खाजा भनेर बिल ल्याइएको थियो,’ वडासचिव भुसालले भने, ‘यो बिल त मिलाउनुपर्छ अध्यक्षज्यू भनें, उहाँले यो चलिआएको चलन हो, पुरानै फम्र्याट हेरेर गरेको हो भन्दै जंगिनुभयो ।’

माइनुट पनि आफैं गरेर हस्ताक्षर गर्न ल्याइएको तर त्यहाँ आफ्नो उपस्थितिसमेत नरहेको उनले सुनाए ।

भुसालको स्वास्थ्यमा अहिले सुधार आएको छ । घाँटीमा इन्फेक्सन, गाला सुनिएको तर सुधार भइरहेकाले तनहुँ फर्र्किएर अरु प्रक्रिया बढाउने उनको भनाइ थियो । ‘मिल्नुपर्‍यो भनेर फोन आएको थियो तर कसरी मिल्नु खै, अब कसरी अगाडि बढ्ने सोच्नै सकेको छैन,’ भुसालले भने ।

ज्यानैमार्ने प्रयाससहित आक्रमण भए पनि ज्यान मार्ने उद्योगमा मुद्दा दायर गर्न हतियारले हानेकोे निसान वा हतियार प्रहार भएको हुनुपर्ने एसपीले भनेका कुटपिट तथा अभद्र मुद्दामा किटानी जाहेरी दिने तयारी नवीनका दाजु निर्मलले जानकारी दिए ।

Sharing Is Caring:

Leave a Comment