३० माघ, काठमाडौं । ठमेलमा ड्युटीमा रहेका सुरक्षाकर्मी कुटिएको घटनामा संगठनलाई जोडेर बदनाम गर्न खोजिएको नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले बताएको छ । संगठन सदैव कानुनी राज्यको पक्षधर रहेको अध्यक्ष समिक बडालले निकालेको विज्ञप्तिमा उल्लेख छ।
उनले घटनामा संलग्न जो सुकै भए पनि कानुनी प्रक्रियाबाट कारबाही हुनुपर्नेमा संगठन स्पष्ट रहेको बताएका छन् । ‘तथापि, घटनालाई अतिरञ्जित गर्दै सामाजिक सञ्जाल तथा प्रायोजित सामग्रीमार्फत् अनेरास्ववियुलाई बदनाम गर्ने कुचेष्टा भइरहेको देखिएकोमा यस्ता गलत प्रचारबाजीको अनेरास्ववियु घोर भर्त्सना गर्दछ’, उनले भनेका छन् ।
विज्ञप्तिमा सम्बन्धित निकायलाई निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न र दोषीलाई कानुनी दायरामा ल्याउन पनि अनुरोध गरिएको छ ।
माघ २६ गते दरबारमार्गस्थित केशरमहल बिटबाट ड्युटीमा खटिएको क्विक रेस्पोन्स टीम (क्यूआरटी) को टोलीमाथि आक्रमण भएको थियो । आक्रमणबाट प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नगेन्द्रराज विष्ट घाइेत भएका थिए । उनीहरूको टाउको र शरीरका विभिन्न भागमा चोट समेत लागेको थियो । उनीहरूले प्रहरीको मोटरसाइकल लडाउँदै कुटपिट गरेका थिए भने प्रहरीको लौरो समेत फालिदिएका थिए ।
आइतबार मात्रै प्रहरीमाथि आक्रमण गरेको आरोपमा ताप्लेजुङको फुङलिङ नगरपालिका–१ घर भएका २६ वर्षीय दिनेश सिग्देल र डडेल्धुराको गन्यापधुरा गाउँपालिका–५ का २२ वर्षीय रमेश फुलारा पक्राउ परेका थिए । अमृत साइन्स क्याम्पस (अस्कल)मा अध्ययनरत दुवै जना नेकपा एमालेको विद्यार्थी संगठनमा आबद्ध छन् ।
पक्राउ परेका दुवै जनाविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अभद्र व्यवहारको कसुरमा पाँच दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
ड्युटीमा खटिएका प्रहरीलाई कुटपिट गर्ने समूहका पाँच जनाविरुद्ध पक्राउ पूर्जी जारी हुँदा अनेरास्ववियुका स्थायी कमिटी सदस्य कमलराज जोशीलाई ‘उन्मुक्ति’ दिइएको भन्दै अहिले चौतर्फी आलोचना भइरहेको छ ।
