२९ माघ, काठमाडौं । आकर्षक तलबमा मलेसिया र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा काठमाडौंबाट दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका-११ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका-५ बस्ने ५४ वर्षीय लिलबहादुर राई र काठमाडौं नगरपालिका-२३ बसन्तपुरका ३७ वर्षीय विशाल श्रेष्ठ रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार राईले दुई जना पीडितसँग मलेसिया पठाइदिने भन्दै २ लाख र श्रेष्ठले क्रोएसिया पठाउने भन्दै एक जना पीडितसँग १ लाख ५० हजार रुपैयाँ लिएर सम्पर्कविहीन बनेको उजुरी परेको थियो ।
सोही उजुरीका आधारमा राईलाई बत्तिसपुतली र श्रेष्ठलाई काठमाडौंको टेकुबाट सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।