निर्दयी ‘विश्वास’को विश्वासघात : परिवारले जसलाई सहारा ठान्यो, उनैले गरे बलात्कारपछि हत्या

Hema Nath

डेरामा आउने जाने भइरहेकाले सरिताका दाइ अर्जुनले विदेश जाने बेला विश्वासलाई आफ्नी बहिनीको रेखदेख गरिदिन भनेका थिए । तर, तिनै विश्वासले विश्वासघात गर्दै सरिताको बलात्कारपछि हत्या गरे ।

काठमाडौं । राजधानीको स्कुलमा पढ्न भन्दै दुई वर्षअघि धादिङकी १७ वर्षीया सरिता तामाङलाई बुबाआमाले काठमाडौं पठाएका थिए । दिदी पहिल्यै चन्द्रागिरि नगरपालिका– ११, सतुंगलमा डेरा लिएर बसिरहेकी थिइन्, त्यसैले सरिता पनि जाँदा एकअर्काको साथी हुने परिवारका सदस्यहरूले ठानेका थिए ।

तर, एक वर्षअघि दिदीले विवाह गरिन् । सरितासँग बस्न उनका दाजु अर्जुन तामाङ आए । यद्यपि, उनी पनि बहिनीसँग लामो समय बस्ने सोचमा थिएनन् ।

परिवारको आर्थिक स्थिति कमजोर थियो, उनी विदेश जान चाहन्थे । एक म्यानपावर कम्पनीमार्फत कुवेतका लागि प्रयास गरिरहेका थिए । त्यतिञ्जेललाई उनी बहिनीसँग बसिरहेका थिए । केही समयमा भिसा लाग्यो, २३ मंसिरमा उनी कुवेत उड्ने भए ।

माध्यमिक शिक्षा परीक्षा (एसईई) दिन लागेकी बहिनीलाई छाडेर जानुपर्दा तामाङ दुःखी थिए । त्यसैले नातेदार पर्ने विश्वास तामाङलाई भनेका थिए, ‘मेरो बहिनी डेरा कोठामा एक्लै बसेर पढ्छे, तिम्रो पनि बहिनी हो । सकेसम्म हेरविचार गर्दिनु है ।’

बहिनीको जम्मा लगाइएका धादिङको गजुरी गाउँपालिका– ३ घर भएका तिनै २६ वर्षीय विश्वास अहिले सरिताको बलात्कारपछि विभत्स हत्या गरेको आरोपमा थुनामा छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी वसन्त रजौरे भन्छन्, ‘सरिताको हत्यामा नाताभित्रै पर्ने विश्वासको संलग्नता खुलेपछि पक्राउ गरेर जबरजस्ती करणी, कर्तव्य ज्यान र डाँका चोरी मुद्दामा सजाय मागदाबी गर्दै फाइल बुझाएका थियौं ।’

प्रहरी प्रतिवेदनका आधारमा सरकारी वकिलले दायर गरेको मुद्दामा जिल्ला अदालत, काठमाडौंका न्यायाधीश श्यामविहारी मौर्यले प्रारम्भिक सुनुवाइ गर्दै उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएका छन् ।

‘बलात्कारको पोल खुल्ने डरले हत्या’

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार, आरोपी विश्वासका जिजुबुबाबाट छुट्टिएका चार पुस्ताबाट सरितासँग विश्वासको नाता जोडिन्छ ।

‘एउटै गाउँ पनि भयो, फेरि उमेर उस्तै भएकाले सरिताका दाजु अर्जुन घरमा हुँदा उनी नियमित जसो जाने रहेछन्,’ ती अधिकृतले भने, ‘आउने जाने नियमित जसो भइरहेकाले अर्जुनले विदेश जाने बेला उनलाई रेखदेख गरिदिन भनेका रहेछन् ।’

प्रहरीका अनुसार, वैदेशिक रोजगारीका लागि अर्जुन जान लागेका बेला २३ मंसिरमा विदाइ गर्न विश्वाससमेत विमानस्थल पुगेका थिए । उनी विमानस्थल पुग्दा अर्जुनलाई पनि लागेको थियो – नाताभित्रकै साथी नजिकै भएपछि बहिनीलाई साह्रो गाह्रो पर्दा चिन्ता गर्नु नपर्ला ।

तर, विश्वासको मनमा भने अरु नै चलिरहेको थियो ।

प्रहरीका अनुसार, विश्वासले पहिल्यैदेखि सरितामाथि कुदृष्टि राख्ने गरेका थिए । दाजु कुवेत गएको पाँच दिनपछि २८ मंसिरको साँझ ७ बजेतिर उनी त्यही नियतका साथ सरिताको डेरामा पुगेका थिए ।

दाजु हुँदा विश्वास पहिले पनि कोठामा गइरहने भएकाले सरिताले त्यो दिन पनि उनलाई खाना पकाएर खुवाइन् । ‘म पुगेपछि उसले दाइ बसौं भनिन्, खाना पनि सँगै खायौं’, विश्वासले नै बयानमा खुलाएका छन्, ‘खाना खाइसकेपछि कोठामा दुईवटा पलङ थियो, आज म यहीँ बस्छु भनेँ ।’

दाजुले बस्ने भनेपछि सरिता पनि केही भन्ने कुरा भएन ।

प्रहरीका अनुसार, दुवैजना ९ बजेतिर अलग–अलग बेडमा गए । तर, विश्वास अरु नै योजनासहित त्यो दिन सरिताको कोठामा पुगेका थिए । प्रहरीका अनुसार, उनले सरितालाई केहिवेरपछि शारीरिक सम्बन्धका लागि प्रस्ताव गरे ।

‘मलाई पहिल्यैदेखि ऊ मन पथ्र्यो, मैले प्रस्ताव राख्दा उनले मानिनन्’, उनको बयान उद्धृत गर्दै प्रहरी स्रोतले भन्यो, ‘त्यसपछि मैले जबरजस्ती करणी गरेको थिएँ ।’

सरिताले प्रतिकार गर्न खोजिन् । तर, सकिनन् । राति साढे ११ बजे उनले उनले दोस्रोपटक पनि करणी गरेको अनुसन्धानबाट खुलेको छ ।

‘त्यसपछि दुई जनाबीच विवाद बढ्न थाल्यो, उनले सरितालाई कसैलाई नभन्न भन्दै कहिले फकाउने त कहिले धम्क्याउने गर्न थाले,’ अनुसन्धानमा संलग्न ती अधिकृतले भने, ‘तर, सरिता केही गरे पनि उनले भनेको कुरा मान्न तयार भइनन् ।’

त्यहिबेला आवेगमा आएर सरिताको हत्या गरेको विश्वासले प्रहरीसँग स्वीकारेका छन् । ‘झगडा हुँदा मैले घाँटी समात्न खोज्दा उसले बुढी औंलाको माथिल्लो भागमा दाँतले टोकेकी थिइन्,’ विश्वासले भनेका छन्, ‘यस्तोमा मैले घाँटीमा थिचेर पलङको धारमा हानिदिएको थिएँ ।’

प्रहरीका अनुसार, पहिले बलात्कारको पोल खुल्ने डरले हत्या गरेका उनले फेरि शव लुकाउने प्रयास गरे । दुईमध्ये एउटा पलङभित्र उनले सरिताको शव लुकाइदिए, पलङको र्‍याकमा १२ हजार रुपैयाँ र मोबाइलसमेत लिएर भागे ।

सम्पर्कविहीन भनेर निवेदन दिए, कोठाभित्रै भेटियो शव

त्यो साँझबाटै सरिताको परिवारसँग सम्पर्क हुन छाड्यो । उनको फोन नम्बर ९७०…….. मा बुबाआमा र आफन्तहरूले पटकपटक फोन गरे । तर, सम्पर्क नभएपछि बुबा दलबहादुर तामाङले काठमाडौंमा रहेका भतिज नविन रुम्बा तामाङलाई कोठामा जान आग्रह गरे ।

रुम्बा सरिताको कोठामा पुग्दा बाहिरबाट ताला लागेको थियो । कोठामा बहिनीलाई नभेटेपछि उनी १ पुसमा प्रहरी वृत्त, थानकोटमा गएर सरिता सम्पर्कविहीन भएको भन्दै हुलियासहित निवेदन दिए ।

प्रहरीले समेत सुराक हात पार्न नसकिरहेका बेला गाउँबाट दलबहादुरका छोरा प्रेम पनि काठमाडौं आए । उनले सरिताको कल डिटेल रेकर्ड (सीडीआर) निकालिदिन भन्दै प्रहरी कहाँ अर्को निवेदन दिए ।

बहिनीले कतै गएर केही पत्र लेखेर पो छाडेकी छन् कि भनेर प्रेम हेर्नलाई कोठातिर गए ।

‘बहिनीले आफू बाहिर जाँदा त्यहीँ कतै चाबी राख्छिन् भन्ने थाहा थियो’, प्रेम भन्छन्, ‘त्यसैले उसको कोठा बाहिर पुगेर खोज्दा जुत्तामा साँचो भेटेको थिएँ ।’ त्यसबेला उनी राजीव तामाङसहित पुगेका थिए ।

प्रेमका अनुसार, त्यो दिन बहिनीको कोठाभित्र प्रवेश गर्दा अनौठो गन्ध आएको थियो । ‘के गन्ध आयो भनेर हेर्ने क्रममा बक्स पलङको प्लाइ उठाएर हेरेका थियौं, त्यहाँ बहिनी सरिता तामाङको शव थियो’, उनले प्रहरीसँग भनेका छन्, ‘लगत्तै प्रहरी, आफन्त र अरुलाई खबर गरेका थियौं ।’

प्रहरीले घटनास्थलको मुचुल्का गरेर शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठायो । काठमाडौं प्रहरीका अनुसार, उनको शव भेटिएपछि काठामा आउनेहरूको सूची तयार पारेर जाँच गर्दै जाँदा विश्वासको डेरासम्म अनुसन्धान अधिकृतहरू पुगेका थिए ।

चन्द्रगिरि नगरपालिका–१३ मा रहेको उनको कोठामा खानतलासी गर्दा तामाङले चलाउने मोबाइल फेला परेको थियो । ‘त्यसपछि उनको संलग्नता हुनसक्ने आशंका गर्दै सोधपुछ थालेका थियौं, त्यसक्रममा उनले बाटोमै हत्यामा संलग्नता स्वीकारेका थिए,’ अनुसन्धानमा संलग्न एक अधिकृतले भने ।

Sharing Is Caring:

Leave a Comment