गाजा युद्धविराम सम्झौता अन्तिम चरणमा, विपिन जोशीको रिहाइका लागि परराष्ट्रमन्त्रीको पहल

Hema Nath

परराष्ट्रमन्त्री डा. आरजु राणाले कतारका विदेशराज्यमन्त्री डा. मोहम्मद बिन अब्दुलाजिज अल–खुलाइफीसँग टेलिफोन वार्ता गरेर विपिन जोशीको रिहाइको लागि पुनः पहल गरेको हुन् ।

१ माघ, काठमाडौं । इजरायल र हमासबीच गाजा युद्धविरामसम्बन्धी सम्झौतालाई अन्तिम रूप दिने प्रयास भइरहेका बेला नेपालले हमासको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइको लागि पुनः पहल गरेको छ ।

परराष्ट्रमन्त्री डा. आरजु राणाले कतारका विदेशराज्यमन्त्री डा. मोहम्मद बिन अब्दुलाजिज अल–खुलाइफीसँग टेलिफोन वार्ता गरेर हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइको लागि पुनः पहल गरेको हुन् ।

इजरायल र हमासबीचको शान्तिवार्तामा कतार सरकारले मध्यस्थता गरिरहेको छ । र, विदेशराज्यमन्त्री अल–खुलाइफी एक प्रमुख वार्ताकार हुन् ।

कतारी विदेशराज्यमन्त्रीसँगको टेलिफोन वार्ताबारे जानकारी दिँदै मन्त्री राणाले यथासक्य चाँडो विपिनको रिहाइका लागि पहल गरिदिन अपिल गरिएको जनाएकी छन् ।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै परराष्ट्रमन्त्री डा. राणाले टेलिफोन वार्तामा अल खुलाइफीले हमासलाई युद्धविराममा ल्याई बन्दीहरूलाई रिहा गर्ने वातावरण बनाउन कतार सरकारले प्रयास गरिरहेको भन्दै छिट्टै सकारात्मक खबर आउने विश्वास दिलाएको उल्लेख गरेकी छन् ।

समाचार संस्था बीबीसीका अनुसार गजा युद्धविरामको लागि काम गरिरहेका दुवैतर्फका वार्ताकारहरू मंगलबार राति कतारको दोहामा अन्तिम सम्झौताका लागि भेट्दैछन् ।

रोयटर्सका अनुसार अन्तिम चरणमा रहेको शान्तिवार्ताको प्रयास केही दिनभित्रै टुंगोमा पुग्ने अनुमान मध्यस्थकर्ताहरूले गरेका छन् । यसैबीच, अमेरिकी राष्ट्रपति जो बाइडेनले समेत युद्धविराम सम्झौतालाई अन्तिम दिन आवश्यक तयारीका लागि आफ्नो प्रशासनसमेत सक्रिय रहेको बताएका छन् ।

अमेरिकी राष्ट्रपति बाइडेनले आइतबार इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूसँग तथा सोमबार मध्यस्थता गरिरहेका कतारका शेख तमिम बिन हमद अल–थानीसँग कुराकानी गरेका थिए ।

Sharing Is Caring:

Leave a Comment