नाम र धर्म फेरेर पहिचान लुकाउँदै आएका राजुले नक्कली विवरण भरेर नागरिकतासमेत बनाएका थिए ।
२८ पुस, जनकपुरधाम । १६ चैत २०४१ मा रौतहटका लेखापढी व्यवसायी ललन सिंहको हत्या भयो । घटनाको १६ वर्षपछि २६ फागुन २०५७ रौतहट जिल्ला अदालतले हत्यामा चारजनालाई दोषी ठहर गर्दै सजायको फैसला गर्यो । कैद सजाय पाएकामध्ये तीनजना फरार थिए । लामो समयदेखि प्रहरीले उनीहरूको खोजी गरिरहेको थियो ।
केही दिनअघि प्रहरीले सूचना पायो, ‘ललन सिंहको हत्यमा कैद सजाय पाएका राजु सिंह सर्लाहीको चक्रघट्टामा बसिरहेका छन् ।’ प्राप्त सूचना पछ्याउँदै प्रहरी चक्रघट्टा गाउँपालिका– ४ को सुन्दरपुर पुग्यो । त्यहाँ एकजनालाई नियन्त्रणमा लियो ।
प्रहरी त्यतिवेला चकित पर्यो, जब नियन्त्रणमा लिइएका व्यक्तिले आफू राजु नभई मोहम्मद सराज राइन भएको परिचयपत्र देखाए । त्यही नामको नागरिकतासमेत देखाए । प्रहरी अन्योलमा पर्यो । तर, सूचना दिनेले पहिचान र धर्मसमेत परिवर्तन गरेर बसेको सूराक दिएकाले प्रहरीले ती व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढायो ।
प्रहरीको नियन्त्रणमा परेपछि भने ती व्यक्तिले आफ्नो वास्तविक परिचय धेरैबेर लुकाउन सकेनन् । र, भने, ‘म राजु सिंह नै हुँ । तर, हत्यामा मेरो कुनै संलग्नता छैन ।’
राजु तिनै व्यक्ति थिए, जसका बाबु रत्नेश्वरप्रसाद सिंह पनि ललन सिंहको हत्या अभियोगमा २० वर्षको कैद सजाय पाएका थिए । र, कैद भुक्तान गरेर २०७७ मा रिहा पनि भए ।
घटनालगत्तै आरोपितहरू रत्नेश्वर, उनका छोरा राजु, नागेश्वर महरालगायत फरार भएका थिए । भागेर भारत पुगेका उनीहरूमध्ये रत्नेश्वरलाई प्रहरीले पक्राउ गरेर ल्यायो । बाँकी फरारै रहे ।
राजुले पक्राउपछि प्रहरीलाई दिएको बयानअनुसार फरार भएपछि उनले भारतमा बसेर बसको खलासीको काम गरे । केही वर्षपछि सर्लाहीको चक्रघट्टा गाँगपालिका ४ सुन्दरपुर फर्के । त्यहाँ घर बनाए ।
रौतहटको राजदेवी नगरपालिका– ९ (साविक ब्रह्मपुरी गाविस– १) घर भएका लेखापढी व्यवसायी सिंहको हत्यापछि पत्नी धुपकली देवीको जाहेरीमाथि अनुसन्धान गर्दै प्रहरीले चारजनालाई प्रतिवादी बनाई रौतहट जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो । तर, प्रहरी नियन्त्रणमा रहेका रत्नेश्वरले मात्र कैद सजाय भोगे । अरु फरार कैदीहरूको खोजी भइरहेको थियो ।
राजुले आफ्नो परिचय फेरे । धर्मसँगै नाम पनि परिवर्तन गरे । उनले हिन्दु धर्म परिवर्तन गरी मुस्लिम धर्म अपनाए भने राजु सिंह नामलाई मोहम्द सराज राइनमा परिवर्तन गरे । ‘घटनाको केहीवर्षसम्म फरार भएर म भारतको विहारमै बसमा खलासीको काम गरे । करिब ३० वर्ष भयो । म सुन्दरपुर फर्के । त्यहाँ मैले धर्म परिवर्तन गरी मुस्लिम बने । विवाह गरे । नागरिकता बनाएँ,’ प्रहीलाई बयानको क्रमममा उनले भनेका छन् ।
झुटो विवरण पेश गरी नागरिकता
नाम र धर्मसमेत परिवर्तन गरेपछि उनले झुटो विवरण पेश गरी नागरिकता पनि लिए । प्रहरीका अनुसार नागरिकता लिने क्रममा उनले बुबाको नाम मो. खलिफ राखेर मो. सराज राइनको नामबाट नागरिकता लिएका थिए ।
‘मेरो सुरुको नाम राजु सिंह हो । बुबा रत्नेश्वर हुनुहुन्छ । यहाँ नागरिकता लिँदा बुबाको नाम मो. खलिफ राखेको छु । त्यस नामको व्यक्ति कोही हुनुहुन्न । यतिकै नाम राखे’ उनले प्रहरीलाई बयान दिएका छन् ।
उनले दुईवटा विवाहसमेत गरे । राजुका अनुसार पहिलो बिहे सबिला नाम गरेकी महिलासँग गरेका थिए । उनले छाडेर हिँडेपछि सबिना नाम गरेकी अर्की महिलासँग विवाह गरे ।
उनले हत्याको घटनामा भने संलग्नता नरहेको जिकिर गरेका छन् । ‘म बालक नै थिएँ । त्यो घटनामा मेरो संलग्नता छैन । त्यस घटनामा बुबाको संलग्नता थियो । उहाँ जेल सजाय काटिसक्नु भएको छ,’ बयानमा उनले खुलाए ।
राजुलाई प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको टोली र सिरहाका प्रहरी नायव उपरीक्षक वीरेन्द्रकुमार पासवान नेतृत्वको टोलीले पक्राउ गरेको हो । सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार अनुसन्धानपछि फैसला कार्यान्वयनका लागि रौतहट जिल्ला अदालत पठाइएको छ ।