१९ पुस, काठमाडौं । ललितपुर महानगरपालिका–९ बालकुमारीमा भएको ‘हिट एण्ड रन’ घटनाका आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।
बालकुमारीस्थित सडकमा पैदलयात्री ललितपुरकै महालक्ष्मी नगरपालिका–२ बाजेपोखरीकी ७४ वर्षीया ठूलीकान्छी घिमिरेलाई ठक्कर दिएर फरार भएका स्कुटर चालकलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बागमती प्रदेश ०२–०४० प ६३३६ नम्बरको स्कुटरका चालक भक्तपुर नगरपालिका–१० का २५ वर्षीय रुकेश श्रेष्ठ छन् । उनलाई जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले पक्राउ गरेको हो ।
६ पुसको बिहान साढे ६ बजेतिर पैदलयात्री घिमिरेलाई श्रेष्ठले चलाएको स्कुटरले ठक्कर दिएको थियो । नम्बर नखुलेको स्कुटरले ठक्कर दिएर फरार भएको थियो । अनुसन्धानमा खटिएको प्रहरीले स्कुटर पहिचान गरेर श्रेष्ठलाई पक्राउ गरेको हो ।
सवारी ज्यानको कसुरमा म्याद लिएर उनीमाथि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।