१८ पुस, काठमाडौं । भन्सार प्रमुखहरूले अनावश्यक दबाब सिर्जना हुँदा काम गर्ने वातावरण नभएको बताएका छन् ।
प्रतिनिधिसभाको अर्थ समितिमा बिहीबार भएको भन्सार सम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयकबारे छलफलमा भन्सार प्रशासकहरूले यस्तो बताएका हुन् ।
उनीहरूले भन्सार ऐन व्यवस्थित नबनाएसम्म भन्सार अधिकृतहरूले काम गर्ने वातावरण नहुने पनि बताए । भन्सार ऐन डिजिटलाइज बनाउन आवश्यक रहेको बताए ।
भन्सार प्रशासकहरूले भन्सार ऐनमा रहेका कतिपय प्रवाधानका कारण काम गर्ने वातावरण नभएको गुनासो गरेका हुन् । उनीहरूले भन्सारमा बसेर पारदर्शी हिसाबमा कानुनी प्रक्रिया अनुसार काम गर्दा पनि दबाब तथा विभिन्न किसिमका ‘टर्चर’ आउने गरेको उल्लेख गरे । उनीहरूले भन्सारमा व्यवसायीबाट अनावश्यक दबाब आउने गरेको पनि बताए ।
बैठकमा भन्सार विभाग महानिर्देशक हरिशरण पुडासैनीले भन्सारमा केही समस्या हुँदाहुँदै भन्सार अधिकृतहरूले उच्च मनोबलले काम गरिरहेको बताए । उनले काम गर्दा पनि भन्सारमा धेरै दबाब रहेको बताए ।
‘भन्सारमा बसेर काम गर्ने कि नगर्ने भन्ने विषयमा सोच्नुपर्ने बेला भएको छ,’ उनले भने, ‘भन्सारका विषयमा आफूलाई आएका पत्र र म्यासेजहरू अर्थमन्त्रीलाई देखाउन मन लागेको छ ।’
उनले अन्य देशमा भन्सार प्रणाली सञ्चालन गर्ने अवधारणा एउटै हुने तर नेपालमा राजनीतिक, ऐन कानुन र सामाजिक परिवेश त्यहीअनुसार काम गर्न सक्ने अवस्था नरहेको बताए । व्यापारी–व्यवसायीको मानसिकता अझै पनि भन्सारलाई झुक्याउने रहेको आरोप उनले लगाए ।
‘पहिलो प्रयास झुक्याउने, दोस्रो प्रयास प्रलोभनमा पार्ने र तेस्रो प्रयास दबाब दिने गरेका छन् । यी तीन कुरा चिर्दै भन्सार प्रशासन चलिरहेको छ । सीमा भन्सारमा बसेर काम गर्न सजिलो छैन । भन्सारमा काम गर्न कर्मचारीलाई सुरक्षा दिएर राख्नुपर्ने अवस्था छ,’ उनले भने ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय प्रमुख महेश बरालले पनि विमानस्थल भन्सारमा नयाँ–नयाँ भन्सार समस्या रहेको बताए । सरकारले विमानस्थल भन्सारबाट आयात हुने सामानका विषयमा यकिन तोकेर स्पष्ट बनाउनुपर्ने बताए ।
‘सामान्य रूपमा एक जना वैदेशिक रोजगारीमा गएको मानिसले ३०/४० ग्राम सुन ल्याउन दिने कुरामा दुःख दिएको जस्तो लाग्छ तर समग्र राज्यका तर्फबाट हेर्दा हरेक यात्रुलाई त्यही सुविधा दिँदै जाने हो भने नेपालमा वैधानिक रूपमा सुन आयात हुँदैन । विदेशबाट ल्याएको सुनले नै पुग्ने भयो,’ उनले भने, ‘सेटिङमा हरेक यात्रुलाई ३०/४० ग्राम सुन लगाएर पठाउने अनि बाहिर जम्मा गर्ने जमात छ । यो खालको समस्याबाट शिकार भएका छौं ।’
भैरहवा भन्सार कार्यालयका भन्सार अधिकृत रामप्रसाद रेग्मीले भन्सार प्रमुखलाई कानुनले गोली हान्ने अधिकार दिएको तर गोली हान्ने मान्छे ल्याउनुपर्ने अवस्था रहेको बताए । उनले भन्सार बिन्दुमा आउने सामान भन्सार छली रोक्न मिहिनेतसाथ लागेको बताए ।