१४ पुस, विराटनगर। मोरङको ग्रामथान गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष नमोनारायण माझीले प्रमुख प्रशासकीय अधिकृतलाई स्पष्टीकरण सोधेका छन्।
आफूलाई जानकारी नदिई अवैध उत्खनन् रोक्न प्रहरीलाई पत्र लेखेको भन्दै अध्यक्ष माझीले प्रमुख प्रशासकीय अधिकृत रामराज पौडेललाई स्पष्टीकरण सोधेका हुन् ।
गत मंसिर १६ को उपनिर्वाचनमा माझी माओवादी केन्द्रबाट अध्यक्षमा विजयी भएका थिए। आफू बाहिर भएका बेला जानकारी नदिई पत्र लेखेको भन्दै उनी पौडेलसँग रुष्ट थिए। प्रमुख प्रशासकीय अधिकृत पौडेलले पुस ८ मा ग्रामथानकै झोराहाटमा रहेको प्रहरी कार्यालयलाई पत्र लेखेका थिए।
उनले लेखेको पत्रमा भनिएको छ, ‘ग्रामथान गाउँपालिका वडा नं. २ अन्तर्गतका विभिन्न नहर, सडकलगायतका सार्वजनिक स्थलबाट गैरकानूनी रूपले माटो उत्खनन् भइरहेको भन्ने जनगुनासो आएको तथा गाउँपालिकाबाट अनुगमन गर्दा समेत उत्खनन् भएको पाइएकोले त्यस प्रकारको गैरकानूनी उत्खनन् कार्य रोकी उत्खनन् कार्यमा संलग्न सवारीसाधनहरू नियन्त्रणमा लिई दिनुहुन अनुरोध छ।’

उनले यो पत्र लेख्नुअघि उपाध्यक्षसहितको टोलीले अनुगमन गरेको थियो। तर, अध्यक्ष माझीले प्रहरीलाई पत्र किन लेखेको भन्दै पुस ११ मा प्रशासकीय अधिकृत पौडेललाई स्पष्टिकरण सोधेका हुन्।
अध्यक्षले मागेको स्पष्टीकरणमा भनिएको छ, ‘यस ग्रामथान गाउँपालिकाबाट मिति २०८१–०९–०८ गतेको दिन चं. नं. १०१५, मिति २०८१–०९–०८ को गैरकानूनी उत्खनन् कार्य रोक्का गर्ने सम्बन्धमा प्रहरी चौकी, झोराहाटलाई काटिएको पत्र के–कति कारणले काटिएको हो ? स्पष्ट खुलाई दिन हुन जानकारीको लागि अनुरोध छ।’
