‘युवाको नेतृत्वमा आधारित लैङ्गिक समानता र सामाजिक समावेशीकरण’

Hema Nath

काठमाडौं । अक्सफाम नेपालले ‘कोभिड–१९ पछि पुनःस्थापना रणनीति र कार्यका लागि युवाहरूको नेतृत्वमा आधारित लैङ्गिक समानता र सामाजिक समावेशीकरण पहलहरुको सिकाइ र अनुभव’ विषयमा एकदिने राष्ट्रिय कार्यशाला गरेको छ ।

अक्सफामले युवालय र सिमान्तकृत महिलाहरुका लागि महिला संस्था ‘वाम’सँगको सहकार्यमा सन् २०२२ को जनवरीदेखि २०२४ को डिसेम्बरसम्म तीन वर्षे परियोजना सञ्चालन गरेको हो । यो परियोजना कर्णाली प्रदेशको दैलेखका भगवतीमाई गाउँपालिका र डुंगेश्वर गाउँपालिका तथा सुदूरपश्चिम प्रदेशको बैतडीका पाटन नगरपालिका र दशरथचन्द नगरपालिका गरी चार स्थानीय तहमा सञ्चालन भएको थियो ।

कार्यक्रममा युवाको नेतृत्वदायी भूमिकाबारे चार जना प्यानल सदस्यहरूसँग छलफल गरिएको थियो । प्यानल सदस्यहरूमा भगवतीमाई गाउँपालिकाकी उपाध्यक्ष मीनाकुमारी खड्का, राष्ट्रिय युवा परिषद्का प्रमुख प्रशासकीय अधिकृत चन्दा थापा, भगवतीमाई युवा परिषद्का उपाध्यक्ष राजेन्द्र अधिकारी र युवालयका अध्यक्ष धर्मराज रिमाल थिए ।

कार्यक्रममा युरोपियन युनियनका सहकार्य प्रमुख जोसे–लुइस भेनेसा सान्ता मारियाले परियोजनाका उपलब्धिहरूबाट धेरै गौरवान्वित भएको बताइन् । ‘यसको सुरुवातदेखि नै हाम्रो उद्देश्य कोभिड–१९ महामारीले युवाको शिक्षा र समग्र समृद्धिमा पारेको प्रभावलाई सम्बोधन गर्नु थियो । युरोपियन युनियनको युवा सशक्तीकरणप्रतिको मूल प्रतिबद्धतासँग मेल खाने गरी हामी स्थानीय सरकारले युवासँग सम्बन्धित योजना तथा लैङ्गिक समानता र सामाजिक समावेशीकरण योजनाको स्थायित्व सुनिश्चित गर्ने आशा गर्दछौं,’ उनले भनिन् ।

अक्सफाम नेपालकी राष्ट्रिय निर्देशक तृप्ति राईले यो परियोजनाले कोभिड–१९ पछि कर्णाली र सुदूरपश्चिम प्रदेशका युवाहरुको क्षमता अभिवृद्धिमा योगदान गरेको बताइन् । ‘राजनीति र अर्थतन्त्रमा युवाको सहभागिता प्रोत्साहन गरेको छ,’ राईले भनिन् ।

कार्यक्रममा परियोजनाकी प्राविधिक संयोजक शबनम पोखरेलले परियोजनाबारे प्रस्तुतीकरण दिएकी थिइन् । यो परियोजना कोभिड–१९ को संकटपछिको विकास प्रक्रियामा लैङ्गिक समानता र सामाजिक समावेशिता हासिल गर्न युवाप्रेरित प्रयासलाई प्रवर्द्धनको उद्देश्यले सञ्चालन गरिएको अक्सफामले जनाएको छ ।

Sharing Is Caring:

Leave a Comment