त्यसबेला यौन कोठीबाट उद्धार गरिएका महिलालाई हेर्ने नजर घृणाले भरिएका थिए । सुनिता दिदी सहितलाई राख्ने गैससका प्रमुखहरूलाई ‘वेश्यालय चलाएको अपराधमा जेल हाल्नुपर्छ’ भनेर राष्ट्रिय सभामा एक सांसदले बोल्दा ताली पिट्ने व्यक्ति अझै कति जिउँदै होलान् ।
गत सोमबार अर्थात् पुस ८ गतेको बिहानै सामाजिक सञ्जालबाट हुत्तिंदै एउटा समाचार आयो– अधिकारकर्मी सुनिता दनुवारको मृत्यु भयो । मृत्यु शाश्वत भए पनि हामीले सहजै स्वीकार गरेनौं । मलाई पनि लाग्यो यो असत्य भइदेओस् । मैले ओरेकका पूर्व तथा वर्तमान कर्मचारीहरूलाई फोन गरें । उहाँहरूले सुनिता दिदीका श्रीमान्लाई फोन गरेर समाचार पक्का भएको सुनाउनुभयो ।
सुनिता दिदीसँग मेरो निकट सम्बन्ध थिएन, टाढाको सम्बन्ध पनि थिएन, बेला–बेलामा भेट भइरहन्थ्यो, उहाँका प्रति म सम्मानले झुक्थें, उहाँले एउटै फिल्डमा भएको जुनियरलाई सम्मानपूर्वक व्यवहार गर्नुहुन्थ्यो । हाम्रा बीचमा एक प्रकारको दूरी थियो, पर्खाल जस्तो । र त्यो पर्खाल बनेर उभिनुभएको मानिस हुनुहुन्थ्यो ओरेकको संस्थापक अध्यक्ष डा. रेणु अधिकारी अर्थात् हामी दुवैकी मेन्टर ।
सन् २०१७ को मार्चमा म भर्खरै महिला मानवअधिकार रक्षकहरूको सचिवालयमा काम सुरु गरेकी थिएँ । सचिवालय थियो ओरेकमा । त्यहाँ जागिर सुरु गर्नु अगाडि गैरसरकारी संस्थाका प्रति मेरो धारणा राम्रो पनि थिएन । मेरो धारणा गैरसरकारी संस्था प्रति राम्रो छैन भन्ने जानेपछि नै रेणु दिदीले मलाई मानवअधिकारमा काम गरिरहेका महिलाहरू र महिलाको अधिकारमा काम गरिरहेका नेपालभरिका संस्थाहरूको नेटवर्कमा काम गर्न अवसर दिनुभएको थियो ।
उक्त नेटवर्कको एउटा सदस्य थियो शक्ति समूह, जो सन् १९९६ मा बम्बईबाट उद्धार गरी नेपाल ल्याइएका महिलाहरूको नेतृत्वमा मानव बेचबिखन विरुद्ध काम गर्नको लागि स्थापना भएको थियो । मान्छेहरूमा कैयौं बेला कैयौं प्रकारका भ्रम हुन्छन् । त्यो बेला मलाई मैले नचिनेको कोही छैन जस्तो लाग्थ्यो ।
काम सुरु गरेको एक हप्ता भएको हुनुपर्छ, एक जना सहकर्मीले मलाई सुनिता दिदीसँग परिचय गराउनुभएको थियो । परिचय गराउने सहकर्मीले सुनिता दिदीको भर्खरै प्रकाशन भएको जीवनीको लेखक र मलाई पत्रिकामा लेख लेखिरहने भनेर चिनाउनुभएको थियो । हामी एउटै नेटवर्कमा रहेका यस्ता लेखक थियौं जसलाई एकअर्काको अस्तित्वका बारेमा उक्त परिचय भन्दा अगाडि कुनै जानकारी थिएन ।
मैले चिन्दा सुनिता दिदी करिअरको उच्च विन्दुमा हुनुहुन्थ्यो, जहाँ कमै मानिस पुग्न सक्छन् । मानव बेचविखन विरुद्ध काम गर्ने गैरसरकारी संस्थाकी हाकिम, सामाजिक सञ्जालबाट चियाउँदा देश–विदेश घुमिरहनुभएको थियो । बेला–बेला मानवअधिकारका कार्यक्रममा उहाँसँग भेट हुन्थ्यो । केही समय मैले पनि उहाँलाई सामाजिक सञ्जाल र पेशागत रूपमा चिनें ।
सुनिता दिदीको जस्ता योद्धालाई हेरेर हामी आम मानिसले धेरै कुरा सिक्न सक्छौं । ती धेरै कुरामध्ये नरक जस्तो जिन्दगी बाँचेर आएका मानिसले पनि आफ्नो जिन्दगीलाई समाजको एक प्रतिष्ठित व्यक्तिका रूपमा उठाउन सक्छ
जब उहाँको जीवनी आँसुको शक्ति (२०७३) पढें, र उहाँको बारेमा रेणु दिदीसँग लामा गफ भए त्यसपछि सुनिता दिदीप्रति मेरो विशेष सम्मान बढेको थियो । विभेदकारी समाजमा जन्मेका हामीहरू कैयौं प्रकारका ट्रमा मन, मस्तिष्क र शरीरमा बोकेर हिंडिरहेका हुन्छौं । मभित्र पनि कैयौं यस्ता ट्रमाहरू छन्, केही समय समाधान हुन्छन् र बेला–बेला मनलाई उचालेर पछार्छन् ।
तर, सुनिता दनुवार दिदीलाई भेटेपछि, उहाँले भोगेको जिन्दगीका कति कथा पढेपछि, कति कथा उहाँहरूबाट सुनेपछि मैले विभेदका तहहरूलाई पर्गेल्न र आफू विभेदमा हुँदाहुँदै पनि कैयौं क्षेत्रमा आफ्ना प्रिभिलेजहरू पनि रहेछन् भन्ने कुरालाई आत्मसात् गर्न सक्ने भएँ ।
सुनिता दिदी १३ वर्षको उमेरमा बलात्कारमा पर्नुभएको थियो । बलात्कार पछि जन्मेका छोरासहित १४ वर्षको उमेरमा उहाँ बम्बईको कोठीमा बेचिनुभएको थियो । बम्बईको कोठीमा जबरजस्ती (वर्तमानमा यौनकर्मलाई पेशाको रूपमा लिइन्छ, यदि उक्त कार्य त्यस पेशामा संलग्न भएका मानिसको राजीखुशीमा छ भने) यौनकर्मी बनाइएको थियो ।
यौन व्यवसायमा कोठी सञ्चालन, यौन रोग, यौनकर्मीहरूको अवस्था, सरकारको चासो, नागरिक समाजको दबाब र छापा मार्ने क्रियाकलाप विविध आयाम छन् । उक्त विविध आयामले धकेलिएर गरिएको यौनकर्मीको उद्धारमा सुनिता दिदी पनि पर्नुभएको थियो । उद्धार गरिएपछि नेपाल आउन, नेपालमा टेक्ने धरातल धेरै जनाको कि थिएन, भएको पनि कमजोर थियो । त्यसमाथि विविध प्रशासनिक झमेलाहरू थिए ।
उद्धार भएपछि नेपाल आउने भाडासम्म नेपाल वा भारत सरकारले हाल्न नसकेपछि सेभ द चिल्ड्रेन इन्डिया कि विपुला काद्रीले आफ्ना ज्वाईं अभिनेता सुनिल सेट्ठीलाई अनुरोध गरेर प्लेन टिकटको व्यवस्था भएको थियो । र, सुनिता दिदी सहित ८६ जना महिलालाई सुनिल सेट्ठीले पैसा दिएर काटिएको टिकटले नेपाल ल्याइएको थियो ।
पछि अन्तर्राष्ट्रिय मञ्चमा सुनिल सेट्ठीसँग भेटेर उक्त सहयोगको लागि कृतज्ञता व्यक्त गरेको सन्दर्भ पनि सुनिता दिदीले आफ्नो जीवनीमा उल्लेख गर्नुभएको छ । हिंसामा परेका महिलालाई राख्ने गैरसरकारी संस्था ओरेक, नवज्योति, सिविन, माइती नेपाल र एबीसी गरी ६ वटा संस्थामा उहाँहरूलाई बाँडेर राखिएको थियो । तीमध्ये सुनिता दिदी ओरेकमा बस्ने टोलीमा पर्नुभएको थियो ।
हिंसामा परेपछि उद्धार गरिएर नेपाल आउँदैमा उहाँहरूका समस्या समाधान हुनेवाला थिएन । कलिलो उमेरमा नै कोठीमा बेचिएकी उहाँसँग सामान्यसम्मको पनि शिक्षा थिएन, हातमा सीप थिएन, समाजले गर्ने छि..छि र दुर..दुरको सिमाना थिएन । यौन कोठीबाट उद्धार गरिएका महिलालाई हेर्ने नजर त घृणाले भरिएका थिए नै, उहाँहरूलाई राख्न गैरसरकारी संस्थालाई पनि सहज थिएन ।
आँसुको शक्ति पढ्दा तीन दशक अगाडिको नेपाली समाजको पत्रकारिता, सरकारमा रहेका मानिस र संसद्को चेतनाको स्तर पनि थाहा हुन्छ । उहाँहरूलाई राखिएका गैरसरकारी संस्थाका प्रमुखहरूलाई ‘वेश्यालय चलाएको अपराधमा जेल हाल्नुपर्छ’ भनेर सांसद सिलुप्यारी कर्माचार्यले राष्ट्रिय सभामा बोल्दा परर्र ताली पिट्ने व्यक्ति अझै कति जिउँदै होलान् ।
सुनिता दिदीहरूले काम गर्दै पढ्न थाले, काम गर्ने क्रममा र ओरेकले गरेको तालिमका क्रममा आफूहरू किन बेचिएका रहेछौं भन्ने बुझ्न थाले, र उनीहरूकी मेन्टर अर्थात् ओरेककी अध्यक्ष रेणु अधिकारीको सुझावमा संस्था खोल्ने कुरा भयो । संस्था खोल्नका लागि उहाँहरूसँग नागरिकता पनि थिएन, त्यसैले शक्ति समूह खोल्दा ओरेकका तत्कालीन कर्मचारीहरूको नागरिकता जम्मा गरेर संस्था दर्ता गरिएको थियो ।
संस्था खोल्न प्रयास गर्ने क्रममा नेपाल सरकारको प्रशासनमा रहेका मानिसले ‘गैरसरकारी संस्था धेरै पढेका मानिसले खोल्ने हो तिमी जस्ता धेरै नपढेका केटीहरूले होइन’ पारामा दिएको निःशुल्कको सल्लाहलाई अटेरी गर्दै उहाँहरूले शक्ति समूह खोलेर मानव बेचविखन विरुद्धको बलियो संस्थाको बनाउनुभयो । मानव बेचबिखन विरुद्ध काम
गर्ने क्रममा उहाँले धेरै अन्तर्राष्ट्रिय पुरस्कारहरू पाउनुभयो । र एउटा सशक्त अधिकारकर्मीको जीवन बाँचेर जानुभयो ।
सुनिता दिदीको जस्ता योद्धालाई हेरेर हामी आम मानिसले धेरै कुरा सिक्न सक्छौं । ती धेरै कुरामध्ये नरक जस्तो जिन्दगी बाँचेर आएका मानिसले पनि आफ्नो जिन्दगीलाई समाजको एक प्रतिष्ठित व्यक्तिका रूपमा उठाउन सक्छ । टेक्ने धर्ती र समाउने सहारा नभएका मानिसका पनि कोही न कोही सहारा मानव समाजमा छन् र तिनीहरूले अगाडि बढाउन सहयोग गर्न सक्छन् । त्यसैले हिम्मत हार्न हुँदैन ।