भरतपुर महानगरले गर्ने महोत्सवमा १२ संगीतकर्मीले प्रस्तुति दिने

Dipa Bhatt

२०८१ पुष ११ गते 

काठमाडौं । भरतपुर भ्रमण वर्ष २०२४ को अवसरमा भरतपुर महानगरपालिकाले आयोजना गर्ने राष्ट्रिय रैथाने खाना महोत्सवमा १२ जना संगीतकर्मीले प्रस्तुति दिने भएका छन् । भरतपुरमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख रेणु दाहालले यसबारे जानकारी दिइन् ।

मेघौलीमा पुस १२ देखि २६ सम्म जानकी माध्यमिक विद्यालयको प्रांगणमा महोत्सव हुने जनाइएको छ । सो अवसरमा सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको छ ।

महानगरले सांगीतिक प्रस्तुतिका लागि १२ जना कलाकारको नाम सार्वजनिक गरेको छ । जसमा राजु परियार, बद्री पंगेनी, समीक्षा अधिकारी, भूमिका गिरी, रेनुका भट्टराई, अस्मिता डल्लाकोटी, द इरास ब्याण्ड, ढाकाराम पौडेल, मुक्ति सापकोटा, कुशल बेलबासे, यमलाल भण्डारी, अर्जुन सापकोटा लगायत छन् । उनीहरूले महोत्सव अवधिमा प्रस्तुति दिने जनाइएको छ ।

पुस १२ गते शुक्रबार परियार र डल्लाकोटीले प्रस्तुति दिनेछन् । १३ पुसमा बद्री र रेनुका, १५ पुसमा द इरास ब्याण्डसहित रमेशराज र ढाकाराम, १४ पुसमा भूमिका र कुशल, १६ पुसमा समीक्षा र द इरास ब्याण्डले प्रस्तुति दिने जनाइएको छ ।

यसैमहिना महानगर दिवसको अवसरमा काठमाडौं महानगरले पनि टुँडिखेलमा सांगीतिक कार्यक्रम आयोजना गरेको थियो, जहाँ १९ जना संगीतकर्मीले प्रस्तुति दिएका थिए ।

Sharing Is Caring:

Leave a Comment