२०८१ फागुन २६ गते
काठमाडौं । यादवकुमार भट्टराई निर्देशित फिल्म ‘झिल्को’ को टिजर युट्युबमा सार्वजनिक भएको छ । सतिप्रथाको कथावस्तुमा बनेको ‘झोला’बाट चर्चामा आएका निर्देशक भट्टराईले यसपटक ‘डिजिटल कुलत’को कथामा फिल्म बनाएका छन् ।
मोबाइलको धेरै प्रयोगले बालबालिकामा पर्ने असरको कथा भनिएको छ । अहिलेको पुस्तामा बढ्दो डिजिटल निर्भरता र त्यसले पार्ने मनोवैज्ञानिक, सामाजिक तथा पारिवारिक प्रभावलाई देखाइएको छ ।
मोबाइलका कारण सम्बन्धमा आउने दरार, व्यक्तिहरूबीचको दूरी र वास्तविक जीवनभन्दा डिजिटल संसारमा गुम्सिँदै गएका पात्रहरूको कथालाई फिल्ममा भनिएको भट्टराईले बताए । टिजरमा कथावस्तु र चरित्र चित्रणको संक्षिप्त झलक दर्शाइएको छ ।
निर्देशक भट्टराईले यसअघि पनि सामाजिक विषयवस्तुमा आधारित फिल्महरू निर्देशन गर्दै आएका छन् । ‘झोला’मा सती प्रथा र ‘भोर’मा दाइजो प्रथाको कथा भनिएको छ ।
यो फिल्ममा आयुषी ढकाल, सुनिल पोखरेल, वर्षा सिवाकोटी, विशाल पोखरेल, भोलाराज सापकोटा, जेभिन श्रेष्ठ र जेभिस श्रेष्ठको अभिनय छ । मिडिया फर कल्चर प्रालिको प्रस्तुति र जनता टिभीको निर्माण सहकार्य रहेको ‘झिल्को’ बैशाख १९ गतेदेखि देशभरका हलमा रिलिज हुने जनाइएको छ ।